नेपाल सम्वत् ११४६, कौलागाः ५, पञ्चमी (१३ कार्तिक २०८३, ३० अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । दोलखाको विगु गाउँपालिका–८, खोपाचागुमा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशालामा लगाइएको काउली राम्रोसँग हुर्किएर फुल्ने अवस्थामा पुग्न थालेपछि सहभागी किसानमा खुसी र उत्साह छाएको छ। प्रयोगात्मक प्लटमा लगाइएका काउलीका बोट स्वस्थ, बलिया र मजबुत हुँदै फुल खेल्ने लक्षण देखिन थालेपछि किसानहरू आफूले सिकेको ज्ञान र सीपको सकारात्मक परिणाम देखेर उत्साहित भएका हुन्।
२०८३ असोज २२ गते सम्पन्न कृषक पाठशालाको सातौँ कक्षामा २२ जना किसान सहभागी भएका थिए। कक्षामा अघिल्लो साताभर उपसमूहले पाठशाला क्षेत्रको स्थलगत अवलोकन गरी तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुका साथै यसअघिका कक्षामा भएका गतिविधि, अभ्यास र सिकाइको समीक्षा गरिएको थियो।
प्रतिवेदन प्रस्तुतीकरणका क्रममा सहभागी किसानले आफूले गरेका काम, बालीको अवस्था र सिकाइका अनुभव एकअर्कासँग साटासाट गरेका थिए। यसले किसानलाई आफ्नो अभ्यासको मूल्याङ्कन गर्न, देखिएका समस्या पहिचान गर्न र आगामी दिनमा खेतीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको थियो।
कक्षाको अर्को महत्त्वपूर्ण गतिविधिका रूपमा सहभागी किसानले प्रयोगात्मक खेती प्लटमा सामूहिक सरसफाइ तथा गोडमेल गरेका थिए। बालीको उचित स्याहार, नियमित सरसफाइ र समयमै गोडमेल गर्दा उत्पादन राम्रो बनाउन सकिने विषयमा समेत व्यावहारिक अभ्यास गरिएको थियो।
काउलीका बोटमा देखिएको राम्रो वृद्धि र फुल लाग्ने अवस्थाले किसानमा नयाँ उत्साह थपेको छ। सुरुदेखि नै सामूहिक रूपमा सिक्दै, अभ्यास गर्दै र एकअर्काका अनुभवबाट ज्ञान हासिल गर्दै आएका किसानले अब आफ्नो खेतबारीमा पनि सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ। कृषक पाठशालाले परम्परागत खेती प्रणालीमा सुधार ल्याउँदै वैज्ञानिक तथा व्यावहारिक खेती पद्धतिप्रति किसानको आकर्षण बढाउन सहयोग पुर्याएको छ।
कविता बस्नेत र शर्मिला श्रेष्ठले सहजीकरण गरेको उक्त कक्षामा ग्रामीण विकास टुकी संघ र सिविन नेपालको साझेदारीमा सञ्चालित ओसेलिप परियोजनाका शिक्षा तथा सामाजिक विकास अधिकृत विष्णु सुवेदीको समेत सक्रिय सहभागिता रहेको थियो।
कृषक पाठशालाको मुख्य उद्देश्य किसानलाई खेतबारीमै प्रयोगात्मक सिकाइमार्फत बालीको अवस्था अवलोकन गर्ने, रोग तथा किराको पहिचान र व्यवस्थापन गर्ने तथा उत्पादन लागत घटाउँदै स्वस्थ र गुणस्तरीय कृषि उत्पादन गर्न सक्षम बनाउनु हो। यस प्रकारको सामूहिक सिकाइले किसानको आत्मविश्वास बढाउनुका साथै व्यावसायिक तरकारी खेती र दिगो कृषि उत्पादनको आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रामचन्द्र श्रेष्ठ, कृषि विज्ञ, टुकी संघ, दोलखा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij