Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आमाले बनाउँछ थरीथरीको अचार, छोरी चारपांग्रे स्कुटर चढेर घरघर पुर्‍याउँछिन्

आमाले बनाउँछ थरीथरीको अचार, छोरी चारपांग्रे स्कुटर चढेर घरघर पुर्‍याउँछिन्

'दुई वर्ष अघिसम्म स्कुटर गुडाउन निकै डर लाग्थ्यो। तर अहिले अचार बोकेर काठमाडौं उपत्यकाभरि डुल्छु।'

रूपा शारीरिक अपांगता भएकी व्यक्ति हुन्। बैसाखीको सहायताले हिँडडुल गर्छिन्। चारपांग्रे स्कुटर चलाउँछिन्। दुई वर्ष भयो, उनी व्यवसायी पनि बनेकी छन्। उनकी आमा कुमारी अर्याल ललितपुरको शान्तिचोकस्थित आफ्नै घरमा अनेक थरीका अचार बनाउँछिन्। आमाले बनाएको अचार अरूका भान्सासम्म पुर्‍याउने काम रूपाको हो।

'आमाले अचार बनाउनुहुन्छ, म स्कुटरमा राखेर डेलिभरी गर्छु,' ३२ वर्षीया रूपाले भनिन्।

कामजस्तै ब्रान्डको नाम पनि उनीहरूले 'आमाछोरी अचार' राखेका हुन्।

शारीरिक अपांगता भएकी छोरीलाई आत्मनिर्भर बनाउन र उनलाई खुसी राख्न व्यवसाय थालेको कुमारी बताउँछिन्।

'छोरीलाई सानैमा शारीरिक रूपमा अशक्तता देखियो। उनलाई हौसला र साथ दिनु हाम्रो कर्तव्य हो। उनकै खुसीका लागि यो व्यवसाय थालेका हौं,' कुमारीले भनिन्।

परिवारका सदस्यहरूले आवश्यकता अनुसार काममा सघाउँछन्। हरेक दिन बिहान बजारबाट आवश्यक सामान ल्याइदिने काम कुमारीका श्रीमान भिमको हो।

आमाछोरी अचार ब्रान्ड अन्तर्गत माछा, मासु, बदाम, तिल, टिमुर र मेथीको अचार बन्छ। सबै किसिमको अचार बनाउने तरिका मिल्दोजुल्दो भएको उनीहरू बताउँछन्।

बदामको अचार बनाउँदा काँचो बदाम राम्ररी तेलमा भुट्नुपर्छ। त्यसपछि बाहिर निकालेर आवश्यक मात्रामा मसला राख्नुपर्छ। मसला राम्ररी मिल्न केही बेर यसै छाड्नुपर्छ।

चिकेन अचार बनाउँदा बोनलेस (हड्डी नभएको) चिकेन राम्ररी पखालेर ससानो टुक्रा बनाउनुपर्छ। त्यसलाई तेलमा तार्नुपर्छ र आवश्यक मसला राखेर केही बेर यसै छाड्नुपर्छ।

अचारको मसला केही भिन्न हुन्छ। अचार स्वादिलो बनाउने मसलाले नै हो। सबै अचारमा लसुन र खुर्सानी मिलाइएको हुन्छ।

अचार तयार भएपछि बट्टामा राखेर ब्रान्डको नामसहित विवरण भएको स्टिकर टाँसिन्छ र बजारमा पठाइन्छ। बदाम अचार १५० ग्रामको २५० रूपैयाँ र २५० ग्रामको चार सय रूपैयाँ पर्छ। माछाको अचार सय ग्रामको २५० रूपैयाँ र दुई सय ग्रामको पाँच सय रूपैयाँ छ। चिकेन अचार दुई सय ग्रामको ५५० रूपैयाँ हो। तिलको अचार सय ग्रामको १५०, दुई सय ग्रामको तीन सय र टिमुरको अचार १७५ ग्रामको २५० रूपैयाँ पर्छ। त्यस्तै मेथी अचारको मूल्य १७५ ग्रामको २५० रूपैयाँ छ।

'सबै अचार खाना र खाजामा मिल्छ। माछाको र मासुको अचार खानासँग निकै स्वादिष्ट हुन्छ। बदाम र तिलको अचार उसिनेको आलु, काँक्रो आदिमा पनि खान मिल्छ,' रूपाले भनिन्, 'टिमुरको अचार खाना र चाउचाउ, थुक्पा जस्ता खाजाका लागि विशेष हुन्छ।'

सबै जसो अचार ६ महिनासम्म राख्न सकिने उनको भनाइ छ।

हरेक मंगलबार ललितपुरको भनिमण्डलमा लाग्ने हाटमा आमाछोरी अचारको स्टल राखिन्छ। स्टल राख्न आमाछोरी साताभर व्यस्त रहन्छन्।

'स्टलबाट राम्रो व्यापार हुन्छ। एक दिनमा १० हजार रूपैयाँसम्मको बिक्छ,' रूपाले भनिन्, 'अनलाइन र फोनमार्फत आउने अर्डरमा आफैं डेलिभरी गर्छौं।'

डेलिभरी गर्ने जिम्मेवारी रूपाको हो। उनलाई यसरी अचार बिक्री गर्न रातो चारपांग्रे स्कुटरले साथ दिन्छ। अचार जति धेरै अर्डर भयो, रूपाको खुसी त्यति नै बढ्छ।

'उपभोक्ताहरूको प्रतिक्रिया निकै राम्रो छ। कतिपय उपभोक्ताले भने मेरो शारीरिक अवस्थामा पनि ध्यान दिन्छन्,' उनले भनिन्।

उनका अनुसार अर्डर गर्नेहरू डेलिभरीमा उनलाई देखेर अलिक संवेदनशील हुन्छन्। यसबाट कहिलेकाहीँ उनको व्यापारमा पनि असर पर्ने गरेको छ।

'डेलिभरीमा जाँदा तपाईंलाई समस्या हुनेरहेछ भन्नुहुन्छ। मेरो अवस्था देखेर अप्ठ्यारो लागेर होला,' रूपा भन्छिन्, 'त्यसपछि त उही मान्छेले अर्डर गर्नुहुन्न।'

यस्तो अवस्थाबाट उनी हतोत्साही भने छैनन्।

उनले अनलाइन बजार 'दराज' सँग सहकार्य गरेकी छन्। दाङ, सुर्खेत, बुटवल, भैरहवा, इटहरी र विराटनगर लगायतका ठाउँबाट पनि अर्डर आउँछ। उपत्यकाबाहिरको डेलिभरी कुरियरमार्फत हुन्छ।

आमाछोरी अचार विदेशमा पनि पुगेको छ। हङकङ, जापान, अमेरिका, इजरायल, क्यानडा, बेलायत लगायत मुलुकमा पठाइएको उनी बताउँछिन्। सबैतिरबाट राम्रो प्रतिक्रिया आएको र माग पनि बढेको उनले बताइन्।

बजारको प्रतिक्रियाले उत्साही रूपा अब पसल खोल्ने सोचमा छिन्।

रूपा २०४८ सालमा म्यानमारमा जन्मेकी हुन्। जन्मिँदा उनको शरीरमा समस्या थिएन। दुई वर्षपछि भने स्वास्थ्यमा समस्या देखियो। उपचार लागेन। दुवै खुट्टा निष्क्रिय भए।

'म अरू बच्चासरह बामे सर्ने, पाइला चाल्ने गर्थेँ रे। दुई वर्षको छँदा अत्यधिक ज्वरो आएपछि उपचारकै क्रममा खुट्टा चल्न छाडेको रहेछ,' उनले भनिन्, 'म्यानमारकै एउटा अस्पतालमा उपचारका क्रममा एक सिकारू स्वास्थ्यकर्मीले सुई लगाइदिएपछि बिस्तारै खुट्टा चल्न छाडेको रे।'

नेपाल आउँदा उनी चार वर्ष उमेरकी थिइन्। उनको दुईपटक खुट्टाको शल्यक्रिया गरियो। दोस्रो शल्यक्रिया १६ वर्षको उमेरमा भएको थियो। त्यसपछि भने उनी बैसाखी टेकेर हिँड्न सक्ने भएकी हुन्।

'पहिला त घिस्रेर हिँड्नुपर्थ्यो, अरूको सहारा चाहिन्थ्यो। अहिले बैसाखीले हिँड्न सक्छु,' उनले भनिन्।

रूपाको रूचि समाजसेवामा पनि छ। हाल उनी स्नातक तहमा पढ्दैछिन्। बिहान क्याम्पस जान्छिन्। दिउँसो अचार व्यापार छँदैछ।

व्यवसाय सुरू गर्नुअघि उनी एक गैरसरकारी संस्थामा काम गर्थिन्। कोभिडका कारण लकडाउन भएपछि संस्थाबाट बाहिरिनुपर्ने अवस्था भयो। उनी बेरोजगार भइन्। स्थिति सामान्य बन्दै गएपछि जागिरको खोजीमा निकै भौंतारिइन्।

'जागिर दिनुभन्दा पनि धेरैले विचरा पात्र बनाइदिन्थे। कहिलकाहीँ निराश हुन्थेँ तर हिम्मत हारिनँ,' उनले भनिन्, 'शारीरिक रूपमा अशक्त भएकै कारण काम पाउन मुस्किल भयो। थुप्रै अफिसले अन्तर्वार्ता लिए तर काम दिएनन्।'

रोजगारी खोजीकै क्रममा उनले ब्युटीपार्लरको काम सिकिन्। तर बैसाखी टेकेर उभिनुपर्ने भएकाले उनलाई काम सहज भएन।

समय यसै चल्दै थियो। एक दिन उनका दुई साथी घरमा आए। आमाले बनाएको अचार खुब मन पराएर खाए। ती साथीहरूले रूपालाई अचार बनाएर बेच्न सुझाए। सुझाव राम्रै हो कि जस्तो लाग्यो।

'आमा सधैं अचार बनाउनुहुन्थ्यो। त्यसलाई व्यावसायिक बनाउने सोच थिएन,' उनले भनिन्, 'साथीहरूले सुझाव दिएपछि त्यसबारे योजना बनायौं।'

रूपालाई परीक्षण गर्ने विचार आयो। उनले एक किलो बदाम किनिन्। आमाले अचार बनाइन्। रूपाले सय ग्रामका दरले १० वटा बट्टामा अचार प्याक गरिन्। नख्खु तरकारी बजारमा बेच्न राखिन्।

'त्यो १० बट्टा अचार एकै दिनमा बिक्री भयो। एक हजार रूपैयाँ आम्दानी भयो,' रूपाले व्यवसायको पहिलो खुड्किलो सुनाइन्।

यसपछि उनी उत्साहित भइन्। यसलाई व्यवसाय बनाउन सकिन्छ भन्ने हिम्मत भयो। बजारबाट विभिन्न ब्रान्डका अचार अर्डर गरिन् र तिनको स्वाद चाखिन्। अचार बनाउने तरिकाहरू युट्युबमा खोजेर हेरिन्। केही दिनमा उनले ६० हजार रूपैयाँ पनि जुटाइन्। यही पैसाले किनमेल गरेर अचारको काम सुरू गरिन्। आफन्त, छरछिमेक र साथीभाइलाई खुवाइन्। सबैबाट राम्रो प्रतिक्रिया पाइन्।

हौसला झन् बढ्यो। व्यापारका लागि सम्पर्क बढाइन्।

पहिलो पटक ललितपुरको 'अगेनो' होटलमा अचारको स्टल राख्ने अवसर पाइन्। बिक्री बढ्यो। यसपछि बानेश्वर पुगिन्। हरेक शनिबार बिहान अचार बोकेर बानेश्वर पुग्थिन्। दिउँसो अगेनोमा बस्थिन्। अचारको मार्केटिङ गर्न सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पेज बनाइन्। विज्ञापन गरिन्। बजार बढ्दै गयो। अर्डर आउन थाल्यो। शनिबारबाहेक अरू दिन अर्डर डेलिभरी गर्न थालिन्।

करिब ६ महिनापछि स्टल भने बन्द भयो। अर्डर डेलिभरीमा व्यस्त हुनुपर्‍यो।

रूपाले भनिन्, 'सुरूमा स्कुटर गुडाउन निकै डर लाग्थ्यो, व्यवसाय सुरू गरेपछि आँट बढ्यो। अहिले त उपत्यकाभरि पुग्छु।'

आमाको सहयोगमा आत्मविश्वासका साथ अघि बढेकी रूपा अपांगता भएकाहरूका लागि प्रेरणा बन्न चाहन्छिन्। उनी आमाछोरी अचारलाई ब्रान्डका रूपमा स्थापित गरेर आफूजस्तै अपांगता भएका व्यक्तिहरूलाई रोजगारी दिने योजनामा छिन्।

भन्छिन्, 'अपांगताले काम गर्न छेक्छ भन्ने होइन। हिम्मत भएमा असम्भव केही छैन।'

आमा छोरी अचार प्रवद्र्धनको लागि सेतोपाटी डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार