हाल भखर्रै सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिका निवासी संस्कृति र सम्पदा प्रेमी यादव लाल कायस्थ महाशयले हामी दोलखामा पुगेर दोलखाको साँस्कृतिक सम्पदामा परेको दोलखाको यो सानो बौद्ध स्तुपा (जोगिन्द्यउ परिसर)को पुनर्निर्माण पुरातत्व विभाग मार्फत् बनाइने भयो भन्ने सुखद समाचार सुन्न पाइयो र उनले देखाएको संक्षिप्त भिडियो पनि देख्न पाइयो खुसी लाग्यो । झन् स्थानीय जनप्रतिनिधि भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ र स्थानीय सामाजिक अभियान्ता लगायत स्थानीय केही व्यक्तिहरू समेत त्यो स्थलमा अचभिरुचिपूृर्वक उभिएका देखिंदा अब त हाम्रो बज्रयोगीनी जोगिन्द्यउले पुनर्जीवन पाउने भयो भन्नेमा हामी दोलखावासी विश्वस्त भएका छौँ ।
जे गरेर हुन्छ, जसो गरेर हुन्छ दोलखाको साँस्कृतिक सम्पदा संरक्षण गरेर इतिहासको कालान्तर सम्म जीवीतै राख्न सके पुर्खाहरूको त्यो कीर्ति र कृतिले अमरत्व प्राप्त गर्नेछ । तर सम्पदा संरक्षण र जीवन्त बनाउने नाममा नाफा र घाटाको खोजीनीति गर्दै हात हाल्ने र नहाल्ने भन्ने दोधारे र सकीर्ण विचार राखेमा कहिल्यै उत्थान हुन सक्तैन र आफ्नो ठाउँमा विकास सम्भव पनि हँदैन । यो तीतो यथार्थ हो । जो कोहीले गरुन् दोलखाको भलाइका लागि गरुन् । गर्न खोज्नेलाई सकेको सहयोग गरौँ भन्ने भावना जागृत गराऔँ । ‘माछा परे भित्री हात र सर्प परे बाहिरी हात’ भने जस्तो नहोस् ।
हामीले स्तुपा एवं यस भित्रका परिसरलाई जोगिन्द्यउ भन्ने गरेका छौंँ । तर यो स्तूपा स्थानीय दोलखावासी (हामी)ले भनेको जस्तो जोगिन्द्यउ भने होइन । हामी यसमा भ्रममा नपरौँ । स्तूपा भनेको बुद्धको स्मृतिको लागि अविस्मरणीय राख्न उनको शिला या मूर्ति अटल रूपमा सजाइ राख्नका लागि बनाइने स्मारक हो, जसमा अनेकन आसनमा आबद्ध बुद्धका प्रतीक, प्रतिमा, शिलालेख, गहना, बज्र, आदिले सजिसजाउ राख्ने घरको सानो प्रारुप हो । यहाँ जुन भग्नावशेष स्तूपा देखिरहेका छौँ । जसलाई स्थानीय दोलखाको नेपाल (नेवारी) भाषामा हामीले सेङ्चा (सानो स्तुपा) भनेर बुझ्दा उत्तम होला । उपत्यकाको नेवारहरूको बोलीचाली नेपाल भाषामा (चिभाः द्यः) भन्ने गछर्न् ।
‘जोगिन्द्यउ’ भनेर प्रचारमा रहेको यो बुद्ध होइन कि यो स्तुपाको ठ्याक्कै उत्तरपट्टि रहेको पत्थरको त्रिभुजाकार शिखर रूपमा रहेको भित्तामा राखिएको शिलारूपी मूर्तिहरू मध्येको बीचमा रहेको देवीको प्रारुपलाई बज्रयोगिनी देवी भनिन्छ । पहिले पहिले “खस भाषा” को उच्चारणमा ‘य’ लाई ‘ज’ भन्ने गरिन्थ्यो । त्यसैले ‘योगिनी’लाई ‘जोगिनी’को उच्चारणबाट योगिनी देवी भन्नको साटोमा ‘जोगिन्द्यउ’ हुन गएको हो ।
तन्त्रसिद्य बज्रयोगिनी माइको प्रतिमूर्ति हो यही देवलकै नामबाट हामीले जोगिन्द्यउ भन्दै आएका छौँ । विगत केही वर्ष पहिलेदेखि पटक पटक यो देवस्थल पुनर्निर्माण गर्ने चर्चा र प्रक्रिया चले पनि विविध कारणले स्थगन हुँदै आएकोमा बाँपिझ्याला मिडियामा र सह–सम्पादकको नीजि पेजमा गरी विभिन्न निकाय र स्थानीय निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएका थियौँ । धेरैले चासो अप्रत्यक्ष परोक्ष चासो पनि दिंदै आएको कुरालाई हामीले स्विर्कानु पर्छ ।
यो बज्रयोगिनी मन्दिर भीमेश्वर नगारपालिका वडा नं. २ पाखलती बजारकै मध्य भागमा रहेको छ । उक्त स्थल परिसरमा रहेको यो एउटा ऐतिहासिक एवम् प्राचीन दोलखाको सबैभन्दा दोस्रो पुरानो स्वयम्भू चैत्य हो । अझ यो स्तूपा कान्तिपुरको स्वयम्भू भन्दा पनि पुरानो हुनसक्ने अनुमान काठमाडौंको साँखुमा रहेको बज्रयोगिनी धातुको स्तपा (चिभाःद्यः)को स्थापनाकाललाई हेर्दा समकालीन युगमा नै स्थापना भएको अनुमान लगाउन सकिन्छ ।
यसबारेमा संक्षिप्तमा भन्नुपर्दा साँखुकै बज्रयोगिनी माताकै आदेशमा हालको बौद्ध (चाबहिलभन्दा पूर्व साँखु–काठमाडौं सडकमै जोडिएको ठाउँमा रहेको विशाल स्तूपा)को निर्माण भएको कथन छ । यसबारेमा यो भन्दा पहिले पनि यही बाँपिझ्याला डटकममा संस्कृति र सम्पदा स्तम्भमा राखिसकेका छौँ । र दोलखाली साहित्यकार अमर प्रधानले पनि बेला बेलामा सम्प्रेषण गदै आउनु भएको छ र शंखरापुर नगरपालिका साँखुका संस्कृतिविद् प्रकाशमान सक्वद्वारा लिखित ‘बौद्ध (खास्ति) स्थापना’ लेखमा उजागर भएको छ । आवश्यक परे प्रस्तुत र्गनेछौँ ।
हो, त्यही स्तुपाको प्रारम्भिक इतिहास देखि नै दोलखामा रहेको कुरा दोलखाको तल्लो टोलमा रहेको रानीपोखरी परिसरको श्यामसुन्दर टोल अगाडि रहनु हुने बुद्धरत्न तुलाधरले बताएका थिए । अर्थात् बज्रयोगिनी माताले नै मूल भक्त (पूजारी)लाई त्यसबेला पानी नभएर हाहाकार भएर शीतला खटिरा आएर महामारी नै फैलिएको बेलामा जहाँ जहाँ मेरा वंशका सन्तान (नेवार) रहन्छन् त्यहाँ त्यहाँ मलाई ‘अजि’ (हजुरआमा) सम्झेर मन्दिर बनाउन लगाउनु र त्यसकै नजिकै छेवैमा बुद्धको स्तुपा चैत्य बनाएर चार दिशामै जल छर्नका लागि कुण्ड जस्तै आयताकारको खाल्डो बनाउन लगाउनु र दैनिक बिहान र साँझ शुद्ध जल अर्पण गराउनु भन्ने आदेश भएपछि ठाउँ ठाउँमा अजिमा मन्दिर स्थापना गर्न लगाएको भन्ने कथन छ ।
पौराणिक र धार्मिक महत्वले भरिएको दोलखाको यो सम्पदालाई पुनर्ताजगी गराउने क्रममा खाली स्तुपामा मात्र केन्द्रित नहोस् ताकि भित्तामा रहेको बज्रयोगिनी मन्दिरका लागि फेरी अर्को संघसंस्था र दाता खोजिरहन नपरोस् ।
मौलिकता, पौराणीक र ईतिहासमा दोलखाको सम्पदा :
दोलखा ऐतिहासिक, धार्मिक, पौराणिक मान्यतामा नेवारी भाषा, संस्कृति, मौलिकता हेर्दा प्राचिन शहर दोलखा सम्पन्न रहेको कुरामा हामी कसैको दुईमत नहोला । यहाँ धार्मिक पहिचानका तथ्ययुक्त उत्खननीय विषयवस्तुहरू थुप्रै रहेका छन् । जस्तो कि उसबेलाका दोलखाका राजाहरूको दरबार रहेको ठाउँ कोर्छेँ टोलको आगम परिसर, बहार टोलको रानीको निजी निवास वरिपरिका धाराहरू, त्यस्तै ‘नाम काइ मदउ’ (नामै लिन नहुने) देवता, ‘छेरप्वाले’ (शीर छेदन गर्ने) ठाउँ, ‘खिङल्चा वती’ (अँध्यारो धारा रहेको ठाउँ), ‘देगलचाये टाडा’ (देवलको थुम्को), ‘पेंटचा वाङ ठाइँ (पिण्ड अर्पण गरिने स्थल), ‘दोखुनु स्वयेन् हाखेनये सेङ्चा’ (सबैभन्दा पहिले स्थापित सानो स्तुपा, जुन दोलखा शहरबाट नागदह जाँदा बाटैमा पर्छ) आदिबारे स्थलगत निरीक्षण र अवलोकन गर्न आजसम्म दोबाटे चर्चा बाहेक खासै भएको पाइएको छैन । हुनसक्छ कसैकसैले गरे होलान्, हामीले थाहा नभएको पनि हुन सक्लान् । तथापि ती कुराहरू ओझेलमै सुस्ताएकै छन् ।
यसै गरी दोलखामा साँस्कृतिक, धार्मिक र पौराणिक सम्पदाहरू धेरै हदसम्म पुनर्निर्माण भए । यस कार्यमा दत्तचित्त भएर लाग्ने अभियन्ताहरू कृष्णप्रसाद मास्के, केदारमान सिंह, शान्तकृष्ण श्रेष्ठ, बैकुण्ठनारायण प्रधान, लक्ष्मण श्रेष्ठ (थापाथली), अमरकुमार प्रधान भल्ला मास्के लगायतका अन्य अग्रज समाजसेवीहरू र दिवंगत द्वारिकामान सिं प्रधान सम्मिलित (जो दोलखामा जन्मेर उपत्यकामा रहनु भएका छन् ।) द्वाल्खा गुठी र कालिन्चोक युवा क्लव जस्ता सामाजिक संस्थाले धेरै उल्लेखनीय कार्य गरेको देखिन्छ ।
साँस्कृतिक, धार्मिक र पौराणिक सम्पदाहरू संरक्षण र सम्वद्र्धन गर्ने र पुननिर्माण गरिने क्रममा आवश्यक्ता भन्दा बढी नै परिमार्जन गरेकोमा चित्तबुझ्दो देखिएको छैन । जुन यहाँ वसोवास गर्ने दोलखावासीबाट यही कुरा सुन्नमा आउँछ । यसरी परिमार्जन गर्दाको परिणाम भीमेश्वरको मन्दिरमा धातुको छाना छाउन लगाउनु, मन्जेश्वरीको खुल्ला मौलिकतामा छाना लगाउनु, मञ्जुश्रीको दुई पाईलाको रुपमा पुजिने हाम्रो परम्परामा अर्को नयाँ सरस्वतीको मन्दिर स्थापना गर्नु, देवीकोट (त्रिपुरासुन्दरी) मन्दिरमा दुई तर्फी सिंढी बनाउनु, स्वयम्भु स्तुपाहरुको पुनः निर्माण आदी यस्ता कार्यले भोलीको दिनमा दोलखाको ईतिहास कहाँ पुग्ला हामी सवैले यस्ता कुरामा विचार गरेर मात्र पुनः निर्माणको कार्य अगाडी बढाएको खण्डमा सुन माथी सुगन्ध हुने थियो की ?
हाम्रो आग्रह :
उपत्यकाबाट दोलखा करिव साढेतिन घण्टादेखि चार घण्टामा मोटरको बाटोमा सजिलै पुग्न सक्छौ । विशेषतः प्राचिन शहर दोलखा जिल्लाको रमणिय अनि धार्मीक स्थान मध्ये पहिलो अनी महत्वपूर्ण स्थान रहेको छ । जसलाई हामी सवै मिलेर संरक्षणमा सहभागी भई विकासमा सहयोग गरौं । र पुनः निर्माण गर्दा ईतिहासलाई कायम राखेर निर्माण गरौं ।
संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”