नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गर्दै मुस्ताङबाट १ हजार ५०० भन्दा बढी भेडाच्याङ्ग्रा बिक्री भएका छन्। पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर भेडाच्याङ्ग्रा बजार पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ।
कार्यालयका अनुसार सोमबारसम्म १ हजार ३०० भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्रीका लागि बजार पठाइएको छ। तिहारसम्म मुस्ताङबाट करिब ३ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार भेडाच्याङ्ग्रा खरिद गर्न म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका नियमित व्यापारी मुस्ताङ पुगेका छन्। यस साताभित्र अधिकांश भेडाच्याङ्ग्रा बजारमा पुगिसक्ने उनले बताए। बिक्रीका लागि ल्याइएका सबै भेडाच्याङ्ग्रा चरन क्षेत्रबाट संकलन गरिएका हुन्।
उनका अनुसार हालसम्म डोल्पाबाट पनि केही भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगेका छन्। तर बजारमा बिक्री भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै उत्पादन हुन्। उत्पादन बढेकाले गत वर्षको तुलनामा यस वर्ष दसैं–तिहारमा भेडाच्याङ्ग्राको व्यापारसमेत बढेको अर्यालले बताए।
कृषकले तौलअनुसार एउटा च्याङ्ग्रा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। दसैंका बेला रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँसम्म पुगेको थियो।
गत दसैंमा मुस्ताङका पाँच स्थानीय तहका कृषकले पालेका तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्लाबाट ल्याइएका गरी १३ हजार ९५० भेडाच्याङ्ग्रा बिक्री भएका थिए। ती भेडाच्याङ्ग्राको कारोबारबाट ३६ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको थियो।
मुस्ताङका कृषकले गोठबाटै तथा आफैं बजारमा लगेर भेडाच्याङ्ग्रा बिक्री गर्दै आएका छन्। जिल्लाको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा पालनका प्रमुख क्षेत्रका रूपमा चिनिन्छन्।
एउटा भेडाच्याङ्ग्रालाई मासुका लागि योग्य बनाउन सामान्यतः तीन वर्षसम्म पाल्नुपर्ने हुन्छ। यस अवधिमा चरन, खोप, गोठालो र पालनपोषणमा उल्लेख्य खर्च लाग्ने गर्छ। रोज्जा च्याङ्ग्रा तयार गर्न भने करिब चार वर्ष लाग्ने पशुपालकहरू बताउँछन्।
प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यसपटक उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट कम भेडाच्याङ्ग्रा आएको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए।
मुस्ताङका पशुपालक कृषकले च्याङ्ग्रा र रोमा बिक्री गरेपछि गोठालासहित चिसो छल्न अन्यत्र जाने गर्छन्। समुद्री सतहदेखि ६ हजार मिटरसम्मका उच्च हिमाली क्षेत्रमा पाइने च्याङ्ग्रा कठोर चिसो र कम अक्सिजनयुक्त वातावरणमा हुर्किने तथा लेकाली जडीबुटी खाने भएकाले यसको मासुलाई पोसिलो मानिन्छ। यही कारण दसैं–तिहारजस्ता चाडपर्वमा हिमाली च्याङ्ग्राको माग उच्च रहने गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij