Oct 31 2026 | २०८३, कार्तिक १४, गते

Oct 31 2026 | २०८३, कार्तिक १४, गते

चक्रवात ‘अर्णव’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

चक्रवात ‘अर्णव’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

नेपाल सम्वत् ११४६, कौलागा: ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा बादल लागेको छ भने विभिन्न प्रदेशमा वर्षा भइरहेको छ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

आज राति पनि देशभर बादल लाग्नेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कृषि कार्यदेखि हिमाली पर्यटनसम्म सतर्कता अपनाउन आग्रह

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भन्दै महाशाखाले आज र भोलि कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पनि आग्रह गरिएको छ।

उच्च हिमाली क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई समेत महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार चक्रवात ‘अर्णव’को प्रभाव भने भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार