Search

किन लाग्दैन निन्द्रा ?

किन लाग्दैन निन्द्रा ?

निद्रा नलाग्ने धेरै कारण हुन्छन् । तीमध्ये ९७ प्रतिशत कारण अस्तव्यस्त जीवनशैलीका कारण निद्रामा असर पुग्दै रोगतर्फ धकेल्ने डा. झा बताउँछन् । ‘९७ प्रतिशत व्यक्तिको आनीबानी र तीन प्रतिशत मात्र विभिन्न रोग र हार्मोनको समस्याले निद्रा लगाउँदैन,’ उनी भन्छन् ।

एकै समयमा सुत्ने, उठ्ने बानी नबसाल्ने, अबेरसम्म मोबाइल चलाउने, टन्न खाने तर व्यायाम फिटिक्कै नगर्ने, नकारात्मक सोचले टाउको दुखाउनेजस्ता खराब आनीबानी अहिलेको प्रमुख समस्याको रुपमा देखिएको डा. झा बताउँछन् ।

त्यस्तै डा. कार्की मानसिक कारणले निद्रा बिथोलिने कुरामा कुनै शंका नभएको बताउँछन् । ‘निद्रा लाग्ने समयमा मनमा कुरा खेलाउने बानीले निद्रा पर्दैन । धेरै सोच्ने, मनमै तर्क-वितर्क गर्ने, कुण्ठा, गुनासो, आवेगजस्ता मानसिक विकारले निद्रा बिथोलिन्छ,’ उनी भन्छन् ।

शारीरिक समस्या वा कमजोरी, धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निद्रा नलाग्न सक्ने तर यो क्षणिक हुने उनी बताउँछन् ।

अनिद्राले के गर्छ ?

डा. झाका अनुसार एक-दुई दिनको निद्रा गडबड हुँदा दिनभर नै टाउको दुख्ने, शरीर आलस्य हुने, जाँगर नचल्ने हुन्छ । यो बिस्तारै आफैं हराउँछ । तर दिनानुदिन निद्रा नपुगेमा एकाग्रतामा कमी, दिक्क लाग्ने, तनाव बढ्ने र दैनिक कार्यमा नै असर गर्छ । मोटोपन बढ्ने, मधुमेहको जोखिमसँगै मुटु, रक्तचाप, रोग प्रतिरोधात्मक क्षमता घट्ने, डिप्रेसन, डिमेन्सिया पनि निम्त्याउन सक्ने डा. झा बताउँछन् ।

‘अनिद्राले जीवनको गुणस्तर घटाउँछ । निरन्तर रुपमा कम सुत्दा वा अनिद्राले स्लिप डिसअर्डर अर्थात् इन्सोमेनिया जस्ता समस्या हुने, स्नायु प्रणालीलाई कमजोर र उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना बढाउँछ,’ उनी भन्छन् ।

गहिरो निद्रा कसरी पार्ने ?

तकियामा टाउको राख्नु मात्र निदाउनु नभएको डा. कार्की बताउँछन् । ‘निदाउनका लागि निद्रा पर्ने वातावरण तयार पार्नु आवश्यक छ । त्यसैले निदाउन चाहेर मात्र हामीलाई निद्रा लाग्दैन,’ उनी भन्छन् ।

गहिरो र मीठो निद्राका ६ वटा उपाय उनी सुझाउँछन् ।

-सुत्ने र उठ्ने समय नियमित बनाउने, तर दिउँसो सुत्ने बानी नगर्ने ।

-सुत्नुभन्दा अघि कोठाको प्रकाश मधुरो गर्ने वा अँध्यारोमा बस्ने । निलो प्रकाश आउने मोबाइल, टिभी, ल्यापटप बन्द गर्ने । ताकि अँध्यारो खोज्ने शरीरको हार्मोनलाई सहज होस् ।

-कोठाको तापक्रम सन्तुलनमा राख्ने । बढी चिसो र बढी तातोले निद्रा नपर्न सक्छ ।

-ओछ्यान सुत्नका लागि मात्रै प्रयोग गर्ने ।

-ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केहीबेर हिंड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ । त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।

-रातको समयमा कफी चिया वा अन्य पेयपदार्थ नपिउने । त्यसमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीलाई उत्तेजित गर्छ र निद्रा भगाउँछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!