Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

“केक” मय संसार !

“केक” मय संसार !

बालकृष्ण श्रेष्ठ “पासा”

“समाज बनाऔं, सामाजिक जीवन सफल पारौं, मौलिकतालाई नबिर्सौं…” यो त पाठ्यक्रममा भेटिएको, समय खर्चेर पैसा बटुल्न लेखिएको एउटा सामान्य वाक्य हो । जुन् मध्य दुर्गमका शिक्षक र विद्यार्थीमा मात्रै सिमित होला शायदै । हिजोआज पाठ्यक्रममा पनि नेपाली भाषालाई ओझेलमा पारेर झोला भन्न लाज मानेर होला “स्कूल ब्याग” भन्दा शिष्टता र भद्रता जनाउन खोजेर होला व्यापारी थलोलाई “मार्केट” विषयवस्तुलाई “कन्टेन्ट” प्रस्तुतिलाई “प्रिजेन्टेसन” “पर्फर्मेन” भनेर विशिष्टता ओगटेको देख्दा नेपाली बुद्धिजीविले अंग्रेजी बोल्ने अभ्यास गरेको होइन कि विदेशीले चाहिँ नेपाली सिक्न सहज होस् भनेर यी अंग्रेजी मिश्रित शब्दहरु ओकलेका हुन कि जस्तो लाग्छ ।

जब कि चीनको स्वशासित क्षेत्र तिब्बतमा तिब्बती भाषा बोल्नेहरुले अंग्रेजी शब्दको एक अक्षर पनि मिसाउँदैनन् । तामिल्नाडुका तामिल भाषा होस् या बंगालादेशका बंगालीहरु नै किन नहोस उनीहरुले आफ्नो मातृभाषामा अन्य भाषा मिसाएर बोल्नै चाहँदैनन् । तर हाम्रो नेपालमा विशेषतः शहरी क्षेत्रमा बस्ने बुझक्कडहरु वरपरका साथीहरुले बुझोस् नबुझोस् छेउ न टुप्पाको अंग्रेजी भुक्न थालि हाल्छन्, अझ सोमरस आधाआधि लागेपछि त मेरी आम्मै…“यु नो ? हु इज मी ?” मिलोस् नमिलोस् के जान्छ र मेरो भनेर हिन्दी, जापानी, चाइनिज, अंग्रेजी भटटट निस्कि हाल्छ, तर उनीहरुलाई थाहा छैन कि भट्टिमा बस्नेहरु वल्लाघरे माईला दाई र तल्लाघरे मंगले, श्यामे, काले, गोरेहरुले उनको भाषा नबुझेर अलमल्ल परेका छन् भनेर ।

अब त नास्ता, खाजा र खाना अनि विशुद्ध भात र ढिंडो भन्दा पाखे गवाँरको उपनाम पाउन बेर छैन, ’ ब्रेकफास्ट, लन्च, डिनर’ भन्दा उच्च श्रेणीको शिक्षित भनाइने रे, हे दैव ! कति विकसित भएका हाम्रा सन्तानहरु मेरी आम्मै नि…कुरा सुन्दा नि कान थुनेर बस्नु पर्ने…!!? हग्न मुत्न भनेपछि जिब्रो निकालेर दुवै हातले मुख छोपेर लजाउनु पर्ने रे…?? हग्न जानेलाई “लङ जाने” रे, मुत्नलाई “सट जाने” रे । गर्भवतीलाई खाजा खुवाउनलाई “बेबि शावर” बिहेको कुरा छिन्नलाई “ईङ्गेजमेन्ट” विवाह उत्सवलाई म्यारेज सेरेमोनी’ भन्दा त यस्तो लाग्छ कि नेपालीलाई टुटफुटे अंग्रेजी भाषाले निकै नै मोहनी ला ए जस्तो छ ।

नेपालको धरातलमा आएका कुनै विदेशी नागरिक महिला होस् या पुरुष होस् उनीहरुका पुरुषले दौरा सुरुवाल र ढाका या भादगाउँले टोपी लगाएर र महिलाले नेपाली फरिया चोली लाएर टाउकोमा लालीगुराँस, सयपत्री फूल सिउरेको देख्दा नेपाली महानुभावहरुलाई स्वाङ पारेको महशुस हुँदो हो । आफूलाई गिज्याएको आभास पाउँदो हो नेपालीहरु… नेपालीहरु समाजको विकास, देशको विकासको लागि प्रतिस्पर्धी हुनुभन्दा नि लवाइ खवाइ, मनोरञ्जन, पार्टी, सेमिनारमा प्रतिस्पर्धा गर्न अग्रसर हुन्छन् ।
अब नेपालमा कुनै सामान्य कार्यक्रम किन नहोस् “केक” काटेर उत्सव मनाउनमा तँछाडमछाड गर्न पछि परेका छैनन् हुन त देशका शासकवर्गहरु नै पौने करोडको “केक” देखाएर समृध्दिको नारा घन्काउन पछि पर्दैनन् भने जनताको त के कुरा गर्नु र !

एउटा “केक” ले कति छाक खाना टर्छ र कति पैसाको जोहो हुन्छ भन्ने लेखाजोखा गर्दैनन् । हिसाबको कुरै छोडौं न, अरुको भन्दा ठूलो, राम्रो मसलेदार “केक” ल्याएर काट्न पाईएन भने त जन्मदिन यानेकि बर्थ डे नै खल्लो महशुस हुँदो हो । ’म नेपाली हुँ, यो मेरो संस्कृति अन्तर्गत पर्दैन’ भनेर भन्ने नेपाली त शायदै कमि होला हाम्रा नेपालाँ… हेटौडा कपडा उद्योग बन्द छ, बिरगञ्ज चिनी कारखाना तहसनहस छ, जनकपुर चुरोट कारखानामा माकुराले जालो भर्दैछ, भक्तपुरको चाइनिज ईंटा कारखानामा एपार्टमेन्ट तैयार हुँदैछ… भनेर कसले चिन्ता लिने र …! त्यहाँ पनि ’केक’ काटेर उद्घाटन गर्ने कत्रो चाहना थियो होला विशिष्टताहरूको । सार्वजनिक जग्गा हड्पे पनि ’केक’ नै काट्ने, पौराणिक चैत्य देवल भत्काए नि ’केक’ नै काट्ने, दौडा सुरुवाल लाएर नमाज पढेपनि ’केक’ नै काट्ने… हे प्रभु ! नसकिने भो अब त ! बाउको मुख हेर्ने दिन होस् कि गुफा राख्ने कोठामा रात परोस् ’केक’ नकाटीकन त भूत प्रेत पनि प्रसन्न नहुने दिन आएछ नेपालमा ।
अस्तु !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार