
देशमा समय र परिस्थितिको कारणले नेपाल सरकारले उपत्यका लगायत करीब २३ जिल्लामा निषेधाज्ञा जारी गराएको छ । यो वास्तविक रुपमा बाध्यता हो सरकारको लागि, किनकि यदि आम जनसमुदायमा समय र परिस्थितिलाई बुझेर अनुशासितता झल्काएको भए शायद सरकारले यो कदम उठाउने थिएन होला । आम नागरिकमा चेतना भैदिएको भए आज यो दुर्दशा भोग्नुपर्ने अवस्थाको सृजना हुनेपनि थिएन ।
कोभिड–१९ एउटा खतरनाक जैविक संक्रमण हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारण नागरिकले बेवास्ता गरेर लापरवाही तरिकाले भिडभाडमा जानु, सरकारी तथा गैरसरकारी निकायले सभा सम्मेलन गर्नु गराउनु, अनि केही सामाजिक संघ संस्थाले कार्यक्रमको आयोजना गरेर भिड जम्मा गर्नु गराउनु ठिक होईन ।
यसै गरी राजनितिक पार्टीहरुले संगठन विस्तारको नाममा कार्यकर्ता भेला गर्नु यो अहिलेको परिस्थितीमा समय अनुकुल छैन । यो हामी सवैले बुझ्नु जरुरी रहेको छ । यदी हामीले यस्तो क्रियाकलाप बन्द गरिएन भने कोरोना महामारी संक्रमणलाई खुल्ला रुपले आमन्त्रित गर्नु सरह हुन्छ ।
यसै गरी विश्व स्वास्थ्य संगठनले पनि दोधारे समाचार सम्प्रेषण गर्नाले पनि यो रोगले भयानक रुप लिएको हो भन्दा फरक नपर्ला । निषेधाज्ञा भन्ने आदेश विगतमा राजनीतिक आन्दोलनको क्रममा सत्ता पक्षले विपक्षी राजनीतिक दलले बखेडा नगरोस् । हुल दंगा नहोस् सर्वसाधारण जनतामा अशान्ति नहोस् भन्नाको लागि कर्फ्यूको रुपमा भएको हामीलाई थाहा छ ।
तर अहिलेको विषम परिस्थितिमा सरकार स्वयमले खतरा मोलेर यो सराहनीय कार्य गरेको छ । यसलाई सबैले मनन गर्न जरुरी छ । यो निषेधाज्ञाले देशको आम नागरिकको हितलाई संगालेको छ । यतिखेरको यो अवस्थालाई पार्टीगत हिसाबले अनर्गल बिचार र अफवाह फैलाएर सरकारलाई दोषी ठान्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो ।
किनकि यो संक्रमण ल्याउने भाइरसले कसैलाई चिन्दा पनि चिन्दैन र छोड्दा पनि छोड्दैन । चाहे मै हुँ भन्ने राजनीतिज्ञ होस् या चाहे विपक्षी पार्टीका धुरन्धर व्यक्ति नै किन नहोस् । यसले न निषेधाज्ञा गराउनेलाई छोड्छ, न निषेधाज्ञा तोडेर हिंड्न खोज्ने अज्ञानी बहादुरलाई नै छोड्छ ।
कोरोना भाइरस त्यो व्यक्तिबाट मात्रै टाढिन्छ जसले आत्मरक्षा, आत्मविश्वास र आत्मअनुशासनको परिधिमा रहन जानेको छ । यदि कोरोना बनेको केहि होइन यो रुघाखोकी जस्तै सामान्य हो बलियो र निडरलाई छुदैन भनेर हठी बानी गर्छ भने त्यो एकजना घमण्डी र अज्ञानीको कारणले पुरै टोलमा महामारी फैलिएर समाज नै सोतर हुन बेर छैन ।
यतिखेर नेपाल सरकारले अत्यधिक भिड हुने शहर र जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ यसलाई सबैले सम्मान पूर्वक पालन गर्नैपर्छ । आफूले मात्रै होइन वरपरका छरछिमेकलाई समेत पालन गर्न सरसल्लाह दिनु नै असल मानवीय पहिचान हुनेछ ।
विगतको घटनाक्रमलाई हेर्दा नेपाल सरकारले पनि यो रोगलाई त्यत्ति गहिरिएर सोचेको जस्तो लागेको छैन । भारतीय सञ्चार माध्यममा मात्रै केन्द्रित रहेर भारतमा जे कदम चाल्यो त्यसैको अनुसरण गरेर हिंड्दा पनि यो रोगले पखेटा फिंजाउन सफल भएको हो ।
यो रोगको लक्षणमा तातोपानी, बेसार, गुर्जुले ठिक गर्छ भन्ने एक थरिको हल्लाले पनि जनमानसमा यो अत्यन्तै सामान्य रोग हो, डराउनु नहुने भन्ने टीका टिप्पणीले पनि लापरवाही बढेको देखिन्छ ।
रुघाखोकी जस्तै सामान्य रुपमा निको भएपछि पनि यसले आफ्नो ठाउँ नछोड्ने भएकोले ढुक्कसंग बस्न नमिल्ने कुरा बेलायती पत्रिका नेचरमा समेत उल्लेख गरिएको पाईएको छ । कोरोना संक्रमण पछि सामान्य उपचार पछि निको भएर घर फर्केपनि पूनः चार पाँच महिनामा यो रोग पूनरागमन हुन सक्ने सम्भावना भएकोले पुर्णरुपमा सचेत रहन जरुरी छ भनेर अनुसन्धानकर्ताहरुले बताएको छ । यसै गरी दैनिक ज्यालादारी काम गर्ने श्रमिक वर्गहरुले धेरै ध्यान दिनुपर्ने देखिन्छ ।
प्रत्येक व्यक्तिमा कोरोना छ कि छैन भनेर दिनका दिन ज्वरो नाप्ने, टाउको दुख्यो कि सिटामोल खाएर व्यक्तिगत डाक्टर बन्न खोज्नुभन्दा आफू आफूमै दूरीको फरकमा रहेर सचेत हुनु नै लाभदायक हुनेछ ।
यो रोगले छुने बित्तिकै मृत्यु हुने अफवाह फैलाएर जनमानसमा सन्त्रास फैलाउनु भन्दा यो रोगले दीर्घकालीन जीवनलाई नराम्रो असर गर्छ सचेत हुन जरुरी छ भनेर सुझाव सहितको घरेलु उपाय बताउनु नै यो अवस्थामा संजीवनी बुटी जस्तै हुनेछ
हामी नेपालीहरुको एउटा बानी छ कि “कागले कान लग्यो…रे “ भन्ने बित्तिकै कागको पछाडि कुद्ने र एउटा भेंडाले कुनै बाटो पार गर्ने क्रममा कुनै कारणवश अगाडिको खुट्टा खुम्च्याएर हाम्फाल्यो भने पछाडिका सबै भेंडाहरु त्यै तरिकाले हामफालेर पछिपछि कुद्ने गर्छन् । त्यस्तै तरिको व्यवहार हामीले पनी गर्छौं । एक पाइला दायाँबायाँ सोच्दैनौ अनि पछि पछुताउनु सिवाय केही हात लाग्दैन ।
अहिलेको ताजा अवस्थामा जुन निषेधाज्ञा जारी भएको छ । यसलाई पूर्णतया पालना गर्नु जरुरी रहेको छ । भारतबाट फर्केका नागरिकहरुलाई कडा निगरानी र निश्चित छानबिन गर्ने प्रकृयालाई अगाडि बढाउन जरुरी देखिन्छ ।
अहिले पश्चिम क्षेत्रको डोटीमा समेत संक्रमितको संख्या बढेको समाचार प्राप्त भएको छ । यस्तो बेलामा स्वयम क्वारेन्टाइनमै बस्दा अझ उत्तम हुनेछ । संक्रमितको शंका लाग्ने बित्तिकै त्यसबाट डराएर भाग्ने होइन कि ती व्यक्तिलाई सुरक्षित गर्न तर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
निषेधाज्ञा छ । बाहिर जान मिल्दैन अब के गर्ने के खाने कसरी बस्ने समय कसरी बिताउने भनेर आफ्नै घरभित्र पनि सामुहिक भेला गर्ने बानीलाई त्यागेर आफूले आफैलाई निषेधाज्ञाको ठाडो आदेश दिएर सजग बनौं सचेत रहौं । यसरी सवैभन्दा पहिल आफु अनुशासनमा रहौं, आफ्नो परिवारलाई अनुशासनमा राखौै ।
निषेधज्ञा भएको दुई दिन भएको छैन खाने कसरी बस्ने कसरी भनेर सोच्ने तर रोगबाट कसरी बच्ने भन्ने बारेमा नसोच्ने भएमा हामी आफुले आफैलाई दुःखको बाटो पहिल्याउनुको सट्टा अरु केही नहुन सक्छ । तसर्थ जैविक संक्रमणको कारणले नेपाल मात्र होईन विश्व रोईरहेको बेला कसरी आफु, परिवार र समाजका सदस्यहरु बच्ने भन्ने बारेमा सोचेर सजग रहनु नै हामी सबैको लागि उत्तम बाटो हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij