Search

मेरो प्यारो दोलखा

मेरो प्यारो दोलखा

डा. जानुका न्यौपाने

मैले हिँडेको त्यो गोरेटो, उकाली, अराली
साँघुरो तर सुन्दर डाँडापाखा
मुस्कुराई रहेको रोल्वालिङ हिमश्रृंखला
र सय थुम्का भएको शैलुङ डाँडा
चिटिक्क मिलेर बसेको खरीढुङ्गा
त्यहाँबाट देखिने कालिञ्चोक भगवती
पानीढलो सिन्धु र दोलखाको खेत, बारी अनि जङ्गल
सुन्दर र रमाईलो, पातलो बस्ती गाउँघर
लाँकुरी र वरपीपलको चौतारी
लाँकुरी र वरपीपलको जरुवाको पानी
यात्राको रमाईलो अनि छहरा छाँगाको सुसाई ।
अगाडि बढ्दै जाँदा
चरिकोट बजार तल भीमशेन मन्दिर
धेरै चौडा नभएको तर दुईतिर बाँडिएका माथिल्लो तामाकोशी र
जिरी जाने नागबेली बाटो
दायाँबायाँ खाडल पुरिएका कच्ची सडक छिमेकीहरू
रसिला हरियाली रुखहरू, शुसाएका पातहरु
रमणीय दिन अनि जुन ताराले झलमल रातहरु ।

हरेक पालीका सरकारका
डोजरले खनेका सडकहरू
भत्काइएका चौतारी, मासिएका जरुवा
सडकसँग टाँसिएका घरहरु
र मात्र धुलाम्मे घरहरु
फाट्टफुट्ट भेटिने पहिरोहरू
आधाआधी जराहरू टाँसिएका अपाङ्ग रुखहरू
भूकम्पका प्रशस्त घरहरू
दायाँ बायाँ,
भत्किएका र भत्काइएका घर, पाटी, पौवाहरू
मासिएका गोरेटो र घोडेटो बाटोहरू
बाटोका छेउमा रोपिएका केही पानी पर्खिएका फूलहरू
बँझिएको भव्य चउर र ठूला ठूला पर्खाल मुनि
बडो मिहिनेत गरी पराखिलो गरी डोजरद्वारा खनिएको सडक
त्यसको मुनि
फाट्ट फुट्ट ज्येष्ठ नागरिक, बाल र महिलाहरू
निसास्सिएर ‘आस्थालीन’ तान्दै गरेका बा आमाहरू
बीच बीचमा तरकारी रोपेका बारीका पाटाहरू
आलु र गोलभेडा, बन्दा र गाजर, किवी र एभोकार्डो
सुन्तला र खुर्पाने, अनार, केरा र कटहर फल्ने
हाम्रो दोलखा, राम्रो दोलखा, सुन्दर शान्त दोलखा
यस्तै यस्तै छ रमणीय दोलखा ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!