दोलखा भीमेश्वरमा २१ औं पटक पसिना
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः १४, (०५ साउन , २०८१) शनिबार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा आज दिउँसो १ः४७ देखि पसिना आएको छ । दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठ र कर्मचारी हरिदर्शन जोशीले अहिलेसम्म पसिना आईरहेको छ भनी बताउनु भयो ।
वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठकोे भनाई रहेको छ ।
दोलखा भीमसेन (भीमेश्वर) को शिला (मूर्ति) मा पसिना र जनविश्वास भीमसेनको शिलामा पसिना आउनुकोे आफ्नै मौलिक विशेषता रहेको छ । देशभित्र देशबाहिर कुनै दुर्घटना अथवा बिघ्नबाधा वा संकट पर्नुभन्दा पूर्व भीमसेनको शिलामा पसिना आउँछ भन्ने विश्वास यहाँका स्थानीय बासिन्दाहरुको रहेको छ ।
भीमसेनको शिलामा आउने पसिनालाई देशमा संकट पर्ने भविष्यवाणीको बलीयो सूचकको रुपमा पनि लिने गरिन्छ । हुन त दोलखामा हालसम्म उपलब्ध पुराना ताम्रपत्र, भोजपत्र, ताडपत्रमा शिलामा आउने पसिनाको बारेमा उल्लेख छैन तापनि भीमेश्वरको मन्दिरको देव्रेपट्टि स्थित गदा एक अंगुल उठेको भनी वि.सं. १८३२ मा उल्लेख गरिएको पाइएको छ ।
वि.सं. १९९० सालको भूकम्प आउनुपूर्व भीमेश्वरको शिलामा पसिना आएको भन्ने यहाँ का बयोबृद्ध स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।
यसै गरी बि.सं. १९९७ सालमा चार शहीदहरुलाई मृत्युदण्ड दिनुपूर्व, वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन हुनुपूर्व, वि.सं. २००७ सालमा नेपालमा प्रजातान्त्रीक क्रान्ती हुनु भन्दा अगाडी, २०११ सालमा राष्ट्रपिता त्रिभुवनको स्वर्गारोहन हुनुपूर्व, वि.सं. २०१५, २०१७ साल जनताको प्रजातन्त्र खोएिको, वि.स. २०१८ भीषण बाढी पहिरो, वि.सं. २०२८ सालमा श्री ५ महेन्द्रको स्वर्गारोहण हुनुपूर्व, वि.सं. २०३५ साल फागुणमा आएको पसिनाले २०३६ सालको जन आन्दोलन, वि.सं. २०४५ मा भूकम्प आउनु पूर्व, २०४६ सालको जनआन्दोलनपूर्व भीमेश्वरको मूर्तिमा खलखल्ती पसिना आएको कुरा स्थानीय बासिन्दाहरु बताउछन् । वि.सं. २०५७ सालको माघ महिनाको १ गते बेलुका ६ ः४० बजे र माघ १४ गते बेलुकाको ५ ः४० बजे गरी २ पटक भीमेश्वरको मूर्तिमा पसिना आएको थियो ।
यसलाई २०५८ साल जेठ १९ गते राजदरबारमा घटेको राजपरिवारका सदस्यहरुको त्रासदीपूर्ण घटनाको पूर्व सूचनाको रुपमा उभ्याएका छन् । त्यस्तै गरी २०६१ साल चैत्रमा, २०६२ पौषमा आएको पसिनालाई २०६२÷०६३ को जनआन्दोलनलाई जोडिएको छ । यसै गरी २०६४ साल माघमा आएको पसिनालाई राजतन्त्रको अन्त्य संग जोडिएको छ । यसैगरी २०७० साल मंसिर ३० गते र फागुण १३ गते दोलखा भीमेश्वरमा पसिना आएको थियो ।
भिमेश्वर भगवानको पछाडी पट्टी रहेको चृडामणी ढलेकोसँग जोडिएको छ । वि.सं २०७१ साल मंसिरमा आएको पसिनालाई २०७२ साल बैशाख १२ गते र २९ गते आएको भुकम्पलाई जोडिएको छ । यसै गरी २०७४ असोज १० गते दिउँसो २ः५५ देखि ५ः१५ सम्म आएको थियो जसलाई विशेष राजनिती परिवर्तन र राष्ट्रपती चयन संग जोडिएको छ । यसै गरी २०७६ साल फागुण ८ गते विहिवार विहान ६ः२८ बजे देखि ७ः२५ सम्म आएको थियो । विश्वमा कारोना भाईरसको संक्रमणलाई जोडिएको छ ।
यसै गरी २०७७ मंसिर ९ गते दिउँसो मध्यान्ह पूजाको लागि गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको जानकारी प्राप्त भएको छ । दिउँसो १ः ४३ देखि २ः ५४ सम्म पसिना आएर एकछिन रोकिएको थियो फेरी निरन्तर आएर ३ः५४ सम्म आएर रोकिएको छ । यसलाई केपि शर्मा वलीले २०७७ पौष ५ गते आईतवार प्रतिनिधी सभा बिघटन गरेको र भारत नेपाल लगाएत विश्वमा दोश्रो कोरोनाको संक्रमणको घटनालाई लिएको छ । यसै गरी २०७८ बैशाख २५ गते शनिबार दिउँसो १२ः१५ बजे देखि १ः३० बजेसम्म पसिना आएको थियो जसलाई तेश्रो कोरोनाको संक्रमणलाई जोडिएको छ ।
यसरी भीमेश्वको शिलामा आएको पसिनाले देशमा के अनिष्ट गर्ने हो भनी स्थानिय वासिन्दाको भनाई रहेको छ । यसरी यो पटकसम्म दोलखा भीमेश्वरमा २१ औं पटक पसिना आएको छ । यी घटनाक्रमले गर्दा दोलखा भीमेश्वरको मूर्तिमा पसिना आएपछि देशभित्र केही घटना आउन सक्ने संकेत अर्थात पूर्वानुमान गर्न थालिएको छ । भीमसेनको दायाँ पट्टीबाट पसिना आयो भने राजपरिवारलाई र बायाँपट्टि पसिना आयो भने जनतालाई अनिष्ठ हुने धार्मीक मान्यता रहँदै आएको छ । यसरी भीमेश्वरको शिलामा पसिना आउँदा वरिपरिका द्रौपदी, कुन्ती, गदा र प्रवेशद्वार माथिको तोरण, क्षेत्रपाल (क्षापर) मा समेत पसिना आउंछ ।
यसरी पसिना आउंदा दिक्षा कर्म भएका पुजारीबाट मात्र पसिना पुछ्ने चलन छ । पसिना पुछेको रुवा र प्रसाद सहित जिल्ला प्रशासन कार्यालय मार्फत राजदरबारमा खबर पठाउने परम्परा रहेको थियो भने हाल जिल्ला प्रशासन कार्यालय रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुले सिधै पु¥याउने गरेका छन् ।
यसरी खबर पठाई सकेपछि राजदरबारबाट क्षमा पूजा स्वरुप बोका पूजा पठाउने चलन रहेको थियो भने हाल यसलाई राष्ट्रपतीको कार्यालयले क्षमा पुजा पठाउने गरिएको छ भनी दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष एंव पूर्व वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई रहेको छ ।