नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण मानिएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र सिनेट दुवैमा विजय हासिल गरेको छ।
निर्वाचन परिणामसँगै अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्र्याटहरूको नियन्त्रण कायम भएको छ। यसले रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पलाई कार्यकालका बाँकी दुई वर्षमा राजनीतिक रूपमा थप चुनौतीपूर्ण अवस्था सिर्जना गरेको छ।
कङ्ग्रेसका दुवै सदनमा बहुमत प्राप्त गरेपछि डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ।
फक्स न्युजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले निर्वाचनमा डेमोक्र्याटहरूले राम्रो प्रदर्शन गरेको स्वीकार गरेका छन्। उनले इरान युद्ध र इन्धनको मूल्यवृद्धिलाई आफ्नो पार्टीको पराजयका प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।
सिनेटमा बहुमत कायम गर्ने प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षपछि पहिलोपटक नोर्थ क्यारोलाइनामा विजय हासिल गरेका छन्। त्यहाँ डेमोक्र्याटिक उम्मेदवार रोय कूपरले रिपब्लिकन पार्टीबाट उक्त सिट खोसेका हुन्।
त्यसैगरी, परम्परागत रूपमा रिपब्लिकन पार्टीको प्रभाव रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा समेत डेमोक्र्याटिक उम्मेदवारहरू विजयी भएका छन्। क्यान्ससमा करिब एक सय वर्षपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार सिनेटमा निर्वाचित भएको उल्लेख गरिएको छ।
मतगणना जारी रहँदा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत विभिन्न पोस्ट गर्दै निर्वाचन परिणामप्रति निराशा व्यक्त गरेका थिए। मतदाताको रुझान ट्रम्प र उनको रिपब्लिकन पार्टीको विपक्षमा देखिएको निर्वाचन परिणामले संकेत गरेको छ।
यस मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका १०० मध्ये ३५ सिट तथा विभिन्न राज्यका गभर्नरसहित अन्य पदका लागि प्रतिस्पर्धा भएको थियो।
कङ्ग्रेसका दुवै सदनमा डेमोक्र्याटहरूको नियन्त्रण कायम भएसँगै ट्रम्प प्रशासनका आगामी नीति, निर्णय र राजनीतिक कार्यदिशामा विपक्षी दलको प्रभाव बढ्ने देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij