Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

घाटाको डिडिसीमा कायापलट : दैनिक ८० हजार लिटर दूध बिक्री, ९० लाखको कारोबार

घाटाको डिडिसीमा कायापलट : दैनिक ८० हजार लिटर दूध बिक्री, ९० लाखको कारोबार

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । वर्षौंदेखि घाटा व्यहोर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) पछिल्लो समय व्यवस्थापन सुधार, अनावश्यक खर्च कटौती र बिक्रीमा भएको वृद्धिका कारण नाफातर्फ उन्मुख भएको छ। स्पष्ट नीति, खर्च व्यवस्थापन र इमान्दारितापूर्वक काम गर्ने हो भने लामो समयदेखि घाटामा रहेको सरकारी संस्थानलाई पनि छोटो समयमै सुधार गर्न सकिन्छ भन्ने उदाहरण डिडिसीले प्रस्तुत गरेको व्यवस्थापनको दाबी छ।

प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत डिडिसीसँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेपछि संस्थानको पछिल्लो आर्थिक अवस्थाबारे चासो बढेको छ। अहिले डिडिसी कसरी दैनिक नाफा आर्जन गर्न सक्ने अवस्थामा पुग्यो भन्ने विषयमा संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग गरिएको कुराकानीका आधारमा डिडिसीको पछिल्लो अवस्था यस्तो देखिन्छ।

महाप्रबन्धक पाण्डेका अनुसार डिडिसीले हाल ४४ जिल्लाबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ। विभिन्न सङ्कलन केन्द्रमार्फत किसानबाट सङ्कलन भएको दूधमध्ये संस्थानले दैनिक करिब ८० हजार लिटर दूध बिक्री गरिरहेको छ। सङ्कलनभन्दा बिक्री बढी हुनुको कारण विगतदेखि मौज्दातमा रहेको पाउडर दूध तथा बटरको प्रयोग र प्रशोधनबाट बिक्रीयोग्य उत्पादन बढाउनु रहेको उहाँको भनाइ छ।

पाण्डेका अनुसार नयाँ व्यवस्थापनले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा डिडिसीसँग ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो। अहिले पाउडर दूधको मौज्दात घटेर करिब १४० टन र बटरको मौज्दात १३५ टन मा झरेको छ।

“मौज्दात रहेको दूध र बटरको खपत बढाउँदा बिक्री पनि बढेको छ,” पाण्डेले भन्नुभयो।

दूध बिक्रीबाटै दैनिक करिब ८ लाख ९१ हजारको प्रारम्भिक मार्जिन

डिडिसीले किसानबाट औसत चार प्रतिशत फ्याट भएको दूध खरिद गर्छ। उक्त दूधलाई प्रशोधन तथा ‘स्ट्यान्डर्डाइज’ गरी विभिन्न फ्याट प्रतिशतका दूध बजारमा बिक्री गरिन्छ।

हाल बजारमा डिडिसीले मुख्यतः तीन प्रतिशत र पाँच प्रतिशत फ्याट भएको दूध बिक्री गर्दै आएको छ। प्रतिलिटर १०० रुपैयाँ पर्ने तीन प्रतिशत फ्याटयुक्त दूधको दैनिक बिक्री औसत ७३ हजार लिटर रहेको छ। त्यस्तै प्रतिलिटर १३० रुपैयाँ पर्ने पाँच प्रतिशत फ्याटयुक्त दूधको दैनिक बिक्री औसत ७ हजार लिटर रहेको संस्थानले जनाएको छ।

डिडिसीले किसानसँग प्रतिलिटर करिब ६६ रुपैयाँमा दूध खरिद गर्छ। ढुवानी, सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा प्रारम्भिक लागत करिब ७० रुपैयाँ पुग्छ। तर किसानबाट खरिद गरिएको दूधमा रहेको अतिरिक्त फ्याट छुट्टै प्रशोधन गरी बटर तथा घिउ उत्पादनमा प्रयोग हुने भएकाले दूधको वास्तविक लागत प्रतिलिटर करिब सात रुपैयाँले घट्ने डिडिसीको भनाइ छ। यसरी दूधको प्रभावकारी खरिद लागत प्रतिलिटर करिब ६४ रुपैयाँ पर्ने बताइएको छ।

त्यसपछि प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत अधिकतम ८२ रुपैयाँ प्रतिलिटर पुग्ने संस्थानको हिसाब छ।

डिडिसीले उक्त दूध डिलरलाई प्रतिलिटर ९२ रुपैयाँमा बिक्री गर्छ। यसरी प्रतिलिटर करिब १० रुपैयाँको प्रारम्भिक मार्जिन रहने संस्थानको भनाइ छ।

दैनिक ७३ हजार लिटर तीन प्रतिशत फ्याटयुक्त दूध बिक्री हुँदा यसबाट मात्रै करिब ७ लाख ३० हजार रुपैयाँ दैनिक प्रारम्भिक मार्जिन हुने देखिन्छ।

त्यस्तै पाँच प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत प्रतिलिटर करिब ९७ रुपैयाँ पर्ने र डिडिसीले डिलरलाई प्रतिलिटर १२० रुपैयाँमा बिक्री गर्ने गरेको छ। उपभोक्ताले भने प्रतिलिटर १३० रुपैयाँमा खरिद गर्छन्। यसबाट प्रतिलिटर करिब २३ रुपैयाँको प्रारम्भिक मार्जिन कायम हुने र दैनिक ७ हजार लिटर बिक्रीबाट करिब १ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने संस्थानको दाबी छ।

यसरी तीन प्रतिशत र पाँच प्रतिशत फ्याटयुक्त दूधको बिक्रीबाट मात्रै डिडिसीले दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँको प्रारम्भिक मार्जिन प्राप्त गरिरहेको छ।

तर यो रकम संस्थानको अन्तिम खुद नाफा भने होइन। बटर, घिउ, दही, आइसक्रिम, मोही तथा अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी र खर्चलाई समेत समेटेर मात्र वास्तविक नाफा–नोक्सान निर्धारण हुन्छ।

दूध बिक्री ६० हजारबाट ८० हजार लिटर पुग्यो

डिडिसीका अनुसार असार मसान्तसम्म संस्थानले दैनिक औसत ६० देखि ६२ हजार लिटर दूध बिक्री गर्दै आएको थियो। तर साउनको पहिलो सातादेखि दैनिक औसत बिक्री बढेर ८० हजार लिटर पुगेको छ।

बिक्री परिमाण बढेसँगै संस्थानको दैनिक बिक्री आम्दानी पनि करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको बताइएको छ। यसबाट प्राप्त अतिरिक्त रकमलाई किसानको बक्यौता भुक्तानीमा प्रयोग गरिएको डिडिसीको भनाइ छ।

हाल डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत र अन्य दुग्धजन्य पदार्थको हिस्सा करिब १५ प्रतिशत रहेको महाप्रबन्धक पाण्डेले बताउनुभयो।

विगतमा बटर, पाउडर दूध, घिउलगायत अन्य उत्पादनको बिक्री कमजोर हुँदा संस्थान दूध बिक्रीमै अत्यधिक निर्भर थियो। अहिले मौज्दातमा रहेका उत्पादनलाई बजारमा पठाउने, बिक्री बढाउने र नयाँ बिक्री केन्द्र विस्तार गर्ने कामले आम्दानी बढाउन सहयोग गरेको डिडिसीको भनाइ छ।

किसानको बक्यौता ७२ करोडबाट दुई–तीन महिनामा सीमित

डिडिसीले आम्दानी बढेसँगै किसानको दूधको बक्यौता भुक्तानीमा पनि सुधार भएको जनाएको छ।

नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा किसानको करिब आठ महिनाको दूधको भुक्तानी अर्थात् ७२ करोड रुपैयाँ बक्यौता रहेको थियो। अहिले उक्त बक्यौता घटेर करिब दुईदेखि तीन महिनामा सीमित भएको संस्थानले जनाएको छ।

नयाँ व्यवस्थापन आएपछि डिडिसीले हालसम्म किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। उक्त रकममा सरकारबाट प्राप्त अनुदान समावेश नभएको संस्थानको दाबी छ।

अब किसानको भुक्तानीलाई बढीमा एक महिनाभित्र सीमित गर्ने लक्ष्य राखेर काम भइरहेको महाप्रबन्धक पाण्डेले बताउनुभयो। किसानलाई समयमै भुक्तानी गर्न नसक्दा दूध सङ्कलन तथा संस्थानप्रतिको विश्वासमा असर पर्ने भएकाले नियमित भुक्तानीलाई व्यवस्थापनले प्राथमिकतामा राखेको जनाएको छ।

अनावश्यक खर्च कटौती र ऋण भुक्तानी

डिडीसीका अनुसार खर्च व्यवस्थापन पनि संस्थानको आर्थिक सुधारको प्रमुख आधार बनेको छ। अनावश्यक खर्च कटौती, कर्मचारीका केही सुविधामा पुनरावलोकन, लागत नियन्त्रण, बिक्री वृद्धि तथा बक्यौता असुलीलाई एकसाथ अघि बढाइएको संस्थानको भनाइ छ।

महाप्रबन्धक पाण्डेका अनुसार यस अवधिमा संस्थानले आम्दानीबाटै करिब तीन करोड रुपैयाँ ऋणसमेत भुक्तानी गरेको छ। त्यस्तै निजी क्षेत्रसँग समन्वय गरी काठमाडौं उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याइएको छ। प्रत्यक्ष बिक्रीको दायरा बढाउनुका साथै बजारमा डिडिसीका उत्पादनको पहुँच विस्तार गर्न यस्ता काउन्टर उपयोगी हुने संस्थानको अपेक्षा छ।

पुराना बक्यौता तथा बजारबाट उठ्न बाँकी रकम असुलीमा समेत कडाइका साथ काम भइरहेको डिडिसीले जनाएको छ।

४५ सङ्कलन केन्द्रबाट दूध सङ्कलन

हाल डिडिसीले देशभर करिब ४५ वटा सङ्कलन केन्द्रमार्फत किसानबाट दूध सङ्कलन गरिरहेको छ। बालाजु मातहत मात्रै करिब १८ वटा सङ्कलन केन्द्र रहेको संस्थानले जनाएको छ।

किसानबाट नियमित दूध सङ्कलन, प्रशोधन केन्द्रसम्म सुरक्षित ढुवानी, उत्पादन लागत नियन्त्रण र बजारमा बिक्रीको सन्तुलन कायम गर्न सके संस्थानको आर्थिक अवस्था अझ सुधार गर्न सकिने व्यवस्थापनको विश्वास छ।

डिडिसीको पछिल्लो सुधारमा दूधको बिक्री मात्रा बढ्नुका साथै मौज्दातमा रहेका पाउडर दूध र बटरको प्रयोग, अन्य दुग्धजन्य पदार्थको बिक्री, खर्च नियन्त्रण र बजार विस्तारलाई प्रमुख कारणका रूपमा हेरिएको छ।

यद्यपि दैनिक बिक्रीबाट देखिएको प्रारम्भिक मार्जिनलाई मात्र आधार बनाएर संस्थान पूर्ण रूपमा नाफामा गएको निष्कर्ष निकाल्न भने बाँकी नै छ। प्रशासनिक खर्च, पुरानो ऋण, ब्याज, मेसिन तथा पूर्वाधारको खर्च, कर्मचारीसम्बन्धी दायित्व, कर तथा अन्य सञ्चालन खर्चसमेत समेटेर डिडिसीको वास्तविक खुद नाफा निर्धारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार