Search

अमि मास्के “साने” श्रेष्ठको दोलखा प्रतिको सामुदायिक मन !

अमि मास्के “साने” श्रेष्ठको दोलखा प्रतिको सामुदायिक मन !

पोख्त मन । उच्च विचार । भावनात्मक सन्देश । अमि मास्के श्रेष्ठ सामान्यतः एक कुशल गृहिणी र अनुशासित सामाजिक व्यवसायी महिला हुन् । बाल्य अवस्थामा निकै चुल्बुले, चञ्चले र छरितो स्वभावकी थिइन् । साथीहरूसंग मेलझुल गर्नु इत्रिनु अनि रिसाउनु फेरि तुरुन्तै हातेमालो गरेर खेल्नु तिनको बाल्यावस्थाको विशेष गुण थियो ।

अमि मास्के “साने” को पिता स्वर्गीय मास्टर कृष्ण मुरारी मास्के गुरुज्यूले पनि राजकुलेश्वर प्रा.वि.मा पढाउनु हुन्थ्यो । उहाँ गुरु हुनुहुन्थ्यो । उहाँको नामको अगाडि ‘मास्टर’ शब्द किन जोडेको भन्दाखेरि केही कुरा खोल्ने अनुमति चाहन्छौं ।

यो नेपाली जगतमा ‘मास्टर रत्नदास प्रकाश’ अनि ‘मास्टर मित्रसेन’ को नाम नसुन्ने र नचिन्ने व्यक्ति शायद कमै होलान् । उहाँहरू संगीत साधक हुनुहुन्थ्यो, अर्थात संगीतका पारखीहरू । उहाँहरू शास्त्रीय संगीत, भक्ति संगीत र मध्यमा संगीतका ज्ञाता हुनुहुन्थ्यो । गीतको सुर, ताल, लय र भाकामा पारंगत भएकै कारणले उहाँहरू मास्टर पद प्राप्त गर्नुभएको थियो । यसरी नै त्यही गुणले भरिएको त्यही विशेषतामा समेटिनु भएको थियो हाम्रा आदरणीय श्रद्धेय गुरु स्वर्गीय मास्टर कृष्ण मुरारी मास्केज्यू ।

यहाँ मास्टर शब्दको प्रयोग गर्दा गाउँठाउँमा शिक्षकहरूलाई सम्बोधन गरिने सामान्य भाषा जस्तै लाग्ला तर त्यो होइन । उहाँले दोलखाको हरेक धार्मिक नाटक प्रदर्शनमा, भजनमा यति मिठो स्वरमा गीत गाउनुहुन्थ्यो कि उहाँको आवाज सुन्नका लागि वृद्धवृद्धाहरू समेत एकत्रित हुन्थे । उहाँले सत्यवादी राजा हरिश्चन्द्र, सत्यवान सावित्री, राम लीला, कृष्ण लीला, शिशिरवसन्त जस्ता धार्मिक नाटकहरूमा आफ्नो बुलन्द आवाज दिनु भएको थियो । हो उनै कर्णप्रिय स्वर भएको व्यक्तित्वको धनी बुबाका कान्छि छोरी हुन् अमि मास्के “साने” श्रेष्ठ ।

अमिको जन्म अहिले भन्दा चार दशक अगाडि वि.सं. २०३२ साल असोज महिना ११ गते भीमेश्वर नगरपालिका वडा नं. २ दोलखाको पलाचुटी टोलमा उनै स्वर्गीय बुबा कृष्ण मुरारी मास्के र आमा कमल देवी मास्केको कोखबाट जन्म भएको हो । अमि मास्के सन्तानमा सबैभन्दा कान्छी छोरी हुन् । जेठी दिदी इन्दिरा मास्के श्रेष्ठ र दाजु डाक्टर सुनिल मास्के पछिको अमि सबैकी प्यारी कान्छी छोरी अमी मास्के हुन् ।

राजकुलेश्वर प्रा.वि.मा प्राथमिक शिक्षा पार गरेर भीम माध्यमिक विद्यालयमा माध्यमिक तह पार गर्दै उच्च शिक्षाको लागि राजधानी काठमाडौमा पाइलो टेकेकी अमिले बिबिएस तहमा पुगेर अध्ययनलाई थाति राख्न पुगेकी हुन् ।

अमी आफ्नो श्रीमानको साथमा

आजभन्दा दुई दशक २०५७ साल मंसिर २१ गते अगाडि भक्तपुर शहरका एक व्यापारी रवि श्रेष्ठसंग लगन गाँठो कसेपछि पढाइलाई निरन्तरता नदिकन पतिको व्यापारमा हातेमाले गरेर र घरमा सासू शसूरो लगायत सामूहिक परिवारमा रहेर व्यवहारमा गाँजिएकी अमिले जिन्दगीमा असल बुहारी र निष्ठावान् पत्नी भएर सबैको प्रिय बन्न सफल भएकी छन् । अमि आफ्नो घर परिवारमा र पतिसंगको साथमा मात्रै होइन साथीसंगीहरूसंग पनि उत्तिकै हेलमेल गर्न रुचाउँछिन् ।

आज हामीसँगको भेटघाटको क्रममा बाँपिझ्याला मिडियाको तर्फबाट केही केही रिपोर्टिंग गर्ने सिलसिलामा बुद्धनगर पुग्दा उनीसंग जम्काभेट भएपछि उनको अतीत र वर्तमानसंग मितेरी सम्बन्ध जोड्ने प्रयास गरेका छौं । त्यसैले उनकै नारी वस्त्रालय वेदाश्री कलेक्सनमा बसेर यही सिलसिलामा बाँपीझ्याला डटकम अनलाइन पत्रीकाको तर्फबाट म सह–सम्पादक बालकृष्ण श्रेष्ठ “पासा” ले गरेको सम्वाद्का केही अंश यहाँ प्रस्तुत गरेका छौं । ,

बहिनी नमस्ते ! के छ सञ्चै हुनु हुन्छ नि ?
स्याउदाइ (ढोग गरें) दाइ ! अँ दाइ हजुरहरूको आशिर्वादले र दोलखा भीमेश्वर, त्रिपुरा सुन्दरी माता र कालिन्चोक माताको कृपाले आराम छु हजुर ।

अनि दिनचर्या कस्तो छ ? घर परिवार सबैमा कुशल मंगलै छ नि ?
हजुर सबैलाई आराम कुशल नै छ दाई । बरु दाइहरूलाई कस्तो छ ?

हामीलाई नै ठिकै छ राम्रै छ । अनि बहिनीको पसल त पहिले अन्तै थियो होइन र ?
हो दाई पहिले लाजिम्पाटमा साथीसंग मिलेर चलाएका थिए । तर घर यता पसल उता हुँदा आउनजान कठिनाइ भएकोले म चाहिँ साथीबाट अलग भएर यता आएकी हुँ तर साथीसंगको मित्रताबाट टाढिएकी चाहिँ होइन ।

अनि तपाईं त सामाजिक सेवामा पनि आवद्ध भएको देखिएको छ, अहिले यताउता कतै कुनै कार्यक्रममा देखिइन्न, किन होला ?
हो दाइ, सही भन्नु भो, हिजोआज म हाम्रै कक्षाका साथीहरूको समूहमा बाहेक अन्यत्र सहभागी हुन छोडिदिएँ । (अलिक दिक्क भावमा भन्न थालिन्) एकै परिवार जस्तो भएर कति आनन्दले बसेर नाम चलाएर लोकप्रिय भैसकेको संस्थालाई उथलपुथल पारेर एकपछि अर्को अर्को पछि अर्को गर्दै चहार्नेहरूको भीडमा बस्न मन मानेन त्यसैले म टाढिएकी हुँ ।

कस्तो कुन प्रसङ्गमा के भन्न खोजेकी प्रष्ट पारी दिनु भए राम्रो ?
सामाजिक सेवा गर्न मन छ भने पद चाहिँदैन नि, पदको लागि हाँगाहरू खोतल्दै जानु उचित लागेन, यदि आपूmमा दक्षता छ, ज्ञान छ । सीप छ र तौरतरिका छ भने भैराखेको संघ संस्थालाई दिगो राख्नको लागि पहल गर्न सक्नु प¥यौ । के गर्दा समाजको उत्थान हुन्छ ? कस्तो गर्दा संस्थाले सामाजिक कल्याण हुन्छ भनेर सोच्ने दिमाग हुनुपर्यो नि आपूmलाई अलिकति विरोध गर्यो कि आफ्नो पक्षका मान्छे खोजी खोजी पदमा राख्ने अनि त्यही पद पाएन भने अर्कै समूह बटुलेर हिँड्ने यस्तो पनि समाजसेवी हुन्छ त ? त्यसै गरी संघ–संस्थाको नेतृत्व लिएर अगाडी बढ्नेहरुबाट पनी सवैसँग समन्वय गरेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ ।

कुरा सही हो बहिनी, तर यहाँ च्याउ उम्रे भैंm उम्रेका सामाजिक संस्थाहरू छन् एउटै समुदायमा पनि अनेक नामका संस्थाहरू खोलिएका छन्, काम खासै केही देखिएको छैन, यसबारेमा तपाईंको के धारणा छ त ?
त्यही त भन्दैछु । यो सब देखासेकी मात्रै हो । समुदाय एउटै हो । समाज एकै खालको छ तर सबैमा पदको लालच, घमण्ड र अहंताको जरा फैलिएको कारणले नै यहाँ सबै तल परेका छन् । पदको लागि खुट्टा मोल्ने र एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिको हाबि भएको छ । एकै आँगनका सन्तान भएपछि एक ढिका भएर सबैले जे सकिन्छ त्यसैमा हार गुहार गरेर अघि बढ्नुपर्ने हो त्यो देखिदैन । यहाँ त सल्लाह सुझाव दिन गएपनि मान्छे भाँड्न आयो भन्ने हल्ला चलिहाल्छ । अनि कसरी समाजको विकास हुन्छ त ? त्यही भएर दाइ म हाम्रो समूह बाहेक अन्य कुनै समूह र संस्थामा रहन चाहिन । हामी चेली हौं माइतको माया अथाह छ । तर माइती खलक भित्रका आफन्त साथीभाइ दिदीबहिनी बिचमा मनमुटाव र किचलोका कुराहरू चेलीका घरवालाले थाहा पाए भने कसलाई असर पर्छ त ? दाइ आपैm भन्नुस् त ! यो कुरा हामी म्यासमुचाहरुले थाहा पाउनु पर्छ जस्तो लाग्छ । (अमिको प्रश्नको जवाफ दिन मलाई नै कठिन भएको आभाष भयो । तैपनि प्रसंग मोड्दै भनें)

हो त, यो हुनु दुःख लाग्दो कुरा हो, अब प्रसंग दोलखा माइतघर तर्फ लागौं, जन्म घरको कत्तिको सम्झना आउँछ त ?
जन्मघरको त कुरै नगर्नु दाइ, जन्म दिने बाबुआमा त्यो धरातलमा नभए पनि अहोरात्र त्यही आँगन, त्यही करेसा बारी, त्यही डबली र त्यही तीनधाराकै वरिपरि यो मन डुलिरहेको महशुस हुन्छ । आफ्नो बुबाआमा यस लोकमा हुनुहुन्न तैपनि अहिलेको मेरो घरको परिवार नै त्यही घरको दलान, मझेरीतिर रुमल्लिरहेको छ जस्तो लाग्छ । यदि त्यो ठाउँमा जीविकोपार्जन गर्न मिल्ने कुनै आधार भै दिएको भए म त त्यही माइतघरकै सेरोफेरोमा बस्न जान्थें तर के गर्ने ?

धेरै खुशी लाग्यो बहिनी । आफ्नो जन्मघर प्रति अथाह माया र सद्भाव व्यक्त गरेकोमा, अब तीजको गीतको रौनकताले बजार उल्लासमय बनेको छ, बहिनीलाई यो तीज प्रति के कस्तो लाग्छ ?
उम्.. मेरो सोचाइमा चाहिँ यो तीज पनि नेपालीहरूकै विशेष महत्वपूर्ण चाड मध्येको एक हो । यो कुनै जातिय विशेषले मात्र मान्नुपर्छ भन्ने छैन । एउटा कुरा चाहिँ मलाई के लाग्छ भने यो चाड भनेको बाहुन क्षेत्रीको मात्रै हो भन्ने संकीर्ण सोच राख्नुहुन्न, त्यसो हो भने हाम्रो क्वाँटी पूर्णिमालाई जनै पूर्णिमाको रुपमा पनि मानिन्छ र रक्षाबन्धन पनि भनेर राखी बाँध्ने पनि गर्छन् अब त्यो राखी चाहिँ जो कोहीले पनि बाँध्न हुने मिल्ने रे अनि नेवार जातिले चाहिँ तीज मान्नै नहुने भन्ने छ र ? हामी नेवारहरूले कुनै कार्यक्रम गर्दा समैबजी, सगुन खुवाउने चलन चलाउँदा सबैलाई खुवाउँछौं भने बाहुन क्षेत्री भित्रका साथी भाइ बहिनीले तीजको कार्यक्रममा आमन्त्रण गर्दा म नेवार हुँ भनेर पन्छिनु उपयुक्त हँदैन दाइ । तर अहिले तिजको नाममा यताकता अस्वभाविक नृत्यहरु प्रस्तुत गरको सामाजिक सञ्जालहरुमा देखिन्न आएको छ यो चाही राम्रो होईन र समाजमा यसले राम्रो सन्देश दिदैन त्यसैले यस्तो क्रियाकलाप बन्द गरी सामान्य नाचगान र खानपिनमा साथीसंगीहरु रमाएर तिजको कार्यक्रम गर्नु पर्छ ।

एकदम सही र सटीक कुरा गर्यौ बहिनी । हामीमा नेपालीपन हुनुपर्यो, साम्प्रदायिक भावना हुनु भएन, आफ्नो जातिय पहिचान आफ्नो ठाउँमा छँदैछ,… होइन र ?
त्यही त, आफ्नो देश भन्दा बाहिरका धर्म चाहिँ यही देशमा हुलेर मान्न हुने रे, आफ्नै घरको आँगनका छिमेकीमा चलि आएको रीतिरिवाज चाहिँ मान्न नमिल्ने कस्तो विडम्बना ! एउटा कुरा दाई, हाम्रो समाजका मान्छेहरू विदेशका क्रिसमस, भ्यालेन्टाइन, न्यु एअर चाहिँ रातभर नसुतीकन मनाउनेलाइृ चाहिँ २१औं शताब्दीको उदाहरण दिने, वल्लो घर र पल्लो घरको चाडपर्व चाहिँ हाम्रो होइन भनेर पन्छिनु गलत हो जस्तो लाग्छ मलाई त, त्यही भएर हामी नेपाली हौं भनेर सबैले मनन गर्ने बानी बसाल्न जान्नपर्छ ।

ल बहिनी, अति नै सही र समय सापेक्ष कुरा राखेर आत्मीय आफ्नो अभिव्यक्त दिएकोमा हृदयदेखि आभार व्यक्त गर्दे अन्तमा हाम्रो बाँपिझ्याला मिडियाबाट माइतीघर लगायत माइतीघरका आफन्तजनलाई के सन्देश छ की ?
सबैभन्दा पहिले यहाँसम्म आइदिनुभएर मेरो मनमा लागेका केही कुरा राख्ने अवसर दिनु भएकोमा उपेन्द्र दाइ र बालकृष्ण दाइ दुवैजना प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । अनि यस बाँपिझ्याला मिडियाका सबै परिवारलाई धन्यवाद । यस बाँपिझ्याला मिडियाले दोलखाको नेवारी मातृभाषाको संरक्षण र संस्कृति संचालनको लागि सहयोगी अभियानमा जुन कदम चाल्नु भएको छ, त्यो उच्च शिखरमा पुगोस् र दोलखामा भैरहेको परम्परागत जात्रा पर्व निरन्तर चलाइ राख्नमा यो मिडियाले दह्रो पायला चाल्न सकोस् यही शुभकामना छ ।

धेरै धेरै धन्यवाद ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment