Search

“मातृभाषा”

“मातृभाषा”

लघुकथा

श्रेष्ठ सत्य
दोलख, हाल लण्डन

आफ्नो छोराछोरीले गोराहरुले जस्तै फर्रर अंग्रेजी बोलेको अनि सुन्दा बिशाललाइै कम्ती त गर्वको महशूस हँुदैनथ्यो । आफू बेलायतमा बसाइ सरेर आएदेखि नै आफ्नो अंग्रेजी त्यत्ति राम्रो नभएकै कारण गतिलो काम र पद पाउन नसकेको महशूस गर्दै विशालले भाषाको कारण आफ्नो छोराछोरीले आफूले जस्तो दुःख भोग्नु नपरोस् भने उसले छोराछोरीलाई बालक कालदेखि नै अंग्रेजी भाषा मात्र सिकायो ।

आफूले मात्र होइन, आफ्नो श्रीमति तथा घरमा आउने नेपाली साथी नातेदारहरुलाई पनि उसले आफ्नो छोराछोरीसँग नेपाली बोल्न र सिकाउन पूर्णतया बन्देज लगाएको थियो ।

आफ्ना सबै साथीभाइ नातेदारहरुसँग पनि उ जहिल्यै बडा गर्वका साथ भन्ने गथ्र्यो –“मेरा छोराछोरीलाई त नेपालीको न पनि आउँदैन, आउँछ त केवल अंग्रेजी मात्रै । यो जमानामा नेपाली सिकाएर के काम ? हैन त ?” प्रायः जसो सन्तानहरुलाई मातृभाषा सिकाउनु पर्छ या पर्दैन भन्ने बहर चले की ऊ नेपाली भाषाको विपक्षमा आफ्नो तर्कहरु दिन अग्रसर भइहाल्थ्यो –“अहिलेको जमानामा नेपाली भाषा नसिकेर नजानेर केही पनि घाटा हँुदैन तर अंग्रेजीमा त प्रखर हुनै पर्दछ ।”

विशालकै सपना अनुसार उनका छोराछोरीले नेपाली भाषा सिक्ने मौका नै पाएनन्, मातृभाषाको महत्व पनि बुझेनन् न त सिक्ने इच्छा नै लाग्यो उनीहरुलाई ।

उनका छोराछोरी पूर्णतया अंग्रेजी वातावरणमै हुर्के, बढे । राम्रै पद र ओहोदामा काम गर्न थाले । विशालको भने उमेर ढल्किंदै गयो, उमेर ६० वर्षबाट पनि उकालो लाग्न थाल्यो । विशालको स्मरण शक्तिमा विस्तारै ह्रास हँुदै जान थाल्यो । शुरु शुरुमा छोटो छोटो अवधिको स्मरण शक्ति गुम्ने समस्या देखा परेकोमा उ ६५ वर्ष पुग्दा त उसलाई डिमेन्सिया भन्ने रोग लागि सकेको थियो ।

डिमेन्सिया रोगले गर्दा उसले जीवनको पछिल्लो समयका घटनाहरु र पछि सिकेका कुराहरु भुल्दै जान थाल्यो ।

अन्ततः विशालले पछि सिकेका सबै सीप लगायत अंग्रेजी भाषा पनि पूरै बिर्सियो । उसले नेपाली भाषामा मात्र कुरा गर्न सक्ने भयो । उसले अंग्रेजी भाषा पनि बुझ्न छोड्यो । तथापि उसको छोराछोरीले नेपाली न त बुझ्दथे न त नेपाली बोल्नै जान्दथे । विशालले जीवनमा कदापि सोचेकै थिएनन् कि नेपाली भाषा पनि सन्तानहरुलाई कुनै दिन काम आउला भनेर तर अब त धेरै ढिला भइसकेको थियो ।

नेपाली नसिकेका नजानेका हुँदा विशालका छोराछोरीहरु आफ्नो बुबासँग पनि कुरा गर्न असमर्थ थिए । न त बुबाले बोलेकै केही बुझ्दथे । अन्ततः उनीहरुले आफ्नो बुबासँग कुरा गर्न पनि दोभाषे (अनुभावक) राख्नु पर्ने भयो ।

डिमेन्सिया रोगको कारण विशाललाई त छोराछोरीलाई नेपाली नसिकाएकोमा पछुतो मान्ने पनि क्षमता भएन परन्तु उनका छोराछोरी भने आफूले नेपाली नसिकेकोमा ग्लानी गर्दै अहिले नेपाली भाषा सिक्न थालेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment