Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा २२ औं पटक पसिना, नेपाली जनताको रक्षाको लागि राष्ट्र प्रमुख पौडेल र नेपाली जनताको तर्फबाट ११ गते क्षमा पूजा गर्दै

दोलखा भीमेश्वरमा २२ औं पटक पसिना, नेपाली जनताको रक्षाको लागि राष्ट्र प्रमुख पौडेल र नेपाली जनताको तर्फबाट ११ गते क्षमा पूजा गर्दै

नेपाल सम्वत् ११४४ दिल्लाथ्व, ३ (९ साउन, २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित दोलखा भीमेश्वर भगवानको शिलामा आज दिउँसो १२ः४५ देखि ३ः१३ सम्म पुनः पसिना आएको छ । यसै गरी साउन ५ गते दिउँसो १ः४७ देखि ३ः५१ सम्म पसिना आएको छ । एकछिन पसिना आउने क्रम बन्द भएपनी पुनः ४ः०५ देखि ४ः१५ सम्म पसिना थियो ।

वि.सं. १९९० देखि आजसम्मको घटनाक्रम :
वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएको पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठकोे रहेको छ । साथै वि.सं. १९९० देखि २०८१ साल साउन ५ गते शनिवारसम्म २१ औं पटक शिलामा पसिना आएको भने आज समेत २२ औं पटक पसिना आएको रेकर्ड रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

दोलखा भीमसेन (भीमेश्वर) को शिला (मूर्ति) मा पसिना र जनविश्वास भीमसेनको शिलामा पसिना आउनुकोे आफ्नै मौलिक विशेषता रहेको छ । देशभित्र देशबाहिर कुनै दुर्घटना अथवा बिघ्नबाधा वा संकट पर्नुभन्दा पूर्व भीमसेन (भिमेश्वर) को शिलामा पसिना आउँछ भन्ने विश्वास यहाँका स्थानीय बासिन्दाहरुको रहेको छ । जुन विश्वास अहिलेसम्म सत्य सावित भएको छ ।

भीमसेनको शिलामा आउने पसिनालाई देशमा संकट पर्ने भविष्यवाणीको बलीयो सूचकको रुपमा पनि लिने गरिन्छ । हुन त दोलखामा हालसम्म उपलब्ध पुराना ताम्रपत्र, भोजपत्र, ताडपत्रमा शिलामा आउने पसिनाको बारेमा उल्लेख छैन तापनि भीमेश्वरको मन्दिरको देव्रेपट्टि स्थित गदा एक अंगुल उठेको भनी वि.सं. १८३२ मा उल्लेख गरिएको पाइएको छ ।

वि.सं. १९९० सालको भूकम्प आउनुपूर्व भीमेश्वरको शिलामा पसिना आएको भन्ने यहाँका जेष्ठ नागरिक बयोबृद्ध स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।

यसै गरी बि.सं. १९९७ सालमा चार शहीदहरुलाई मृत्युदण्ड दिनुपूर्व, वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन हुनुपूर्व, वि.सं. २००७ सालमा नेपालमा प्रजातान्त्रीक क्रान्ती हुनु भन्दा पूर्व, २०११ सालमा राष्ट्रपिता त्रिभुवनको स्वर्गारोहन हुनुपूर्व, वि.सं. २०१५, २०१७ साल जनताको प्रजातन्त्र खोसिन्नु पूर्व, वि.स. २०१८ भीषण बाढी पहिरो आउनु पूर्व, वि.सं. २०२८ सालमा श्री ५ महेन्द्रको स्वर्गारोहण हुनुपूर्व, वि.सं. २०३५ साल फागुणमा आएको पसिनाले २०३६ सालको जन आन्दोलनसँग जोडिएको छ, वि.सं. २०४५ मा भूकम्प आउनु पूर्व, २०४६ सालको जनआन्दोलनपूर्व भीमेश्वरको मूर्तिमा खलखल्ती पसिना आएको कुरा स्थानीय बासिन्दाहरु बताउछन् । वि.सं. २०५७ सालको माघ महिनाको १ गते बेलुका ६ ः४० बजे र माघ १४ गते बेलुकाको ५ ः४० बजे गरी २ पटक भीमेश्वरको मूर्तिमा पसिना आएको थियो ।

यसलाई २०५८ साल जेठ १९ गते राजदरबारमा घटेको राजपरिवारका सदस्यहरुको त्रासदीपूर्ण घटनाको पूर्व सूचनाको रुपमा उभ्याएका छन् । त्यस्तै गरी २०६१ साल चैत्रमा, २०६२ पौषमा आएको पसिनालाई २०६२÷०६३ को जनआन्दोलनलाई जोडिएको छ । यसै गरी २०६४ साल माघमा आएको पसिनालाई राजतन्त्रको अन्त्य संग जोडिएको छ । यसैगरी २०७० साल मंसिर ३० गते र फागुण १३ गते दोलखा भीमेश्वरमा पसिना आएको थियो ।

जुन भिमेश्वर भगवानको पछाडी पट्टी रहेको चृडामणी ढलेकोसँग जोडिएको छ । वि.सं २०७१ साल मंसिरमा आएको पसिनालाई २०७२ साल बैशाख १२ गते र २९ गते आएको भुकम्पलाई जोडिएको छ । यसै गरी २०७४ साल असोज १० गते दिउँसो २ः५५ देखि ५ः१५ सम्म आएको थियो । जसलाई विशेष राजनिती परिवर्तन र राष्ट्रपती चयन संग जोडिएको छ । यसै गरी २०७६ साल फागुण ८ गते विहिवार विहान ६ः२८ बजे देखि ७ः२५ सम्म आएको थियो । जसलाई विश्वमा कोरोना भाईरसको संक्रमणलाई जोडिएको छ ।

यसै गरी २०७७ मंसिर ९ गते दिउँसो मध्यान्ह पूजाको लागि गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको जानकारी प्राप्त भएको थियो । जसमा दिउँसो १ः ४३ देखि २ः ५४ सम्म पसिना आएर एकछिन रोकिएको थियो फेरी निरन्तर आएर ३ः५४ सम्म आएर रोकिएको थियो । यसलाई केपि शर्मा वलीले २०७७ पौष ५ गते आईतवार प्रतिनिधी सभा बिघटन गरेको र भारत नेपाल लगाएत विश्वमा दोश्रो कोरोनाको संक्रमणको घटनालाई लिएको छ ।

यसै गरी २०७८ बैशाख २५ गते शनिबार दिउँसो १२ः१५ बजे देखि १ः३० बजेसम्म पसिना आएको थियो जसलाई तेश्रो कोरोनाको संक्रमणलाई जोडिएको छ ।

यसै गरी २०८१ साउन ५ गते शनिवार दिउँसो १ः४७ देखि ३ः५१ सम्म पसिना आएको छ । एकछिन पसिना आउने क्रम बन्द भएपनी पुनः ४ः०५ देखि ४ः१५ सम्म पसिना आएको थियो । आज २०८१ साउन ९ गते ५ दिन पछी पुनः दिउँसो १२ः४५ देखि ३ः१३ सम्म भिमेश्वर भगवानको शिलामा पसिना आएको छ । आज समेत दोलखा भिमेश्वर भगवानको शिलामा पसिना आएको २२ औं पटक भईसकेको छ ।

यी घटनाक्रमले गर्दा दोलखा भीमेश्वरको मूर्तिमा पसिना आएपछि देशभित्र केही घटना आउन सक्ने संकेत अर्थात पूर्वानुमान गर्न थालिएको छ । भीमसेनको दायाँ पट्टीबाट पसिना आयो भने राजपरिवारलाई र बायाँपट्टि पसिना आयो भने जनतालाई अनिष्ठ हुने धार्मीक मान्यता रहँदै आएको छ । यसरी भीमेश्वरको शिलामा पसिना आउँदा वरिपरिका द्रौपदी, कुन्ती, गदा र प्रवेशद्वार माथिको तोरण, क्षेत्रपाल (क्षापर) मा समेत पसिना आउंछ ।

यसरी भीमेश्वरको शिलामा ५ गते बाँया पट्टी पसिना आएको थियो भने आज पुरै शिला भरी पसिना आएको छ भनी गुठी व्यवस्थापनका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

साउन ५ गते पसिना आएपछी साउन ६ गते आईतबार राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेललाई गुठी व्यवस्थापन समितीले औपचारीक जानकारी सहीत भीमेश्वरको महाप्रसाद पु¥याईएको थियो ।

भिमेश्वर भगवानलाई पसिना आउंदा दिक्षा कर्म भएका पुजारीबाट मात्र पसिना पुछ्ने चलन छ । पसिना पुछेको रुवा र प्रसाद सहित जिल्ला प्रशासन कार्यालय मार्फत राजदरबारमा खबर पठाउने परम्परा रहेको थियो । तर हाल जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालय मार्फत राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुले सिधै पु¥याउने गरेका छन् । यसरी खबर पठाई सकेपछि राजदरबारबाट क्षमा पूजा स्वरुप बोका पूजा पठाउने चलन रहेको थियो भने हाल यसलाई राष्ट्रपतीको कार्यालयले क्षमा पुजा पठाउने गरिएको छ ।

यसै सन्दर्भमा भिमेश्वरको शिलाको पसिना पुछिएको रुवा महाप्रसाद यही २०८१ साल श्रावण ६ गते आईबार विहानको ११ः०० बजे राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेललाई शितल निवासमा पु¥याईएको थियो । सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेलले रुवा सहीतको महाप्रसाद ग्रहण संगै दोलखा भीमेश्वरको शिलामा पसिना आएको औपचारीक जानकारी तथा विधी विधानको बारेमा व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

राष्ट्रपतीले राष्ट्रपती रामचन्द्र पौडेलले राष्ट्रप्रमुखको तर्फबाट यही २०८१ साल साउन ११ गते शुक्रवारका दिन विहान शुभसाईतमा शंकट मोचन एवं प्राणि जगतको कल्याणको लागि होम यज्ञ, ग्रहशान्ती, मंगल शान्ती, लगायत लघुरुद्री पूजा सहीत क्षमापूजा गर्ने कार्यक्रम रहेको र उक्त क्षमापूजा संगै जनस्तरबाट पनी क्षमापूजाको कार्यक्रम रहेकोले उपस्थितीको लागि आग्रह सहीत व्यवस्थापन समितीको तर्फबाट हिजो मिती २०८१ साल साउन ८ गते एक विज्ञप्ती जारी गरि उपस्थितीको लागि अनुरोध गरिएको थियो ।
२०८१ साउन ५ गते भिमेश्वर शिलामा पसिना https://bampijhyala.com/2024/07/20/89113/ २०८१ साउन ६ गते राष्ट्रपतीद्वारा महाप्रसाद ग्रहण https://bampijhyala.com/2024/07/21/89213/ २०८१ साउन ८ गते राष्ट्रपतीद्वारा र नेपाली जनताको तर्फबाट क्षमा पूजाको सूचना सार्वजनिक https://bampijhyala.com/2024/07/23/89272/

त्रिभुवन विमानस्थल विमान दुर्घटना १८ जनाको ज्यान गयो :
आज २०८१ साउन ९ गते बुधबार बिहान सौर्य एयरको सीआरजे ७०० ९ एन–एएमई जहाज मर्मतपछि गरिने पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाँदै थियो । तर त्रिभुवन विमानस्थलबाट उडेको २० सेकेण्डपछि बिहान ११ बजेर ११ मिनेटमा जहाज ढलपल–ढलपल गर्न थाल्यो । हेर्दाहेर्दै दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुग्यो ।

दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते छन् ।

जहाजबाट पहिले धुवाँ आएको र त्यसपछि आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जहाज आगलागी हुँदा पड्किएको ठूलो आवाज पनि आएको थियो । जहाज खसेको ठाउँ अप्ठेरो हुनाले दमकल पुगेर आगो निभाउन ढिला भएको थियो । जहाजको सबैजसो भाग जलेर काम नलाग्ने भएको छ ।

बुधबार काठमाडौं उपत्यकाको मौसम सफा थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । त्यसैले जहाज के कारण दुर्घटना भयो भन्ने खुलेको छैन ।

अहिले त्रिभुवन विमानस्थल छेउछाउ निर्माण कार्यहरु भइरहेका छन् । जहाज बजारिएको स्थल वरपर निर्माण सामग्रीहरू देखिन्छन् । जहाजलाई ती निर्माण सामग्रीले उछिट्टिनबाट रोकेको पाइएको छ ।

यस दुखःद् घडीमा जहाज दुर्घटनामा परि दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
साथै घाईतेको यथासिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत परिवारको सदस्यहरुलाई शोकलाई शक्ति बदल्न बल प्रदान गरोस् भनी भगवान संग प्रार्थना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार