Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

जिरीमा इन्फ्लुएन्जा ए को संक्रमण फैलियो, तीन दिनका लागि सबै विद्यालय बन्द

जिरीमा इन्फ्लुएन्जा ए को संक्रमण फैलियो, तीन दिनका लागि सबै विद्यालय बन्द

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको जिरी नगरपालिका क्षेत्रमा इन्फ्लुएन्जा ए (Influenza A) को संक्रमण तीव्र रूपमा फैलिन थालेपछि नगरपालिकाले तीन दिनका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जिरी अस्पतालका बिरामी तथा कर्मचारीमा उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी तथा जिउ दुख्ने र अत्यधिक थकान महसुस हुनेलगायतका लक्षण देखिएपछि नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो। प्रयोगशालाबाट प्राप्त परीक्षण नतिजामा इन्फ्लुएन्जा ए पोजेटिभ देखिएपछि नगर क्षेत्रमा संक्रमण फैलिएको पुष्टि भएको नगरपालिकाले जनाएको छ।

संक्रमण थप फैलिन नदिन जिरी नगरपालिकाको नगरस्तरीय द्रुत प्रतिकार्य समितिको बैठकले भदौ ३ गतेदेखि भदौ ६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उक्त अवधिमा पठनपाठन, परीक्षा सञ्चालन तथा भीडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरपालिकाले आग्रह गरेको छ। विद्यालयहरू भदौ ७ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै जिरी अस्पताल प्रशासनले नगरवासीलाई विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। अस्पतालले खोक्दा वा हाच्छिउँ गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, साबुनपानीले नियमित रूपमा हात धुन, बिरामी हुँदा आराम गर्न तथा अरू मानिसबाट दूरी कायम गर्न आग्रह गरेको छ।

त्यस्तै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजान र प्रशस्त झोलिलो पदार्थ तथा पौष्टिक खाना खान अस्पतालले अनुरोध गरेको छ।

घरपरिवार वा टोलछिमेकमा कसैलाई उच्च ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा जिउ दुख्ने, अत्यधिक थकान महसुस हुनेलगायतका लक्षण देखिएमा तत्काल जिरी अस्पतालमा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गराउन प्रशासन शाखाले आग्रह गरेको छ। आवश्यक परे जिरी अस्पतालको ९८५४०४५११३ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

नगरपालिकाले संक्रमण नियन्त्रणका लागि विद्यालय बन्दसँगै स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन तथा लक्षण देखिएका व्यक्तिले समयमै स्वास्थ्य परीक्षण र उपचार गराउन नगरवासीलाई अनुरोध गरेको छ।

jiri-1.jpg
undefined

 

jiri2.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार