जीवनमा सफलता प्राप्त गर्ने सपना हरेक व्यक्तिको हुन्छ । तर सफलता हासिल गर्ने बाटो, सङ्घर्ष र त्यसको परिभाषा भने व्यक्तिअनुसार फरक हुन्छ । कोही आर्थिक समृद्धिका लागि विदेशको यात्रा रोज्छन् भने कोही आफ्नै देशमा अवसर खोज्दै निरन्तर मेहनत र सङ्घर्ष गर्छन् । यस्तै दृढ सङ्कल्प, मेहनत र आत्मविश्वासबाट स्वदेशमै उल्लेखनीय सफलता हासिल गर्ने उदाहरण बनेकी छन् नेपाल सरकारकी सहसचिव आरती न्यौपाने ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवाकी ३१ वर्षीया आरती नेपाल प्रशासन सेवाको सहसचिव पदमा खुला प्रतिस्पर्धाबाट कम उमेरमै सफलता प्राप्त गर्ने पहिलो महिला बनेकी छन् । लोक सेवा आयोगको विज्ञापन नम्बर १६६५९/२०८२–८३ अन्तर्गत उनलाई २०८३ साल जेठ ५ गते नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरिएको हो ।
लोक सेवा आयोगका अनुसार प्राविधिक तथा समावेशी कोटाबाहेक खुला प्रतिस्पर्धाबाट कम उमेरमा सहसचिव बन्न सफल हुने आरती पहिलो महिला हुन् । उच्च तहको सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट सफलता हासिल गर्नु निकै चुनौतीपूर्ण मानिन्छ ।
बुबा विश्वराम न्यौपाने र आमा मेनुका न्यौपानेकी जेठी सन्तान आरतीको जन्म २०५१ साल साउन २० गते भएको हो । उनले भक्तपुरको दुवाकोटस्थित दुवाकोट स्कुलबाट प्राथमिक तहको शिक्षा सुरु गरिन् । भीएस निकेतन स्कुलबाट एसइई, केएमसी कलेजबाट कक्षा १२ र एपेक्स कलेजबाट बीबीए अध्ययन पूरा गरेपछि उनले निजामती सेवातर्फ आफ्नो यात्रा सुरु गरिन् ।
बुबाको सुझाव र आफ्नै इच्छाशक्तिका कारण उनले शाखा अधिकृतको तयारी गरिन् । २०७५ सालमा नेपाल प्रशासन सेवाको शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएकी आरतीले पाँच वर्षभन्दा कम समयमै २०८० सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बन्न सफलता पाइन् । त्यसपछि २०८३ सालमा उनी प्रथम श्रेणीको सहसचिव बन्न सफल भइन् ।
“उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक” भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइझैँ आरती सानैदेखि आफ्नो लक्ष्यप्रति स्पष्ट र दृढ रहेको उनका परिवारको भनाइ छ ।
एक वर्षअघि मात्र सहसचिव पदबाट अवकाश पाएका उनका पिता शिवराम न्यौपानेले छोरीको मेहनत र क्षमतामाथि सधैँ विश्वास गरेको बताए ।
“आरती सानैदेखि पढाइमा अब्बल र मेहनती थिइन् । उनले जे गर्ने अठोट लिन्छिन्, त्यसमा सफल हुन्छिन् भन्ने विश्वास थियो । त्यसैले सहसचिवमा प्रयास गर्न सुझाव दिएको थिएँ, परिणाम पनि राम्रो आयो,” उनले भने ।
आरती मात्र होइन, उनकी बहिनी पूजा न्यौपाने पनि अध्ययन र प्रतिस्पर्धामा सफल रहँदै आएकी छन् । उनले कानुन, परराष्ट्र तथा मानव अधिकार आयोगका विभिन्न पदमा नाम निकालिसकेकी छन् । हाल उनी परराष्ट्र सेवामा अधिकृतका रूपमा कार्यरत छन् ।
मध्यम वर्गीय परिवारमा हुर्किएकी आरतीका लागि उच्च शिक्षाका लागि विदेश जाने अवसर पनि थियो । अमेरिका, बेलायत, अस्ट्रेलिया वा युरोपका विभिन्न देशमा अध्ययनका लागि जाने सम्भावना हुँदाहुँदै उनले स्वदेशमै केही गर्ने लक्ष्य रोजिन् ।
देशप्रतिको लगाव, आत्मविश्वास र आफ्नै क्षमतामाथिको भरोसाले उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्यो । उनले विदेश गएर मात्र सफलता प्राप्त हुन्छ भन्ने सोचलाई चुनौती दिँदै मेहनत, अनुशासन र निरन्तर प्रयासले नेपालमै उच्च सफलता हासिल गर्न सकिने देखाएकी छन् ।
आरतीका श्रीमान् पनि परराष्ट्र सेवाका उपसचिव हुन् । परिवारको साथ र सहयोगसँगै उनले आफ्नो लक्ष्य पूरा गर्न सफल भएको बताइन्छ ।
लोक सेवा आयोगका अनुसार सहसचिव पदमा प्रतिस्पर्धा गर्न अधिकृत तहमा कम्तीमा सात वर्ष काम गरेको अनुभव आवश्यक हुन्छ । लिखित परीक्षा उत्तीर्ण गरेपछि समूहगत छलफल, केस स्टडी, प्रस्तुतीकरण र अन्तर्वार्तालगायतका चरण पार गरेपछि मात्र सहसचिवमा सिफारिस गरिन्छ ।
यसअघि ३२ वर्षको उमेरमा प्रदीप परियार खुला/समावेशी प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएका थिए भने सरिता दुवाल आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी थिइन् ।
आरती न्यौपानेको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, स्वदेशमै बसेर मेहनत, इमानदारिता र दृढ इच्छाशक्तिका माध्यमबाट उच्च सफलता हासिल गर्न सकिन्छ भन्ने युवापुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij