Search

प्राचिन शहर दोलखाको फेर प्रथा रमाइलो स्मरण र महत्व

प्राचिन शहर दोलखाको फेर प्रथा रमाइलो स्मरण र महत्व

असारे हिलो यो मन थिलथिलो कसले पो देख्छ र,
पाटो र माटो, गोडेटो बाटो खै कसले पो टेक्छ र,
मुठा धानको बीउ, रोप्ने छैनन् जिउ कसरी रोप्छ र,
मानो रोपेर मूरी फलाउने पाठ कसले पो घोक्छ र !

यस्तै यस्तै असारे गानाका तानाहरू सुन्न अहिले गाउँबेसीँ झर्नु पर्ने अवसर मिलाउन पनि पेट र कर्मले बाटो थुनि दिएको छ । अर्कोतिर गामबेंसीतिर मेलापात गरेर जीवन गुजारा गर्न पनि त्यत्ति सहज देखिन्न । उब्जनी भएको अन्नपात भन्दा लगानी दोब्बर भएकोले पनि कृषकहरू चाहेर पनि निच मार्न वाध्य चएका छन् ।

एकातिर सिंचाईको अभाव अर्कोतिर मल महँगो । पहिले पहिले घरघडेरीमै मलखाल्डो बनाएर घरेलु मल बनाउने गर्थे जतिबेला हरेकको घरमा कुनै न कुनै केही न केही पशुपालन गर्थे । अहिले त्यो पनि झण्डै लोककथा जस्तै भैसकेको अवस्था छ । यिनै यावत कुराहरूका कारणले युवाहरू गाउँघरबाट पलायन भएर परदेशतिर लागेका हुन् भन्नुमा दुईमत नहोला ।

समय र परिस्थितिले जे जस्तो अवस्थामा ल्याए पनि दोलखाको असार एउटा अविस्मरणीय रहेको छ । हरेक वर्षको असारमा दोलखाका गामबेंसीमा मेला जस्तै हुन्थ्यो । त्यतिबेलाको दोलखा सम्झिनु पर्दा दोल्ती, डोकथली, नेगल, फुलपा स्वाक्लो, मार्बुँ देखि लिएर सहर्पाको भित्तासम्म रोपायँको चहलपहल हुने गथ्र्यो । दोलखाको दक्षिणपट्टि रहेको परपुल, नित्पुल, दुल्बुँ, खर्दी, तार्थली नारान्बुँ भित्रका फाँटहरूमा किसानहरूको अलग्गै भेला हुन्थ्यो यो असारको बेला ।

उहिले स्कुल छुट्टि हुन्थ्यो दोलखाको परिवेशमा गर्मी विदाको नाममा असार साउन २ महिनासम्म । कर्मचारीहरू पनि साँचिएको आफ्नो सहुुलियत विदा यही बेला उपयोग गर्ने गर्थे ताकि ‘मानो रोपेर मूरी उब्जाउने’ उखानलाई चरितार्थ गर्न । जागिरेलाई जागिर भन्दा नि असारे मेलाको सुर्ता हुन्थ्यो अझ भन्नुपर्दा आफ्नो खेतमा फेर समूह र रोपाहारको जमघट होस् र रमाइलै तरिकाले रोपाइँ सम्पन्न होस् भन्ने मनसूबा हुन्थ्यो ।

भरखरै जुँगाका रेखी बस्ने किशोरहरू फेर समूहमा प्रतिस्पर्धा गरेर सबैभन्दा पहिले त्यो दिनको मेला सकाएर शक्ति दर्शाउन कम्मर कसेर जोतिन्थे भने रोपाहारहरू पनि किशोरी, तरुनी र गृहिणी समेत आ–आफ्ना शक्ति खर्चेर हातमा बीउका मुठा लिएर रोपाइँका लागि कान्ला कान्ला हाम्फाल्दै पाटोमा पुग्थे त्यो बेला ।

दोलखाको ‘फेर प्रथा’ बारेमा विगतमा धेरै चर्चा परिचर्चा गरि सकिएको छ । तथापि अब यतिबेला दोलखाको भिरालो जमिनमा रहेका खेतका फाँटमा कान्लामा, आलीमा कोदालो, कोदाली सलबलाउन थालेका छन् । अधिकांश खेतहरू कर्मशील पाखुराको कमीले बाँझो रहे पनि केहीले पूर्खाको बिंडोलाई निरन्तरता दिइरहेको प्रसङ्ग राख्न खोजिएको हो ।

दोलखामा रोपाइँ गर्न दुई चरणको काम हुन्छ । जुन काम अन्यत्र कमै मात्रामा मात्र भएको पाइन्छ । त्यो के भने पहिलो चरण गरिने कार्य हो ‘बाँलाई’ यसको अर्थ हो बाँझो पल्टाउने, खेत गोरु जोताएर (सा वाइ) गरेर, आली लगाउने (स्थानीय भाषामा पुल्च तइरी) कान्ला ताछ्ने (खारा खाइरी) र कुन्चा सफा गर्ने (दुक्वारिउरी) आदि काम पहिलो चरणमा हुन्छ । यसबेला खेतमा पानी लगाइँदैन ।

यो चरणमा पुरुषको मात्र काम हुने गथ्र्यो । यतिबेला आली लगाउँदा पछि रोपाइँको बेलामा सहज होस् भनेर पाटोको माटो चपरी जस्तै उठाएर आलुको लागि बनाइने ड्याङ् जस्तै पारिन्छ । यसरी गरिए पछि छ सात दिन सम्म त्यत्तिकै छाडिन्छ । त्यस बीचमा अन्यको पालो हुन्छ जुन त्यो फेर समूह भित्र परेको हुन्छ । अनि फेरि पहिले जुन खेतमा बाँलाई गरिएको हो, त्यहींबाट रोपाइँ गरिन्छ क्रमैसँग ।

रोपाइँमा पहिलेको बाँलाइ गर्दाको भन्दा अलिक फरक खालको हुन्छ । यतिबेला पाटो पाटोमा पानी भरिएको हुन्छ । पहिलो पल्ट हलो गोरु जोतिन्छ, जसले खाँदिएको माटोलाइँ पुक्का र लेसिलो बनाईदिन्छ जसलाई स्थानीय भाषामा ‘चउँल्सा वाइरी’ भनिन्छ । त्यसपछि मान्छेले नै माटो सम्याएर पाटो मिलाउने काम हुन्छ, अनिपछि फल्याक् वाला गोरु लगाएर सम्म बनाउने काम हुन्छ, जसलाई ‘मिल्सा वाइरी’ भनिन्छ । त्यसपछि आली लगाउने ले पहिले बनाएको ड्याङ्लाई कोदालीले सतह मिलाउँदै लिपेको जस्तै बनाइन्छ ।

त्यसपछि बाउसेले नमिलेको सतह मिलाउँदै रोपाइँ गर्न सहज बनाइदिन्छ, यसलाई ‘चोखो ज्ये’ भनिन्छ । अनि शुरु हुन्छ महिला समूहबाट रोपाइँ गर्ने काम ।

दोलखाको रोपाइँमा अन्यत्र भन्दा भिन्नता नियम यो पनि थियो कि केही गरी पुरुषकाृ काम सबै सकेर पनि बेलामै रोपाहारले धान रोप्न भ्याएनन् र ढिलाइ हाला जस्तो छाँट देखिएमा फेर समूहका नाइकेले जग्गा धनीलाई जरीवाना तिराउने शर्तमा पुरुषले पनि धान रोपाउने गरिन्छ । तर यी सबै अहिलेको अवस्थामा ‘एकादेशको कथा’ जस्तै भएको छ ।

अहिले पनि रोपिन्छ धान त तर एकाध आफ्ना परिवार र केही टोल छिमेकी मिलेर फाट्टफुट्ट मात्र । गत वर्ष अब दोलखामा फेर प्रथालाई अनिवार्य गरेर निरन्तरता दिने भनेर फेर महोत्सव पनि गरिएको थियो । तर जनश्रोत नै कमी भएको अवस्थामा त्यो सम्भव देखिएन । जे भए पनि दोलखामा रोपाइँ थालिएको समाचारले अतीतका उत्साहलाई ताजगी बनाएको महशुस भएको छ । सकिन्छ भने आफ्नो जन्मथलो हराभरा पार्न कर्मथलोबाट केही दिनलाई बिट मारेर भएपनि गइ दिँदा जाती नै हुने थियो कि !

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!