नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ८ अष्ठमी (४ भाद्र २०८३, २० अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । संघीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आगामी भदौ ८ गतेका लागि तय भएको छ भने राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने भएकाले आज एकै दिन धेरै समितिका बैठक राखिएका हुन्।
अर्थसमितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’का विषयमा होटल एसोसिएसन नेपाललगायत पर्यटन क्षेत्रका सरोकारवाला निकायसँग छलफल गरिनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त विभिन्न उजुरीका सम्बन्धमा छलफल हुनेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ।
पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम–कारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिने कार्यक्रम छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गरिनेछ।
यसैगरी, सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यसूची रहेको छ।
यसरी आज संसद्का विभिन्न समितिमा विधेयक, सुशासन, वैदेशिक सहायता, कृषि, पर्यटन, पूर्वाधार तथा सार्वजनिक सरोकारका विषयमा एकैपटक छलफल हुँदैछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij