नेपाल सम्वत् ११४६, कौलागाः ७, सप्तमी (१५ कार्तिक २०८३, १ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजार रुपैयाँको उत्पादन हुने जमिनमा सयपत्री फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाको बुद्धशान्तिका तीन किसान व्यावसायिक फूलखेतीमा जुटेका छन्।
बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका हुन्। ‘कृषि कम्पास’ समूह गठन गरी सुरु गरिएको उनीहरूको प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि आम्दानीको नयाँ सम्भावना बनेको छ।
समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको छ। फूलखेतीका लागि पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका किसानले यस वर्ष करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन्। उत्पादित माला बिक्रीबाट १० देखि १२ लाख रुपैयाँसम्म कारोबार गर्ने उनीहरूको लक्ष्य छ।
अहिले किसानहरू फूल टिप्ने, माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्ने काममा व्यस्त छन्। एउटा मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने भएकाले उत्पादनले बजार पाए अपेक्षित आम्दानी गर्न सकिने उनीहरूको विश्वास छ।
समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन धान उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार रुपैयाँ मात्रै हुने गरेको थियो। तर, त्यही जमिनमा सयपत्री फूलखेती गर्दा आम्दानी कैयौँ गुणा बढ्ने सम्भावना देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन्।
“यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार मात्रै हो। पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ,” न्यौपानेले भन्नुभयो।
फूलखेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ। समूहका अर्का सदस्य विनोद रिजालका अनुसार आगामी वर्ष तीन बिघा क्षेत्रफलमा सयपत्री फूलखेती विस्तार गर्ने तयारी भइरहेको छ। यस वर्षको अनुभव र बजारको मागले थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उहाँले बताउनुभयो।
फूलखेतीबाट राम्रो आम्दानी हुने सम्भावना भए पनि उत्पादनलाई सुरक्षित राख्ने र बजारसम्म पुर्याउने विषय किसानका लागि चुनौती बनेको छ। फूल टिपेपछि लामो समयसम्म ताजा राख्नुपर्ने हुन्छ। बजार व्यवस्थापन कमजोर भए वा समयमा बिक्री गर्न नसकिए लगानी जोखिममा पर्न सक्ने किसानको चिन्ता छ।
विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने समस्या हुन सक्ने भन्दै किसानले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन माग गर्दै आएका छन्।
यसै विषयलाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो। किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए।
किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुग्नुभएको थियो। उहाँले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेट गरी उत्पादन, बजारको माग र बिक्री वितरणको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो।
सो अवसरमा उहाँले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताउनुभयो।
“तपाईंहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ। प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ,” पोखरेलले भन्नुभयो, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो। पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ।”
स्थानीयसमेत रहनुभएका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालले जिल्लामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो।
उहाँका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ। किसानको बढ्दो आकर्षण र खेती विस्तारको क्रमले झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना देखिएको उहाँको भनाइ छ।
परम्परागत धानखेतीको विकल्पका रूपमा सुरु गरिएको सयपत्री फूलखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीय उत्पादन र बजारबीचको सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको छ। यद्यपि, किसानले लगानीअनुसार प्रतिफल प्राप्त गर्न उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र आयात व्यवस्थापनमा सम्बन्धित निकायको सहयोग आवश्यक देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij