बाँपीझ्याला, दोलखा । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा टुकी अभियानको ४५ बर्ष पुरा भएको अवसरमा ग्रामीण विकास टुकी संघ, दोलखा र टुकी संघ सुनकोशी, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उक्त कार्यक्रमको समुद्घाटन पश्चात शुभकामना सन्देश दिने क्रममा ग्रामीण विकासको टुकी अवधारणाको अभ्यासको क्रममा प्राप्त अनुभव र सिकाइहरु नेपालको अन्य क्षेत्रको विकासका लागि समेत उपयोगी हुन सक्दछ भन्नु भएको छ ।
यसै गरी वहाँले यस क्षेत्रका स्थानीय किसान, महिला, बालबालिका तथा अपाँगता भएका ब्यक्तीहरुको उन्नयनका लागि अनवरत क्रियाशिल हुँदै आफ्नो ४५ बर्ष पुरा गरेकोमा दोलखा र सिन्धुपाल्चोकका दुवै टुकी संघलाई हार्दिक बधाइ तथा शुभकामना दिनु भयो ।

ग्रामीण विकासको टुकी अवधारणा अन्तर्गत समावेशी सहभागिता, समुदाय तहमा संगठन, महिला सशक्तीकरण, स्थानीय तहबाटै नेतृत्व विकास, स्थानीय स्रोत र साधनको दीगो परिचालन, सरकारी निकाय तथा विकास साझेदार संस्थाहरुसँगको सहकार्य एवं समन्वयको माध्यमबाट ग्रामीण समुदायको समाजिक आर्थिक सशक्तीकरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै टुकी संघहरुले मुलुकको विकास प्रक्रियामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुरा सहहना र प्रशँसा गर्नु भयो ।

ग्रामीण विकास टुकी संघ, दोलखाका अध्यक्ष टुकी मकरध्वज पाख्रिनको अध्यक्षतामा सम्पन्न उक्त टुकी प्रदर्शनीमा आउनु भएकी सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको स्वागत लगत्तै कार्यक्रम स्थल सभा भवन भित्र प्रवेश गर्ने क्रममा मार्गमा प्रदर्शनीको रुपमा राखिएको टुकीको क्रियाकलापहरुको सन्देशमूलक फ्लेक्सहरु माथि कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले जानकारी गराउनु भएको थियो । यसै क्रममा सम्माननीय राष्ट्रपतिज्यूले माटो परिक्षण प्रयोगशालाको जानकारी लिनु हुँदै आफैले माटोको पिं.एच. परिक्षण समेत गर्नु भएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको टुकीको शुरुवात र सामाजिक परिवर्तनमा यस्को योगदान झल्काउने वृत्तचित्र “हामी टुकी” १० मिनेटको वृत्तचित्र सम्माननीय राष्ट्रपतिले अभिरुचीपूर्वक हेर्नु भएको थियो । र कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूमा टुकीहरुको तर्फबाट अभिनन्दन गरिएको थियो ।
सम्माननीय राष्ट्रपतिज्यूबाट टुकी अवधारणाका प्रवर्तक डा.कृष्ण कुमार पाँडेलाई कदर पत्र प्रदान गर्नु भएको थियो ।
सम्माननीय राष्ट्रपतिज्यूबाट टुकीको विकासमा योगदान पु¥याएका निम्न उल्लेखित ४ जना संस्थापकहरुलाई कदर पत्र प्रदान प्रदान गर्नु भएको थियो ।
१. टुकी हर्कमान पाख्रिन, वैतेश्वर गापा ३, दोलखा
२. टुकी जय प्रसाद दाहाल, वैतेश्वर गापा ४, दोलखा
३. टुकी लोक वहादुर श्रेष्ठ, त्रिपुरासुन्दरी गापा ३, सिन्धुपाल्चोक,
४. टुकी घ्याम्छो लामा, लिसंखुपाखर गापा ५, सिन्धुपाल्चोक
यसै गरी टुकि अभियान्ताहरु दामोदर कुमार तिमिल्सिना, सुनकोशी गापा ७ सिन्धुपाल्चोक र ढाल वहादुर भण्डारी, सुनकोशी गापा ६, सिन्धुपाल्चोकलाई पनी कदरपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा टुकी अवधारणाका प्रवर्तक डा.कृष्ण कुमार पाँडेज्यूले मन्तव्य दिने क्रममा टुकी संघहरु खास गैरसरकारी संस्था नभएको तर संस्था दर्ता गर्ने एउटै मात्र कानुन भएकोले सोही अनुरुप गैरसरकारी संस्थाको रुपमा दर्ता हुनु परेको व्यक्त गर्नु हुँदै टुकी संघहरु जस्तो संस्था दर्ता हुने छुट्टै ऐन हुनु पर्ने कुरा व्यक्त गर्नु भएको थियो ।

टुकीको अबको बाटो, चुनौती र राज्यबाट टुकी संघहरुले राखेको अपेक्षाबारे टुकी संघ सुनकोशीको अध्यक्ष राजेन्द्र कुमार भण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै गरी “म र मेरो समुदायमा आएको परिवर्तन” सम्बन्धमा टुकीको अनुभव राख्ने क्रममा सिन्धुपाल्चोकबाट महिला टुकी सवीना लामा र दोलखाबाट पुरुष टुकी रघुनाथ उप्रेतीले बोल्नु भएको थियो ।
कार्यक्रममा ग्रामीण विकास टुकी संघको निवर्तमान अध्यक्ष प्रेम कुमारी चौलागाइबाट स्वागत मन्तव्य दिनु भएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij