
नेपाल सम्वत् ११४४ तछलागाः ९, नवमी, (१६ असार, २०८१) आइतबार, बाँपिझ्याला । नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन्। मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा बौद्ध स्तुपा प्राङ्गणमा धान दिवस एवं रोपाई जात्रा मनाएको हो।
केहीले हातमा धानको रोपो लिएर त कोहीले बाउसेको भूमिका निर्वाह गरे। मानो रोपेर मुरी उब्जाउने असार महिनाको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। यो वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखिएको थियो।
रोपाई जात्रा नेपालको धान रोप्ने मौसमको एक जीवन्त उत्सव हो।

मायाको पहिचान नेपालले वार्षिक क्यालेन्डरमा असार १५ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा महोत्सव आयोजना गर्ने यसअघि नै सार्वजनिक गरेको थियो।
असारे गीतमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले रोपाई जात्रा मनाइरहँदा हेर्ने दर्शकको भिड नै लाग्यो। कतिपय दर्शकहरू समुदायका सदस्यहरूसँग असारे गीतमा नाचे। अध्यक्ष माया गुरुङ्गले रोपो दिइन। समुदायका सदस्यहरूले असारे गीतको भाकामा ताल मिलाएर नाच प्रस्तुत गरे।
रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले देशमा राम्रो खेती उत्पादन होस, वर्षा राम्रो होस्, सबैमा शुभ होस भनेर धान दिवस एवं रोपाई जात्रा मनाएको बताए।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले पहिलो पटक धान दिवस एवं रोपाई जात्रा मनाउनु लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि सौभाग्यको कुरा भएको बताए। ‘हजारौँ वर्षदेखि छोरा मान्छेले छोरी मान्छेको लुगा लगाएर मनाउने चाडपर्व आज हामीले पनि मनाएका हौँ,’पन्तले भने,‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय हाम्रो समाजभित्रका हुन्।
हामीले पनि समाजमा योगदान गर्न सक्छौ।’ स्थानीय परम्परालाई निरन्तरता दिँदै रोपाई जात्रा मनाएको मायाको पहिचान नेपालले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij