Search

अक्षय तृतीया र यसको पौराणिक महत्व

अक्षय तृतीया र यसको पौराणिक महत्व

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ । भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ ।

सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्रायः लिएर हिँड्ने चलन रहेको छ ।

आज सातु खाने दिन हो । चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ ।

अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घ्यू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्रायः सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् ।

आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा रहेको छ ।

आजको चिरञ्जीवी तिथि:
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाउने चलन रहेको छ ।

अक्षय तृतीयाको पौराणिक महत्व :
पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।

अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ ।

अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ ।

अक्षय तृतीयाको अवसरमा सम्पूर्ण महानुभावहरुमा अक्षय माया अनी ममताका साथ शुभकामना ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!