Search

धौवादी खानीबाट छिट्टै फलाम उत्पादन हुन्छ : उद्योग सचिव

धौवादी खानीबाट छिट्टै फलाम उत्पादन हुन्छ : उद्योग सचिव

१४ माघ, बाँपीझ्याला, काठमाण्डौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले पूर्वी नवलपरासीको धौवादीमा रहेको खानीबाट छिट्टै नै व्यावसायिक रूपमा फलाम उत्पादन हुने बताएका छन् । शनिबार हुप्सेकोट गाउँपालिका कार्यालयमा भएको धौवादी फलाम कम्पनी लिमिटेडको साधारणसभामा सचिव निरौलाले छिट्टै नै फलाम उत्पादन हुने दाबी गरेका हुन् ।

त्यस्तै कम्पनीका अध्यक्ष रामप्रसाद घिमिरेले धौवादी फलामखानी विदेशी लगानीका लागि उपयुक्त अवसर हुन सक्ने बताए । ‘धौवादी फलाम कम्पनी लिमिटेड र यसको उद्योगलाई नाफामूलक उद्योगमा लैजान सकिन्छ भन्ने प्रतिवेदनले देखाएको छ,’ उनले भने, ‘यो कारखाना चाँडो सुरु गरेर नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिन्छ भन्ने देखिएको छ ।’ फलाम परिमाण र गुणस्तरका बारेमा पछिल्लो प्राप्त रिपोर्टले उत्साहित भएको र सबै प्रक्रिया छिट्टै सुरु हुने पनि उनको दाबी छ ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दले धौवादी फलामखानीले मुलुककै अर्थतन्त्र कायापलट हुने बताए । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले राष्ट्रिय गौरवको आयोजना भनिएपनि फिल्डमा देखिनेगरी केही काम नभएको भन्दै असन्तुष्टि जनाइन । अध्यक्ष पाण्डले सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेर काम थालेको करिब ५ वर्ष बितिसक्दा पनि कार्यप्रगति शून्य देखिएकोमा प्रश्न गरिन् ।

धौवादी फलाम कम्पनि लिमिटेड गठन भएको करिब ५ वर्षमा पहिलो पटक खानी रहेकै हुप्सेकोट गाउँपालिकाको सभाहलमा शनिबार पहिलो पटक साधारणसभा भएको हो । यसअघिका सबै साधारणसभा काठमाडौंमै हुने गरेको थियो ।

कम्पनीले नै गरेको एक अध्ययनअनुसार नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्छ । धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातको एक चौथाइ फलाम आयातलाई कम गर्न सकिने कम्पनीको अनुमान छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!