संघर्ष, समर्पण र सेवाबाट निर्माण भएको एक भरोसायोग्य युवा नेतृत्व
दोलखा कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, संगठन निर्माण र जनतासँगको प्रत्यक्ष सम्बन्धको विषयमा बहस भइरहेका बेला युवा नेता राकेश श्रेष्ठ (रामदर्शन) को राजनीतिक तथा सामाजिक यात्राले पुनः चर्चा पाउन थालेको छ। समर्थकहरूका अनुसार पद र प्रतिष्ठाभन्दा संगठन, विचार र जनताको सेवालाई केन्द्रमा राख्दै अगाडि बढेका श्रेष्ठ आज दोलखा कांग्रेसभित्र भरोसायोग्य, कर्मशील र जनतासँग जोडिएको युवा नेतृत्वका रूपमा स्थापित भएका छन्।
दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–२ (साविक दोलखा गाउँपञ्चायत वडा नं. ८, डोक्छे–प्वाकल्चा) निवासी अमृतबहादुर श्रेष्ठ र शान्ती श्रेष्ठका कान्छा सुपुत्र राकेश श्रेष्ठ विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा प्रारम्भ गरेका उनले लोकतान्त्रिक आन्दोलन, संगठन निर्माण र जनसेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आफ्नो अलग पहिचान बनाउन सफल भएका छन्।
श्रेष्ठको राजनीतिक यात्रा सहज थिएन। विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनले लोकतान्त्रिक मूल्य–मान्यता र कांग्रेसको विचारलाई गाउँ–गाउँसम्म पुर्याउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरे। तत्कालीन द्वन्द्वकालीन कठिन परिस्थितिमा समेत संगठनलाई चलायमान राख्न र कार्यकर्तालाई एकताबद्ध बनाउन उनले निरन्तर काम गरेको पुराना कांग्रेसजनहरू स्मरण गर्छन्।
राजधानीकेन्द्रित राजनीतिक अभ्यास हाबी हुँदै गएको समयमा गाउँमै बसेर जनताका समस्या बुझ्ने, कार्यकर्तासँग सम्बन्ध कायम राख्ने र संगठन विस्तारमा लागिरहने नेताका रूपमा उनको परिचय बन्यो। यही कारणले उनी कार्यकर्तामाझ लोकप्रिय र सहज पहुँच भएका नेताका रूपमा चिनिन थाले।
दोलखा कांग्रेसले विभिन्न समयमा राजनीतिक उतारचढाव र आन्तरिक चुनौतीको सामना गरिरहेका बेला श्रेष्ठले संगठनलाई बलियो बनाउने अभियानलाई प्राथमिकतामा राखे। वडा तहदेखि जिल्ला तहसम्मका कार्यकर्तासँग नियमित सम्पर्क, प्रशिक्षण, समन्वय र जनसम्पर्क अभियानमार्फत उनले संगठनलाई सुदृढ बनाउने प्रयास जारी राखेका छन्।
विशेषगरी नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने, युवाहरूलाई राजनीतिप्रति आकर्षित गर्ने र पार्टीलाई जनतासँग प्रत्यक्ष सम्बन्धमा राख्ने अभियानमा उनको भूमिका उल्लेखनीय रहेको समर्थकहरू बताउँछन्।
राकेश श्रेष्ठको परिचय केवल राजनीतिमा सीमित छैन। सामाजिक सेवाका विविध क्षेत्रमा उनको सक्रिय सहभागिता रहँदै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी दोलखाका १०० भन्दा बढी विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, झोला, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गर्ने अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्न, विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा समुदायस्तरका विकास कार्यक्रम सञ्चालन गर्न उनले निरन्तर पहल गर्दै आएका छन्। राहत वितरण, जनचेतनामूलक कार्यक्रम, समुदाय विकास तथा मानवीय सेवाका अभियानमा उनको सक्रिय उपस्थिति देखिने गरेको छ।
स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायसम्म सेवा पुर्याउने अभियानमा पनि श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन, चिकित्सकको समन्वय तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा उनले योगदान पुर्याएका छन्।
कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा प्रभावित समुदायलाई सहयोग पुर्याउन उनले खेलेको भूमिकाको समेत प्रशंसा हुने गरेको छ। समर्थकहरूका अनुसार स्वास्थ्य क्षेत्रमा उनको सक्रियताले हजारौँ दोलखाली नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
दोलखा कांग्रेसभित्र विभिन्न समयमा गुटगत समीकरण देखिए पनि श्रेष्ठलाई कुनै एक समूहको सीमित नेताका रूपमा भन्दा संगठन र जनताको पक्षमा उभिने नेताका रूपमा हेरिने गरिन्छ। व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्ने उनको शैलीका कारण विभिन्न समूहका कार्यकर्ताबीच समेत उनको स्वीकार्यता कायम रहेको दाबी गरिन्छ।
राजनीतिक जीवनमा सफलता र असफलता दुवै स्वाभाविक हुन्छन्। विभिन्न निर्वाचन र राजनीतिक प्रतिस्पर्धामा चुनौतीको सामना गरे पनि श्रेष्ठले आफ्नो सक्रियता कहिल्यै रोकेनन्। निर्वाचन परिणामभन्दा जनताको सुख–दुःखमा साथ दिने, समस्या समाधानका लागि पहल गर्ने र संगठनलाई बलियो बनाउने कार्यलाई उनले निरन्तरता दिइरहेका छन्।
उनका समर्थकहरू भन्छन्, “राकेश श्रेष्ठको विशेषता पद खोज्नु होइन, जिम्मेवारी निर्वाह गर्नु हो। जहाँ संगठनलाई आवश्यकता पर्छ, त्यहाँ उहाँ अग्रपंक्तिमा देखिनुहुन्छ।”
दोलखा कांग्रेसमा आगामी नेतृत्व चयनको विषय चर्चामा रहँदा राकेश श्रेष्ठको नाम पनि प्रमुख रूपमा उठ्न थालेको छ। यद्यपि उनले कुनै पदका लागि उम्मेदवारी घोषणा गरेका छैनन्। तर संगठन, विचार, सामाजिक सेवा र जनसम्पर्कमा आधारित उनको लामो सक्रियताका कारण नेतृत्वको सम्भावित विकल्पका रूपमा उनको चर्चा हुन थालेको छ।
एक कांग्रेस कार्यकर्ताको भनाइ छ, “उहाँ कुन पदमा जाने भन्नेभन्दा पनि दोलखा कांग्रेसलाई बलियो बनाउन गरेको योगदान महत्वपूर्ण छ। राजनीतिलाई पेशा होइन, सेवा मान्ने नेतृत्वको आवश्यकता आज झन् बढी महसुस भइरहेको छ।”
दोलखा कांग्रेसका कार्यकर्ताहरूका अनुसार राकेश श्रेष्ठको राजनीतिक यात्राको मूल आधार पद प्राप्ति होइन, जनताको सेवा, संगठन निर्माण र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता हो। वर्षौँदेखि गाउँ–गाउँमा पुगेर जनतासँग सम्बन्ध कायम राख्ने, सामाजिक सेवामा सक्रिय रहने र संगठनलाई बलियो बनाउने प्रयासका कारण धेरैले उनलाई ‘सतिसालजस्तै अडिग, भरोसायोग्य र समर्पित युवा नेतृत्व’ का रूपमा लिन थालेका छन्।
दोलखा कांग्रेसभित्र नेतृत्वको बहस जुनसुकै दिशामा अघि बढे पनि राकेश श्रेष्ठको राजनीतिक सक्रियता, सामाजिक योगदान र संगठनप्रतिको समर्पणले उनलाई जिल्लाको प्रभावशाली युवा नेताका रूपमा स्थापित गराएको देखिन्छ। जनताको सुख–दुःखमा साथ दिने र राजनीतिलाई सेवाको माध्यमका रूपमा हेर्ने उनको यात्राले आगामी दिनमा पनि दोलखाको राजनीतिमा विशेष महत्व राख्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij