तिहार तथा छठ पर्व नजिकिँदै गर्दा पश्चिम नवलपरासीका उखु किसान भने खुसी हुन सकेका छैनन् । वर्षभरि खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी उद्योगलाई बिक्री गरेको लामो समय बितिसक्दा पनि भुक्तानी नपाएपछि किसानहरू आर्थिक समस्यामा परेका छन् । चाडपर्वको मुखमा समेत आफ्नो उत्पादनको मूल्य नपाउँदा किसान परिवार निराश र चिन्तित बनेका छन् ।
चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबालिकाको पढाइ तथा औषधोपचारका लागि रकम जुटाउनुपर्ने समयमा साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्ताले किसानलाई सताएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले चिनी उद्योगले लामो समयदेखि किसानको बक्यौता भुक्तानी नगर्दा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेको बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योगबाट किसानले पाउनुपर्ने रकम समयमा भुक्तानी हुन सकेको छैन । उद्योगीहरूको गैरजिम्मेवार व्यवहारका कारण किसानले चाडपर्वको समयमा समेत आर्थिक अभाव झेल्नुपरेको यादवको भनाइ छ ।
प्रतापपुरस्थित इन्दिरा सुगर मिलले विगतदेखि नै किसानलाई करिब सात करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । उक्त उद्योग विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ । मिलका सञ्चालक राकेश अग्रवाल किसानको बक्यौता रकम भुक्तानी नगरी सम्पर्कविहीन रहेको बताइएको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार सञ्चालक अग्रवालविरुद्ध कार्यालयमा ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ ।
मिल सञ्चालक हाल भारतमा बस्दै आएकाले सम्पर्कमा आउन नसकेको र प्रहरीले तोकिएको समयभित्र अनुसन्धान पूरा गरी मुद्दाको फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको पौडेलले जानकारी दिनुभयो ।
सुनवलस्थित लुम्बिनी चिनी उद्योगले भने किसानलाई दिनुपर्ने बक्यौता रकम क्रमशः घटाउँदै लगेको जनाएको छ । उद्योगका अनुसार आर्थिक वर्ष २०७९/८० को करिब ७५ लाख रुपैयाँ र गत वर्षको करिब १० देखि १२ लाख रुपैयाँ गरी कुल ८५ देखि ८७ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।
उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार उक्त बक्यौता रकम यस वर्षको मिल सञ्चालन हुनुअघि नै भुक्तानी गरिसक्ने गरी तयारी भइरहेको छ ।
वर्षभरि मेहनत गरेर उत्पादन गरेको उखुको मूल्य नपाउँदा किसानहरू थप निराश बनेका छन् । आफ्नो बक्यौता रकम भुक्तानी गराउन जिल्ला प्रशासन कार्यालयदेखि काठमाडौंको माइतीघर मण्डलसम्म पुगेर आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दा पनि समस्या समाधान हुन नसकेको किसानहरूको गुनासो छ ।
किसानका लागि उखु मुख्य नगदे बाली भए पनि समयमा भुक्तानी नपाउँदा यही खेती आर्थिक बोझको कारण बन्दै गएको छ । उत्पादन लागत, मलखाद, सिँचाइ, मजदुरको ज्याला र खेतीका लागि लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको किसानहरूको भनाइ छ ।
पश्चिम नवलपरासीमा साना–ठूला गरी मुख्यतः चारवटा चिनी उद्योग रहेका छन् । तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द छन् । हाल वागमती चिनी उद्योग र लुम्बिनी चिनी उद्योग मात्र आंशिक तथा मौसमी रूपमा सञ्चालन हुँदै आएका छन् ।
कुनै समय जिल्लामा वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको थियो । तर उखुको भुक्तानीमा हुने ढिलाइ, उद्योगीबाट रकम नपाउने समस्या र उत्पादन लागतसमेत उठाउन कठिन भएपछि किसानहरू उखु खेतीबाट विस्थापित हुँदै गएका छन् ।
पछिल्लो समय किसानहरू केरा, तरकारी तथा अन्य वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । यसको प्रत्यक्ष असर जिल्लाको उखु उत्पादनमा परेको छ । हाल पश्चिम नवलपरासीमा वार्षिक करिब १५ देखि १८ लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको छ ।
उखु खेतीलाई निरन्तरता दिन किसानले उत्पादन गरेको उखुको समयमै उचित मूल्य र भुक्तानी पाउने व्यवस्था आवश्यक देखिएको छ । अन्यथा लामो समयदेखि नगदे बालीका रूपमा स्थापित उखु खेतीबाट किसान थप पलायन हुने र जिल्लाको चिनी उद्योगसमेत कच्चा पदार्थको अभावमा प्रभावित हुने अवस्था आउन सक्ने देखिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij