मिसु श्रेष्ठ थपलिया
कार्यालय प्रमुखको कुर्सीमा उनलाई देखेर चकित हुँदै प्रदीप बोल्यो – “दीपशिखा, तिमी ?”
निवेदन हातमा लिएको मान्छेले बोलाउँदा अक्मकिँदै दीपशिखाले नियाली । “तिमी …. ? प्रदीप होइन ?”
“हो नि ! सन्चै छौ ? कत्ति वर्षमा भेटियो है ! मेरो सौभाग्य !” प्रदीपको अनुहारमा खुसी छायो ।
तर उनको पहिरन देखेर अँध्यारो अनुहार लाउँदै प्रश्नमाथि प्रश्न ओइर्यायो प्रदीपले – “कहाँ , कहिले बिहे गर्यौ नि ?” ।
“पाँच वर्ष भयो ।” उनले सहजै जवाफ दिइन् ।
“तर तिमी बिना सहारा हिँडेकी देख्छु त !” उसको अनुहारमा उत्सुकता देखियो ।
” मेरो परिवार नै मेरो दह्रो सहारा हो । मेरो पति सवलाङ्ग भएर पनि मलाई जीवन दिएका छन्। उनको साथ र साहस नै मेरो शक्ति हो । ” दीपशिखा दृद्दताका साथ बोलिन् ।
- “तिमीलाई बधाई छ। “
- “तिमी पो धन्यवादको पात्र हौ प्रदीप ! सायद त्यस दुर्घटनापछिको मेरो अपाङ्ग शरीर अस्वीकार नगरेको भए उही बाह्र पासमा चित्त बुझाउनु पर्थ्यो होला ! चाँडै विवाह गरेर तिम्रो हुनु भन्दा अरू के पो सोचिएको थियो र ?” उनले निश्वास छाडिन् ।
- “मैले त अझै उत्तिकै माया गर्छु तिमीलाई।” ऊ बोल्दै थियोे ।
उनी खिस्स हाँसिन् ।
थोरै सन्नाटा पछि दायाँ खुट्टाको पाइन्ट माथि सार्दै नक्कली खुट्टाको भाग देखाउँदै बोलिन् – “तिमी यहाँ आउनुको कारण चाहिँ सोध्नै पो बिर्सेछु ।”
- “अपाङ्ग कोटामा छात्रवृत्तिको सिफारिसका लागि आएको ।” प्रदीपले तात्पर्य खुलायो ।
- “कसका लागि ?” उनले प्रश्न तेर्स्याइन् ।
- “मेरी छोरी दीपशिखाका लागि ।”
दोलखा – हाल-काँडाघारी काठमाडौं