Oct 31 2026 | २०८३, कार्तिक १४, गते

Oct 31 2026 | २०८३, कार्तिक १४, गते

विकास श्रेष्ठको कला र सिर्जनामा द्वाल्खा भीमसेनदेखि मौलिक संस्कृतिसम्म

विकास श्रेष्ठको कला र सिर्जनामा द्वाल्खा भीमसेनदेखि मौलिक संस्कृतिसम्म

दोलखाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई कलामार्फत जीवन्त बनाउने प्रयासमा लागेका विकास श्रेष्ठले दोलखा भीमसेन देउलगायत विभिन्न देवीदेवता, जातजाति, जनावर र परम्परागत संस्कृतिसँग सम्बन्धित आकृतिहरू तयार गर्दै आएका छन्। हाल कास्कीको पोखरामा बसोबास गर्दै आएका श्रेष्ठले आफ्नो जन्मभूमि दोलखाको मौलिक कला, संस्कृति र पहिचानलाई सिर्जनामार्फत संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छन्।

दोलखा भीमेश्वर नगरपालिका–२, दोलखाको डोक्छेँमा जन्मिएका श्रेष्ठले आफ्नो सिर्जनामार्फत दोलखाको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै आएका छन्। उनका कलाकृतिमा दोलखा भीमसेन देउ, नेवारी परम्परा र संस्कार, शेर्पा तथा तामाङ समुदायका सांस्कृतिक पक्ष, गौरीशंकर हिमाल, माछापुच्र्छे हिमाल र बाघ  भालुजस्ता जनावरका आकृति तथा परम्परागत देवीदेवताका स्वरूप समेटिएका छन्।

bhimeshwor2.jpg

दोलखाको मौलिक पहिचान झल्काउने यस्ता कलाकृतिले स्थानीय कला र संस्कृतिप्रति नयाँ पुस्ताको चासो बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

दोलखाका अग्रज तथा संस्कृतिप्रेमी यज्ञकुमार प्रधान, दिव्यमणि राजभण्डारी र जयनारायण प्रधानलगायत व्यक्तिहरू र दोलखाको कला, संस्कृति तथा परम्पराको महत्वलाई आफ्नो लेखिएको फोटोमा उजागर गर्दै आएका छन्।

दोलखामा जन्म, पोखरामा कर्म

विकास श्रेष्ठ दोलखाका ईलाबहादुर श्रेष्ठ र मुलुकमैया श्रेष्ठका जेठा छोरा हुन्। उनका माइला भाइ सुरेशकुमार श्रेष्ठ र कान्छा भाइ जीवनकुमार श्रेष्ठ हुन्। उनकी बहिनी जयन्ती श्रेष्ठ हुन्।

वन सेवामा कार्यरत श्रेष्ठले जागिरको सिलसिलामा पोखरामा लामो समय बिताएका छन्। उनी पोखरास्थित वन कार्यालयमा वन अधिकृत (डीएफओ) का रूपमा कार्यरत रहेका थिए। पेसागत जिम्मेवारी निर्वाह गर्दै आएका श्रेष्ठले आफ्नो जन्मभूमि दोलखाको कला, संस्कृति र परम्पराप्रतिको लगावलाई पनि निरन्तरता दिँदै आएका छन्।

श्रेष्ठले २०३७/३८ सालतिर दोलखाका भीमबहादुर जोशी र गणेशकुमारी जोशीकी जेठी छोरी मिलन जोशीसँग विवाह गरेका थिए। उनीहरूका सन्तानमध्ये छोरी कृतिका श्रेष्ठ तथा छोराहरू प्रयास श्रेष्ठ र प्रयत्न श्रेष्ठ रहेका छन्। उनका सन्तान हाल नेपाल, अमेरिका र अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्।

Bhimeshwor3.jpg
दोलखा भीमेश्वर (राजकियपूजा)

पारिवारिक संस्कारबाट कलाप्रतिको प्रेरणा

विकास श्रेष्ठको कला र संस्कृतिप्रतिको रुचिमा पारिवारिक वातावरणको पनि महत्वपूर्ण प्रभाव रहेको देखिन्छ। उनका बुबा ईलाबहादुर श्रेष्ठ बाँसुरीवाद्यनमा निपुण थिए। बाँसुरीसँगै अन्य परम्परागत बाजा बजाउनसमेत सिपालु श्रेष्ठले आफ्नो सांगीतिक प्रतिभामार्फत दोलखाका स्थानीय बासिन्दालाई प्रभावित पारेका थिए।

उनकी आमा मुलुकमैया श्रेष्ठ पनि परिवारको सांस्कृतिक वातावरणको महत्वपूर्ण हिस्सा थिइन्। बाल्यकालदेखि नै घरपरिवारमा कला, संगीत र संस्कृतिसँग जोडिएका गतिविधि देख्दै हुर्किएका विकासमा मौलिक संस्कृतिप्रति विशेष लगाव विकास भएको मान्न सकिन्छ।

bhimeshwor-1.jpg
दोलखा भीमेश्वर (नित्यपूजा)

डिजिटल युगमा मौलिक कलाको संरक्षणको प्रयास

समयसँगै परम्परागत कला र संस्कृतिको स्वरूप परिवर्तन हुँदै गएको अवस्थामा विकास श्रेष्ठले कलामार्फत आफ्नो जन्मभूमिको पहिचानलाई जीवन्त राख्ने प्रयास गरिरहेका छन्। दोलखाको इतिहास, संस्कृति र धार्मिक आस्थासँग सम्बन्धित विषयलाई सिर्जनामा उतार्नु उनको प्रयासको महत्वपूर्ण पक्ष हो।

Bikash.jpg
विकास श्रेष्ठद्वारा सिर्जना गरिएका केही कलात्मक चित्रहरू

दोलखा नेपाल भाषा, नेवारी संस्कार तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता व्यक्तिगत प्रयासले पनि योगदान पुर्‍याउन सक्छन्। विशेषगरी नयाँ पुस्ताले आफ्नो मौलिक पहिचान र इतिहासबारे जानकारी पाउने माध्यमका रूपमा कलाकृतिहरू उपयोगी हुन सक्छन्।

दोलखाबाट बाहिर पोखरामा रहेर पनि आफ्नो जन्मभूमिको कला, संस्कृति र धार्मिक सम्पदाप्रति निरन्तर चासो राख्दै आएका श्रेष्ठको प्रयासले दोलखाको सांस्कृतिक पहिचानलाई फराकिलो क्षेत्रमा चिनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

gaurishankar-himal.jpg
कालिञ्चोक कुरीबाट देखिएको गौरीशंकर हिमालको दृश्य

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार