Search

दसैंतिहार चाडबाडकाे समयमा अफरको बहार

दसैंतिहार चाडबाडकाे समयमा अफरको बहार

४ कार्तिक, बाँपीझ्याला, काठमाडौं । चाडपर्वको माहोल सुरु भइसकेको छ। दसैंतिहारकोे माहोलसँगै आर्थिक क्रियाकलाप पनि बढ्छ। राष्ट्रिय उपयोगको २० प्रतिशत उपयोग चाडपर्वकै समयमा हुने गर्छ। यो बेला खरिद धेरै हुने भएकाले व्यवसायी पनि ग्राहक तान्न लालायित हुन्छन्। ग्राहकलाई आफ्नो ब्रान्ड र उत्पादनप्रति आकर्षित गर्न कम्पनीहरूले दसैंतिहारको समयमा अफरको बहार ल्याउने गर्छन्।

दसैंतिहारमा सवारीसाधन बिक्रीका हिसाबले उर्वर समय भएको नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बराल बताउँछन्। दसैंतिहारको एक महिनाको समयमा करिब ४० प्रतिशत कारोबार हुन्छ। ‘ठूलो कारोबार हुने भएकाले ग्राहकलाई आकर्षित गर्न विभिन्न आकर्षक अफर ल्याउने गरिन्छ’, बरालले भने, ‘खरिदकर्ता चाडपर्वको छुट तथा सहुलियतको आशमा हुन्छन्।’

अफर र छुट प्राप्त हुने भएकाले उपभोक्ता सामान खरिदका लागि दसैं पर्खेर बस्छन्। यो वर्षको दसैं बजारका लागि विभिन्न ब्रान्डका सवारीसाधनमा आधिकारिक बिक्रेताले आकर्षक अफर घोषणा गरेका छन्। हुन्डाई ब्रान्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘वेलकम टु हुन्डाई परिवार’ नामक योजना ल्याएको छ। योजनाअन्तर्गत, ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई औरा एउटा र हुन्डाई ग्रान्ड आई १० नियोस एउटा जित्न सक्नेछन्। ग्राहकले १ वर्षसम्म निःशुल्क बिमा, ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ पाउनेछन्। टाटाले ‘यो दसैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ।

टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङले प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकले हात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ। टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विंगर, पिकअप, एयर म्याजिकलगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, ट्याब्लेट उपहार पाइनेछ।

साथै एक वर्षको फ्री सर्भिसिङ कुपन पनि पाइनेछ। गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाइनेछ। लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउनेछन्।

कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत कियाको अल न्यु सेल्टोस र स्पोर्टेज मोडलका गाडीमा चार लाख रुपैयाँसम्मको डिस्काउन्ट पाउन सकिन्छ। यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन्। योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्नेछ।

सुजुकी गाडीको नेपाली बिक्रेता सिजी मोटोकोर्पले तीन लाख ५० हजार नगद छुटसहितको पर्वोत्सव ग्राहक योजना सार्वजनिक गरेको छ। साथै ग्राहकले दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका एसेसरिज निःशुल्क पाउने कम्पनीले जनाएको छ। साथै कुनै पनि व्यक्तिले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कारसमेत पाउनेछन्।

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान धमाकेदार दसैंतिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। अफरअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्। ९ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ। उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। यसका साथै ग्राहकले ३५ हजार ९ सय ९९ रुपैयाँबराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन्।

डीएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले प्रिमियम एसयूभी खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको छ। तत्काल डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकको समस्या विचार गरेर १० लाख रुपैयाँ बुझाएर पनि गाडी किन्न सकिने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डीएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्थासमेत गरेको छ। गाडी किन्ने ग्राहकले लक्की ड्रमार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस अन्तर्गतको, आईएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले ‘कोरियन लक्जरी एसयूभी, एक्सएलभी’मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेबापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। एमजीले चाडवर्प लक्षित आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ।

एमजीले नगद छुट, एक वर्षको बिमा, थप एसेसरिज, एक वर्षको सडक दस्तुर र लोयलटी बोनस दिने घोषणा गरेको छ। एमजीले आफ्नो जीएस मोडलमा ३ लाख नगद छुट र ५० हजारसम्मको लोयलटी बोनस दिने जनाएको छ। एमजीकै जेडएसमा भने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउनेछन्। एमजीको सेडान कार एमजी ६ मा भने कम्पनीले थप छुटको घोषणा गरेको छ।

होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ। योजनाअनुसार ४.२५ प्रतिशतसम्म सस्तो ब्याजदरमा होन्डाका कार किन्न सकिनेछ। होन्डाका कार ३० प्रतिशतसम्मको डाउन पेमेन्टमा किन्न सकिनेछ। विभिन्न कारमा फरकफरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुटअन्तर्गत एउटै कारमा १० लाख रुपैयाँसम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ।

दुई पांग्रेको पनि कम छैन सान

बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङले ‘दसैंतिहार छुट अफर’ ल्याएको छ। यो अफर अवधिभर बेनेलीका विभिन्न मोटरसाइकल खरिदमा आठ हजारदेखि ३५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिन्छ। कम्पनीले शून्य प्रतिशत ब्याजदर, मोटरसाइकल कभर, हेल्मेट निःशुल्क तथा एक्सचेन्ज अफर पनि ल्याएको छ।

बीएमडब्ल्यू मोटरसाइकलको खरिदमा ग्राहकले ६० हजार रुपैयाँ नगद छुट पाउनेछन्। नेपालका लागि बीएमडब्ल्यू मोटरसाइकलको आधिकारिक बिक्रेता हिमालयन मोटोराडले सार्वजनिक गरेको ‘बीएमडब्ल्यू दसैं अफर’मा ग्राहकले यस्तो छुट पाउने भएका हुन्।

नेपालमा बीएमडब्ल्यूका जी ३१० आर र जी ३१० जीएस बिक्री भइरहेको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले दसैंलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई एक रुपैयाँमा होन्डा’ नामक अफर ल्याएको छ। यस्तै, मोटरसाइकल वा स्कुटर खरिदमा स्क्य्राच कुपनमार्फत एक लाख रुपैयाँसम्म नगद छुट, सात वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ र सात वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट पाउनेछन्।

यामाहाले दसैंमा ‘कार्बुरेटर छोडौँ, एफआई चढौं’ अभियान सुरु गरेको छ। एफआई इन्जिन भएको यामाहाको बाइक र स्कुटर खरिद गर्नेलाई कम्पनीले आठ हजार नगद छुटका साथै एक्सचेन्ज गर्न चाहनेका लागि प्रचलित बजार मूल्यभन्दा बढी मूल्यांकन गर्ने घोषणा गरेको छ। साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर र सबै मोडेल १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

हिरोले ‘दसैंको पर्व हिरोत्सवको हर्ष हिरोसँग सबै दंग…’ योजना ल्याएको छ। हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक एनजीएमले ल्याएको अफरमा ग्राहकले नगद छुट ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसका अलावा स्क्य्राच कार्डमार्फत नगद १ हजारदेखि १ लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

यस्तै यो योजना अवधिभर लक्की ड्रमार्फत छानिने दुई जना विजेताले १÷१ लाख रुपैयाँ नगद जित्न सक्नेछन्। टीभीएसले आउँदै गरेको ठूला चाडपर्व दसैंतिहारलाई ध्यानमा राखेर ‘टीभीएस दसैंको आशा’ योजना सार्वजनिक गरेको छ। टीभीएसका कुनै पनि मोटरसाइकल खरिद गर्दा नौ हजार र स्कुटर खरिदमा सात हजार रुपैयाँ छुट पाइनेछ। ग्राहकले नगद छुट नलिएर शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा पनि लिन सक्नेछन्। मोटरसाइकल नकिने पनि बम्पर उपहारका रूपमा हरेक हप्ता एकजनाले आरआर ३१० जित्ने अवसर पाउनेछन्।

बजाज मोटरसाइकलले ‘बजाज रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने’ योजना ल्याएको छ। बजाजको नेपाली बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीको योजनाअन्तर्गत फुल क्यास बुझाएर बजाज बाइक किन्ने ग्राहकले १० हजार रुपैयाँसम्म नगद छुट वा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउन पेमेन्टमध्ये कुनै एक सुविधा लिन पाउनेछन्।

सुजुकी मोटरसाइकलको तथा स्कुटरको खरिदमा नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले १२ हजार नगद छुट दिने भएको छ। साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको छ। रनर मोटरसाइकल खरिदमा ग्राहकले ५१ हजार रुपैयाँसम्म छुट पाउनेछन्।

रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमण मोटर्सले कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार न्यूनतम मूल्यांकन गरिने जानकारी दिएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!