Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एमसिसी विवाद, संवाद र प्रतिवाद किन ?

एमसिसी विवाद, संवाद र प्रतिवाद किन ?

बालकृष्ण श्रेष्ठ “पासा”
कोरोनाको चर्को साम्राज्य चलिरहेको छ, देश विदेशमा विभिन्न नामको न्वारान गरेर कोभिड १९ ले अक्रान्त पारिरहेको बेलामा हाम्रा देशका अबुज्रुक नेताहरू भने एमसिसीको मन्त्र जपेर कोही नास्तिक बनिरहेका छन् भने कोही आस्तिक बन्न आतुर बनेका छन् ।

यतिबेला जनतालाई के कुराले पिरोलिरहेको छ त, भन्नेतिर समाजवादी विचार खोक्ने नेताहरूमा अलिकति पनि बुद्धि विवेक पलाएको छ जस्तो लागिरहेको छैन । यिनीहरूलाई यत्तिमात्र थाहा छ कि खोप लाउन सूचना जारी गरिएको छँदैछ, सिटामोल बाँडिएको छँदैछ, भनेजस्तो अस्पताल छँदैछ किन यतातिर अल्मलिने भन्ने खालका कुभावनाले गाँजिएर होला शायद, त्यसैले एमसिसी एमसिसी भनेर समयलाई बर्गर र स्याण्डविचसंग निलिरहेका छन् ।

यतिखेर कत्तिको चूल्होमा आगो बलेको छ कि छैन मतलब छ त केवल एमसिसी मात्र । यस्तो लाग्छ कि ‘एमसिसी’ भनेको (मतलबी, चण्डाल चोर) हो, जताबाट जसरी हुन्छ आफ्नो स्वार्थ पुरा गर्ने मार्गको एउटा पाटो र बाटो हो, अरू भड्खालै परोस् । हैनभने यस्तो अवस्थामा अमेरिकालाई सही सत्य जवाफ दिन किन नसकेको ? अमेरिकाले उक्त एमसिसी अरूदेशलाई दिइहाले भने कमिशन नपाइएला कि भन्ने चिन्ताले एकथरि हत्तोत्साहित भएको देखिन्छ भने अर्काथरि उसले मात्र पाउँछ र आफू हेरेको हेर््यै होला भनेर चिन्तित भएको देखिन्छ ।

देशलाई विकसित बनाउने भनेर विधान संविधानको खाका कोर्ने अनि देशलाई नै अन्धकारमा राख्न खोज्ने यो कस्तो राजनीतिक भूमिका हो ? प्रश्न यो छ कि उत्तर खोइ त ? यदि कसैले आफ्नो देशमा नवीनतम विकास गरेर बेरोजगारीलाई रोजगार दिने योजनाहरू ल्याएर देशको समुन्नत विकास हुन्छ भने किन मुखमा बुझो हालेर बस्ने ? जनताको लागि जनताद्वारा चुनिएर माथिल्लो तहमा पुगेपछि किन तल्लो स्तरको घटिया सोच आएको हो बुझ्न कठिन भएको छ ।

अमेरिकाले यो एमसिसी भन्ने योजना ल्याएपछि सम्पूर्ण अधिकार, ज्याला, आम्दानी सबै उनीहरूले नै लानेछन् भनेर हावादारी तर्क सुनाएर अवरोध गर्ने सभासद होस् या मन्त्री जो भएपनि एकपल्ट आफ्नै गाउँतिर गएर हेर्नु नि, आफ्ना खेतबारी के कारणले बाँझो भएको भनेर ।

अन्तमा एमसिसी वास्तवमा पृष्ठभुमि पल्टाएर हेर्ने हो भने नेपालको हितमा छ यसमा कुनै हानी नोक्सानी छैन । अमेरिकन सेनाहरू नेपालको सिमानामा तैनाथ गर्नेछन्, नेपाललाई बलिको बोको बनाउनेछन् भन्ने निराधार कपोलकल्पित कुरामा नअल्मलिएर देशको हितमा सकारात्मक सोच राखौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार