Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रा.डा. हरिदर्शन श्रेष्ठको दोलखा प्रतिको अवधारणा

प्रा.डा. हरिदर्शन श्रेष्ठको दोलखा प्रतिको अवधारणा

दोलखाको सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक रुपमा विभिन्न कोणबाट हेर्दा प्रा.डा. हरिदर्शन श्रेष्ठज्यूले महशुस गर्नुभएको कुराहरूलाई समेटेर तैयार गरिएको बिशेष रिपोर्ट

प्रा.डा. हरिदर्शन श्रेष्ठ विगतका दोलखा नेपाली काँग्रेसमा सशक्त भूमिका निर्वाह गर्न निकै अग्रसर हुनुभएका पिता स्वर्गीय ज्ञानकृष्ण श्रेष्ठ र आमा स्वर्गिय नानु लक्ष्मी श्रेष्ठका कान्छा सुपुत्र हुन् प्रा. डा. हरिदर्शन श्रेष्ठ । २०३४ साल सम्म दोलखाकै आँगनमा खेलेर हुर्केर भीम माध्यमिक विद्यालयमा अध्ययन माध्यमिक शिक्षालाई सफलता पूर्वक पार गरेर उच्च शिक्षा अध्ययनको क्रममा राजधानी काठमाडौं प्रवेश गर्नु भएको हो ।

सानैदेखि तीक्ष्ण बुद्धि र उच्च मनोबल बोकेर अध्ययनमा अब्बल श्रेणी हासिल गर्न सक्षम हरि दर्शन श्रेष्ठमा शिक्षा र विद्यामा मात्रै होइन, अतिरिक्त कृयाकलाप अन्तर्गतको हरेक कोणमा अति नै मेहनती र अनुशासित पनि उत्तिकै हुनुहुन्थ्यो । त्यसैगरि विद्यालयमा अध्ययन गर्दागर्दै पनि नाट्य अभिनय र नृत्यमा पनि पोख्त हुनुहुन्थ्यो ।

एकताका नेपाली संगीतका तारा गायक स्वर्गीय प्रेमध्वज प्रधानद्वारा गाईएका सुमधुर गीत “सान्नानीको गालैमा कालो कोठी रैछ, नजर नै तिरमिर गराउने” भन्ने गीतमा जीवन्त अभिनय गर्नुभएको ताजा स्मरण छ । त्यो भन्दा नि पहिले बाल्यकालदेखि नाट्यकलामा अभिरुचि राखेर बाल कलाकारको अभिनयमा जीवन्त प्रस्तुति रहेको थियो ।

प्रा.डा. श्याम जोशीद्वारा लिखित र निर्देशित पूर्णाङ्की नाटक “मिसामि” मा बाल कलाकारको रुपमा दर्शनीय अभिनय गर्नुहुने हरि दर्शन श्रेष्ठ हिजोआज प्रा.डा. ईन्जिनियरको रुपमा परिचित हुनुहुन्छ ।

हाल त्रिभुवन युनिभर्सिटीमा प्राध्यापक र विपद व्यवस्थापनमन काम गर्ने संस्थामा प्रमुख भएर कार्यरत हुनुभएका प्रा.डा. हरिदर्शन श्रेष्ठसंग हाम्रो बाँपिझ्यालाको तर्फबाट बालकृष्ण ’पासा’ ले उहाँसंग दोलखाको बारेमा के सोच र अवधारणा छ त ? भन्ने प्रश्नको उत्तर यहाँ बुँदागतरुपमा प्रस्तुत गरिएको छ ।

पृष्ठभूमि :
दोलखाको माटोमा धेरै जन्मे, धेरै रमे, धेरैले दोलखाको माटोको अस्तित्व बुझेर माया र सद्भाव व्यक्त गरे, कतिले गरेनन् त्यो आफ्नै ठाउँमा छ, विगतमा सिमित व्यक्तिहरूलाई दोलखाका वरिष्ठतम् व्यक्तिहरुको बिशेष पहिचानको थलोका रुपमा परिचित ऐतिहासिक दोलखाको अभयपुर शहर ! जहाँ करीब साँढे ४ दशक पछाडि फर्केर हेर्दा पौराणिक, धार्मिक र इतिहासको आख्यान र व्याख्यान अनि चर्चा हुनेगर्थ्यो, प्रयोगात्मक रुपमा चरित्र चित्रण हुन्थ्यो, नाटकको रुपमा, सभाको रुपमा र भेलाको रुपमा ।

त्यतिबेला दोलखा शहरमा जति रौनकता छाउने गथ्यो, जति चहलपहल हुनेगर्थ्यो, स्थानीय वासिन्दा जो आआफ्नो विभिन्न पेशामा व्यस्तता हुँदाहुँदै पनि समय निकालेर महिनौंसम्म नाटक रिहर्सल गरेर एकातिर मनोरञ्जन र अर्कोतिर आफ्नो परम्परालाई दिगो राख्नको लागि धार्मिक नाटक, सामाजिक नाटक मञ्चन गरेर दोलखाको अस्तित्व र महिमालाई जोगाउनको लागि सबैजना जागरुक हुनेगर्थे, जुन निकै घतलाग्दो स्मरणीय रहेको छ । तर ती दिनहरु ती पर्वहरु, ती क्षणहरु अब उपरान्त कतै एकादेशको कथा हुने त होइन ?

हिजोआजका सामाजिक र व्यावहारिक वातावरण हेर्दा यस्तो लाग्न थालेको छ कि कतै व्यक्ति विशेषको आर्थिक र व्यावहारिक प्रतिस्पर्धामा अलमलिएर यो समाजमा हाम्रोजस्तो ऐतिहासिक र परम्पराको स्वर्ग जस्तो दोलखा विलोप हुने त होइन ? चिन्ताको विषय छ ।

हुन त अहिले आधुनिक प्रविधि विकासको कारणले धेरै कुरामा फड्को मारेको छ दोलखाले पनि, तर ती व्यक्ति विशेषमा सिमित भएको छ कि भन्ने भान हुन्छ । किनकि भूकम्पको कारणले क्षतिग्रस्त भग्नावशेष भवनहरुको आधुनिक ढाँचामा निर्माण हुँदैमा, आफ्नो घर अगाडिबाट कालोपत्रे मोटरबाटो बनाएर गाडी गुडेर जाँदैमा त्यो ठाउँको विकास भयो भन्ने सोचले मख्ख पर्नु कुनै औचित्य नहोला कि ?”

विकासको मूल पूर्वाधारको रुपमा दोलखालाई कसरी अगाडि बढाउन सकिन्छ, कुन कुरामा बढी ध्यान दिनुपर्ला, हाम्रो संस्कृति, संस्कार, संरचना ढुंगैढुंगाको मन्दिरले भरिएको शहरलाई आर्थिक कृयाकलापमा जोडेर कृषि योग्य जमीनलाई आधुनिकतामा कसरी लाने हो र के उत्पादन गर्दा स्थानीय बजारदेखि बाह्य देशसम्म निर्यातको बाटोको परिकल्पना के हो ? कसरी गर्ने भन्नेबारे सबैको चाहना र चासो हुनुपर्छ । जस्तो कि तत्कालीन पंचायती शासनकालमा अर्थात् करीब चार पाँच दशक पछाडि दोलखालाई नियालेर हेर्दा दोलखाको वृत्तचित्र भित्र अनेकौं मौलिकता अटाएको पाईन्छ !

प्राचीन संरचना :
संसारको कुनैपनि ठाउँमा घुमेर अवलोकन गरेर हेरिए पनि त्यस्तो समुदाय हामीले भेट्न सक्दैनौं कि जुन समुदायमा नेवार जातियतामा श्रेष्ठता होस्, एकरुपता होस्, दोलखा शहर भनेर चिनिने पूर्वमा रानीवन (काँडल) दुङ्गल, दक्षिणमा वत्चा, पिंगल र छोबुवती (छोप्ति), पश्चिममा सिंहबन नारायण द्येउ, तिखतलसम्म, उत्तरमा सियौटाडा, मन्देश्वरी मन्दिरको परिधिलाई दोलखाको नेवारको पहिचानको बस्ती रहेको छ । तामाकोशी, नागदह, चाथली (चथिल बन) राम्पा डोकथलिमा दोलखा प्राचिन बस्तीको सिमामा रहेको छ भने यस भित्र पनी दिन प्रतिदिन बस्ती बढ्दै गएको पाईन्छ ।

बाहिरबाट आएका अतिथिहरुलाई दोलखा शहरको मुख्य टोलहरुमा सर्सर्ति घुमेर घुमाएर मात्र दोलखाको परिचय र महत्व नखुल्न पनी सक्छ । २०७२ सालको भूकम्पको बेलामा संयोगवश दोलखालाई गहिरिएर नियाल्न पाएँ, म आफू दोलखामा जन्मेर त्यहीँ खेलेर हुर्केको र त्यहीँबाट माध्यमिक शिक्षा पार गरेर उपत्यकामा उच्च शिक्षा हासिल गर्न गएको र बीचबीचमा आवतजावत भएपनि दोलखालाई भित्रसम्म पुगेर नियाल्न पाएको थिइँन । त्यो विनाशकारी भूकम्पको चपेटामा परेको दोलखामा त्यो अवस्थामा दोलखा शहर भित्र धेरै तहसनहस भएको थियो । आफ्नो घर समेत भग्नावशेष भएपनि कता के कति क्षति भएछ भनेर हेर्न जाँदा दुइटा कुराले कौतुहल जनायो, पहिलो दोलखामा बनाएको फराकिलो बाटो, त्यो पनि ठूलाठूला चारपाटे ढुंगा बिछ्याएर, ठाउँ र अवस्था अनुसार सिंढि बनाएर एकले अर्कालाई दुवै हात फैलाउँदा पनि नछुने हिसाबले बनाएको त्यो बाटोको बनावट र संरचना हेर्दाखेरि अहिले नयाँ प्रविधिहरुको ज्ञान हासिल गर्ने इन्जिनियरहरुलाई नै चुनौती दिएको जस्तो लाग्यो ।
जतिबेला त्यो ठाउँमा सवारी साधन चल्नेको नामनिशान थिएन, झट्ट हेर्दा मोटरकै बाटो चल्ने जस्तो गरेर घरहरु पनि अहिलेको शहरी मापदण्ड जस्तै गरेर बनाएको देख्दा पूर्खाहरुले भविष्यको पूर्वानुमान गरेर बनाएको देखियो । बरु हिजोआज भएको बाटो नै मिचेर घर पर्खाल बनाएका छन्, त्यतिबेलाका पूर्वजहरूको दिव्य ज्ञानलाई मनन गर्नैपर्छ ।

ती बाटाहरु फराकिलो बनाउनुको तात्पर्य के हो त भनेर सूक्ष्म दृष्टि राख्दाखेरि आवतजावत मात्र नभै केही भवितव्य परेर घर ढलेपनि भत्केपनि एक घरले अर्को घरलाई असर नपर्ने र बाटो समेत पुरै नढाकिने हिसाबले निर्माण गरिएको छ । जस्तो कि अहिले शहरहरुमा घर बनाउँदा बाटोको मापदण्ड भनेर कति फिट छोड्ने भन्ने हिसाबले घर बनाउने नियम बनाएका छन् यस्तो भविष्यत्कालको पूर्वयोजना सोचेर बनाएको देखिन्छ । त्यसैले त्यही बाटोलाई बरु अझै पुरानो संरचना नबिगारि विकसित गरौं, मन र विचारलाई संकुचित नबनाऔं । यो पूर्खाहरुको अतुलनीय योगदानको कदर गरेर सरक्षण गरौं भन्ने मेरो सोच हो ।

दोश्रोकुरा दोलखामा दृश्य र अदृश्य गरेर ९–१० वटा डबलीहरु देखिन्छ । पहिले पहिलेको चाडपर्व जात्राहरु हेर्दा यो डबली नाचगान र जात्रामात्रा गर्न सहज होस् भन्ने उद्देश्यले बनाएका होलान् भन्ठानेका थियौं । तर यत्तिको लागि मात्रै यी डबलीहरु बनाएका होइन रहेछ भन्नेकुरा त्यतिबेला प्रमाणित भयो जति बेला (२०७२ को भूकम्पको प्रसङ्गमा) प्रत्येक टोलका बासिन्दाहरू भूकम्पको कम्पनसंगै र कम्पन पछि आआफ्नो टोल संगैको डबलीमा जम्मा भएका थिए ।

हुन त सबैजना ती डबलीमा नअटाउलान्, एक साथ बस्न, खान र सुत्न नमिल्ला तथापि उद्दारको समयमा एकछत्र भएर उभिएरै भएपनि ज्यान जोगाउन त सहज हुन्छ भन्ने उद्देश्यले पनि यो डबली बनाउने सोच आएको हुनसक्छ ।
फेरि अर्को कुरा प्रत्येक डबली संगै कुनै न कुनै देव देवीको मन्दिर, चैत्य निर्माण गरि फराकिलो खुला ठाउँ बनाई विपदको बेलामा खान बस्न बनाएको हुनुले हुनुले पनि यसमा मनोवैज्ञानिक तरिकाले समाजलाई चेतना दिलाएको आभास मैले पाएँ । जस्तो कि बाटो बनाउँदा वैज्ञानिक सोच स्रोत झल्किएको छ भने जमिनबाट अलि अग्लो डबली र फराकिलो चोक आँगनको निर्माणले जनमानसमा कुनै अप्ठ्यारो परिस्थितिमा प्रयोगको लागि बनाएको भन्ने देखियो ।

यसको मतलब ती डबली (डोबर )हरू सांस्कृतिक नाचगान र जात्राको सदुपयोगको लागि मात्र बनाएको नभएर विपदको बेलामा पनि सुरक्षित हुन सहज हुन्छ भन्ने हिसाबले बनाएको रहेछ भन्ने कुरा बुझ्न जरुरी छ ।

कृषि सिंचाई :
दोलखाको उत्तरमा रांगथलि क्षेमावती दोल्ती खोला वारिदेखि पूर्वमा राम्पा डोकुथलि, दक्षिणपूर्वमा नेगल, फुलपा, स्वाक्लो, वारि मार्बु भएर पश्चिम दक्षिणमा शहरपा भित्ता हुँदै नारायण देवघाट तार्थलिसम्म हामी दोलखालीको खेतबारी यथेष्ट छ । तर उक्त कृषियोग्य जमीनबाट साधारण आर्जन गरि दिनचर्या मात्रै चलाउँदै आएको छ । धानको बिउ छर्दैमा मूरीका मूरी धान फल्ने होइन समय अनुसार परिवर्तन हामीमा स्वयं हुनुपर्छ । सिंचाईको कारणले उब्जनी भएन भने वैकल्पिक मार्ग खोज्न जरुरी छ । यो आधुनिक र प्रविधिको युगमा गरे के हुदैन ? पाखुरामा मासु पलाएर अलिक शक्ति भयो कि विदेश ताकि हाल्ने, विदेशमा पनि त आँखिर मेहनत परिश्रम गर्नैपर्छ । त्यही मेहनती हातहरु हाम्रै कान्ला, फाँटमा सदुपयोग गर्ने मन हुनुपर्छ । तब पो उब्जनी हुन्छ त ।

आधुनिक कृषि प्रणाली अनुसार खेतीयोग्य जमीनलाई मौसमी बाली लगाएर पनि जीविका र आयआर्जन गर्न सकिन्छ । यस्तै सोच राखेर पनि सँधै माथितिरबाट मात्र ल्याउन सकिन्छ भन्ने मान्यता छोडेर प्रविधिसंग हातेमालो गरेर तामाकोसीको पानीलाई अत्याधुनिक मेशिनले तानेर ठाउँ ठाउँमा पोखरी बनाउने, प्रत्येक निश्चित ठाउँमा तलाउ पोखरी निर्माण गरेर क्षेत्रगत हिसाबले पानी वितरण गर्ने, माछा पालन गर्ने, हाँस पालन गर्ने गरेमा आर्थिक विकास गर्न कुनै कठिनाइ भोग्नुपर्ने छैन भनेर मैले आफ्नो विचार र ज्ञान बाँड्न खोज्दा कसै कसैले…“हावाको कुरा” को संज्ञा दिए, कसैकसैले त “आफुले गरेर देखाउनु न त, अनि हामी गरौंला” समेत भने ।

हाम्रा पूर्खाहरुले मथिल्लो पोखरी र तल्लो पोखरी किन बनाए होलान् ? त्यो अँधेरी खोलादेखि – मरिङखोलखा खिंगौज्वर) कुलो बनाएर पाखलतिको पोखरीमा पानी जम्मा पारेर खेतीपाती, भवितव्यको सोच राखेर जुन अविस्मरणीय काम गरे, त्यसलाई स्थायीत्व दिन लागि पर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । पूर्खाहरुले पोखरी मात्रै बनाएनन्, त्यो पोखरीको पानीलाई कसरी दोलखाली खेती किसानीको खेतबारीमा पू¥याउन कति सम्मको दिमाग लगाए भन्ने कुरा बुझ्नबुझाउन जरूरी छ । दोलखामा अस्थायी कुलोहरु ठाउँ ठाउँमा बनाएको छ । जुन जुन ठाउँबाट अस्थायी कुलोको रुपमा पानी लगिएको छ, त्यस्तो कुलोलाई विभिन्न ठाउँबाट जस्तो कि, एउटा कुलो पाखलतीबाट तारिगाउँ, थाँछे हुँदै राइती नजिकैको नारायण टोल, बाहारवली सम्म पुग्ने गरि बनाएको छ ।

अर्को पाखलतीबाट पूर्वतिर लगेर शान्त जोशीको घरको अगाडिबाट कामीवली निकालेर पालचुटीबाट बगर्छें हुँदै तल्लो टोलको ऐतिहासिक रानी पोखरीमा जम्मा गरेर त्यहीबाट आवश्यक ठाउँमा पानी लगिने गरिएको छ । त्यसैगरि अर्को कुलो पाखलतीबाट अझै पूर्व लगेर पुखुर्चा बद्रीमान सिं ज्यूको घर पश्चिमबाट तल डोक्छें हुँदै डोकलुङा, पिङ्गल भएर छोपती वरिपरिको बारीमा सिंचाई गर्न सहज बनाईएको छ । फेरि अर्को कुलो त्यहाँबाट पनि अझै पूर्व छोबोबाट पुरान्छें हुँदै काँचती भएर दुङ्गल टोल मुनिको ख्वार्सी वली, बिष्णति सम्म पुग्ने गरि लगिएको छ ।

यसरी पूर्वजहरुले विशाल योजना बनाएर वैज्ञानिक तरिका अपनाएर बनाएका ती संरचनाहरुमा अवहेलना गरि बेवास्ता गरेर खेतबारी बाँझो राखेर विदेश र परदेशमा पसिना बगाउन जाने व्यक्तिहरुले कतै मातृभूमिको धरातल प्रति हेलचेक्य्राइँ गरेको पो हो कि जस्तो भान हुन्छ । उक्त कुलोहरुबाट सिंचाईमात्र नभै शौचालय व्यवस्थापन र आगलागी हुँदा आगो निभाउने प्रयोजन समेत भएको थियो । त्यसैले नै ती कुलोहरू प्रत्येक टोलबाट बगाउँदै तल खेतबारी सम्म पुग्ने व्यवस्था मिलाएको देखिन्छ ।

हामीले बुझ्नुपर्नेकुरा आजको प्रविधि विकासको जमानामा तलबाट पानि ल्याउन सकिन्छ र धेरै ठाउँमा यो प्रविधि प्रयोग गरि खानेपानी र सिंचाईको आवश्यक्तालाई पूर्ति गरि रहेका छन् । हाम्रो दोलखाको तलतिर तामाकोशी बगिरहेको छ र उक्त ठाउँबाट पानी ल्याउन बाहेकको अर्को विकल्प छैन र त्यो सम्भव छ । उदाहरणको लागि काठमाडौंका बासिन्दाहरुले तिन चारसय मीटर जमीन मुनिको पानीलाई पम्पद्वारा तानेर पिउने र काम चलाउने गरेका छन् भने दोलखाको खेतबारीहरु ५० मीटरदेखि झण्डै ५०० मीटर तिलिन्चो माथि मात्र छ ।

त्यतिखेर दोलखामा चर्पीको चलन थिएन, कसैको घरमा पनि चर्पीको जरुरी छ भन्ने ज्ञान समेत थिएन, त्यसैले बिहान दिसा बस्नको लागि त्यही कुलोको पानी बग्ने झोर विशेष तरिकाले बनाएको सोत (शौच गर्ने ठाउँ), जुन ठाउँ घर, बाटोबाट नदेखिने गरि ढुंगाको गाह्रोले छेकेर पानी बगेर जाँदा ती सबै बगाएर खेतबारीतिर पुग्थ्यो र मलको रुपमा प्रयोग हुन्थ्यो । करीब ३ दशक अगाडि सम्म पनि चर्पीको महशुस कसैले गरेको थिएन, यदाकदा काठमाडौं गएर त्यहाँको रहनसहन बुझेर आउने त्यो पनि अलि उच्च खानदानहरुले आफ्नै जग्गामा खाल्डो खनेर चर्पी बनाउन थालेपछि मात्रै बिस्तारै यसको प्रभाव पर्न थाल्यो र अहिले सबैले अनिवार्य बनाए ।

त्यो अवस्थाको त्यही कुलो, झोरमा दिसा गरेर पनि बेफाइदा भने भएको थिएन । ती सबै खोल्सा झोरको पानीले अझ बर्षातको पानीले सोहरेर तल खेतबारीमा पुर्याइदिंदा मलको काम पनि गरेको थियो । यसबाट के बुझ्न सकिन्छ भने हाम्रा पुर्खाहरु अक्षरमा ज्ञानको कमि भएपनि दुरदर्शी र वैज्ञानिक चेतनाका थिए भनेर बुझ्न सकिन्छ ।

नेवारी भाषा, धर्म–संस्कृति र सम्पदा :
द्वाल्खा नेवारी भाषाको उत्पती कसरी भयो र यो भाषा कसरी प्रयोगमा आएको छ भन्ने यथेष्ठ तथ्य सत्य अझसम्म पनि भेटिएको छैन । किम्वदन्तीमा जे जस्तो भएपनि नेपाल भाषामा सबभन्दा पुरानो भाषा द्वाल्खा नेवारी भाषालाई लिन सकिन्छ ।

लोककिम्वदन्ती अनुसार द्वापर युगको अन्त्यतिर पाँच पाण्डव यहाँ आई गुप्तवास बसेको भन्ने भनाई रहेकोछ र त्यसरी गुप्तवास बस्दा अरु कसैले थाहा नपाउनका लागि छुट्टै भाषा बोल्नमा प्रयोगमा ल्याएको भाषा नै अहिलेको द्वाल्खा नेवारी भाषा भन्ने रहेकोछ ।

तर यसको लिखित अभिलेख भने अझसम्म पनि फेला परेको छैन । ईतिहासमा उल्लेख भएनुसार दोलखा कहिले कान्तिपुर राज्य अन्तर्गत, कहिले भक्तपुर अन्तर्गत पदथ्यो र कहिले स्वतन्त्र राज्यको रुपमा संचालन भएको देखिन्छ ।
यसरी दोलखा स्वतन्त्र राज्यको रुपमा संचालन हुंदा पूर्वमा तामाकोशी, पश्चिममा सुनकोशी, उत्तरमा तिब्वतको सिमाना र दक्षिणमा सिधुलीगढीसम्म फैलिएको देखिन्छ र हालको दोलखालाई अभयपुर राज्यले चिनिन्थ्यो ।

यसै गरी दोलखा हिन्दु धर्म भन्दा बढी बुद्धधर्मको बाहुल्यता थियो भन्ने कुरा मलाई लागेको छ, किनकि दोलखामा मुख्यतः मञ्जुश्रीको पाइलो छाप भेटिनु, प्रत्येक टोलमा चैत्य स्तुपा रहनु, अनि ससाना माने स्तुपा भेटिनुले पनि दोलखामा हिन्दुधर्म संगसंगै बुद्धधर्मको व्यापक थियो भन्ने बुझिन्छ ।

विक्रम सम्वत र शाक्य सम्वतको लेखा जोखा हुनुभन्दा ६०० वर्ष पहिले नै बुद्ध धर्मको व्यापक प्रचार भैसकेको रहेछ भन्ने कुरा दुङ्गल टोलको बुद्ध स्तुपाको गजुरबाट बुझ्न सकिन्छ । त्यसैगरि श्यामसुन्दर टोलको कल धारा नजिकै राखिएको बुद्धको सिंगो सालिकले पनि यो कुरा प्रस्ट्याउँछ । जुन मूर्ति हिजोआज नक्छें टोलको स्तुपा अगाडि राखिएको छ । हिन्दूधर्मको प्रचार लिच्छवि कालमा आए, तर मल्लकालिन् शासनकालमा अझ प्रचुरता पाएको विभिन्न मन्दिरमा राखिएका शिलापत्र र ताम्पत्रको आधारमा भन्न सकिन्छ ।

यसमा पनि दोलखाको साक्षात देवता भीमेश्वरको उत्पति दोलखामा नै भएको कुरा त अनेकन् किंवदन्ती र इतिहासले देखाउँदै आएको छ । किंवदन्ती अनुसार महाभारतका पाण्डवहरू गुप्तबासमा हुँदा दोलखा आएर बसेको थियो र सो समयमा भीमसेनले आराधनाको लागि दोलखाको उक्त ठाउँमा (हाल भीमसेन मन्दिर स्थल ) शिवलिंग स्थापना गरिएको र भीमसेनले स्थापना गरेको ईश्वर भएकोले भीमेश्वरको रुपमा पूजा गर्दै जाँदा कालान्तरमा सबैले भीमसेनकै रुपमा लिएको भन्ने भनाई रहेको छ ।

मलाई यो सत्य लाग्छ किनकि भारतको प्रख्यात मन्दिर रामेश्वर मन्दिर रामले रावणलाई वध गर्न लंका जानुभन्दा पहिले मनले एक ईश्वर सम्झेर एक मूर्तिको प्रतिस्थापना गरि शक्ति र बुद्धि प्राप्त गर्ने सोच राखेर जुन देवताको आराधना गरे उनै रामले ईश्वर मानेर नै आज सारा जगतले रामेश्वरको रुपमा पुज्दै आएका छन् । त्यही नै सत्य स्वरुप बलवान भीमसेनले पनि यिनै दोलखा भीमेश्वरको स्थापना गरिएको भन्ने कुरालाई नकार्न सकिन्न । नेवार जातिले यिनै देवतालाई ईष्टदेवको रुपमा पुज्दै आएका छन् । क्रमशः ….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार