Search

दाम्पत्य जीवन कसरी सफल बनाउने ?

दाम्पत्य जीवन कसरी सफल बनाउने ?

बिपुला श्रेष्ठ प्रधान
मनोबिज्ञ
होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर

आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवनमा आनन्दित हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवनमा आनन्दित हुन नसक्नुमा दोष कस्को हुन्छ ?

पति र पत्नीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ ? यस्ता विषयमा बुझ्न आवश्यक हुन्छ । दाम्पत्य जीवनलाई सफल बनाउन हरेक दम्पतीले अपनाउनुपर्ने सामान्य जानकारीका बारेमा मनोबिज्ञ बिपुला श्रेष्ठ प्रधानको सुझाब यस्तो छ ः
एक–अर्काको भावनाको सहपहिचान

अधिकांशले आफ्नो चाहना अनुसार मात्र जीवन जिइरहेका हुन्छन् । आफ्नो सहयात्रीको विचार तथा भावना बुझ्ने कोसिस पनि गर्दैनन् । दाम्पत्य जीवनको मुख्य मन्त्र भनेको जीवन संगीनी–साथीको विचार तथा भावना बुझेर अगाडि बढ्नु हो । पार्टनरको कुरा सुन्नु भन्दा आफ्नो सुनाउन बढी आतुरहुँदा समस्या सिर्जना हुन्छ । यस्तै कारणले पुराना दम्पतीबीच पनि फाटो आइरहेको हुन्छ । यसका हामी विचमा धेरै ज्वलन्त उदाहरणहरु छन् । अतः एकअर्काको भावनालाई सही तरिकाले बुझ्न अत्यन्त जरुरी छ ।

एक–अर्काप्रति सम्मान:

पतिपत्नीले एकअर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दाम्पत्य जीवन सुखमय बनाउन एकअर्काप्रति सम्मान गर्नुपर्छ । धेरै दम्पतीहरुको एउटै गुनासो हुन्छ, “तिमीले मलाई बुझेनौँँ ।” त्यसैले, एक अर्कालाई बुझ्नु भनेको एकअर्काप्रतिको विचार, भावना र ब्यवहार प्रतिको सम्मान र आधार गर्नु हो ।

साथीको उत्प्रेरणा र तनावलाई बुझ्नु:

पतिपत्नी बीचको सन्तुलित यात्रा विना जीवन पक्कै आनन्ददायी हुँदैन । एकअर्काको उत्प्रेरणाकै कारण यात्रा सही रुपमा अगाडि बढाउन सकिन्छ । प्रायः जीवनसाथी बीच उत्प्रेरणा जगाउनु भन्दा कमजोरीलाई अघि सारेर होच्याइन्छ । यसो गर्दा उनीहरु बीच ठूलो फाटो आउँछ । पत्नीका हरेक कार्यमा पतिले सघाउने र पतिका कार्यमा पनि पत्नीले मद्धत पुर्याउनुपर्छ । एकले अर्काको तनाबलाई बुझी ब्यवस्थापनमा सहयोग गर्नुपर्छ ।

सम्बन्धलाई अर्थपूर्ण बनाउनु:

प्रत्येक पतिपत्नी आफ्नो सम्बन्ध विशेष होस भन्ने चाहन्छन् । कतिले समाजमै चर्चा होस भन्ने पनि चाहन्छन् । यसका लागि पतिपत्नी सामाजिक कार्यक्रममा सँगै भाग लिने गर्नुपर्छ । कतिपय पत्नी पतिसँगै जान्छुभन्दा पनि पति साथै लैजान हिच्किचाउँछन् । दुवैजना सामाजिक कार्यक्रममा सँगै गएर योगदान पु¥याउँदा अपूर्व सन्तुष्टि मिल्छ । जसले गर्दा दाम्पत्य जीवन रोचक एवं अर्थपूर्ण बनाउन सकिन्छ ।

प्रेम, श्रद्धा र क्षमा :

प्रेम यस्तो औषधी हो जसले शरीर, मन र भावनाको समस्यालाई पनि निको पार्छ । “प्रेम” शब्द हेर्दा छोटो देखिए पनि अत्यन्त गहिरो विषय हो । कतिले प्रेमलाई स्वार्थ, सर्त परिपूर्ति गर्ने माध्याम पनि ठान्दछन् । वास्तवमा प्रेम त अकारण अनि निसर्त नै हुन्छ । पतिपत्नी बीच सुमधुर सम्बन्धका लागि प्रेम महत्वपूर्ण हुन्छ । एकअर्काको भावना बुझेर प्रेम गर्दै अघि बढ्नुपर्छ । एकअर्कामा श्रद्धा गर्ने र कुनै गल्ती भयो भने त्यसलाई ठूलो पारेर पार्टनरलाई दबाउनु हुँदैन । यसले पार्टनरको आत्मविश्वासमा कमी हुन्छ । प्रायः पतिपत्नीको सम्बन्ध एकअर्कालाई क्षमा गर्न नसकेका कारण भताभुङ्ग भएको पाइएको छ ।

हरेक कुरालाई नवीन रुपमा हेर्नु :

एउटै कुरा सधैँ दोहोरिँदा दिक्क लाग्नु स्वाभाविकै हो । यो पुरुषमा अलि बढी हुन्छ । धेरैजसो विवाहित पुरुष पत्नीलाई समय धेरै नदिने र सम्बन्ध पुरानो हुँदै जाँदा सम्बन्धमा रुचि कम हुँदै गएको विभिन्न मनोवैज्ञानिक अनुुसन्धानमा उल्लेख गरेको पाइन्छ । यसको समाधान भनेको सम्बन्धलाई ताजा राख्नु नै हो । यसका लागि हरेक ब्यवहारलाई नवीन रुपमा हेर्ने कलाको विकास गर्नुपर्छ ।

सकारात्मक सोच र गल्ती स्वीकार:

हरेक कुरालाई नकारात्मक रुपमा मात्र देख्ने धेरैको बानी हुन्छ । सहयात्रीको हरेक काममा खोट मात्र लगाउने बानीले सम्बन्धमा चिसोपना आउन सक्छ । यस्तो नकारात्मक सोचले घरको वातावरणमा समेत नराम्रो असर पु¥याउँछ । पतिपत्नी बीच सामान्य झगडा र मनमुटाब हुनु स्वाभाविक नै हो । तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रुपमा बुझाउन सकिन्छ । गल्ती भयो भने स्वीकार गर्न पनि पछि पर्नुहुँदैन ।

यस पती पत्नी एक रथका दुई पाङ्ग्रा भन्ने जुन उक्ती छ । सोही अनुसार एकले अकोको मनको भावनालाई बुझेर अगाडी बढ्नु पर्ने हुन्छ । जसको लागि एकले अर्कोलाई सहयोग गर्नु नै पर्ने भएकोले ती कुरामा एक कदम पछी र एक कदम अगाडी भएपनी समझदारीमा अगाडी बढ्नु पर्छ भन्ने हाम्रो ठम्याई रहेको छ । जसले गर्दा पति र पत्नि विचको सम्बन्धलाई गाढा र सुमधुर बनाउनको लागि सहयोग गर्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!