Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन, दोषीलाई फाँसी दिन माग

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन, दोषीलाई फाँसी दिन माग

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय दिलाउन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

स्वतन्त्र आमा नेपालको अगुवाइमा भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूले गरिमा चौधरीको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्ने मागसमेत गरेका छन्। उनीहरूले बलात्कारका दोषीलाई मृत्युदण्ड अर्थात् फाँसीको सजाय दिनुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए।

त्यस्तै, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ भन्ने नारासहितका प्लेकार्ड पनि प्रदर्शनमा देखिएका थिए। प्रदर्शनकारीहरूले विकास निर्माणसँगै महिला तथा बालबालिकाको सुरक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका थिए।

maitighar-1.jpg

तीन वर्षीया गरिमाको निर्मम हत्या

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी साउन ३१ गतेदेखि हराएकी थिइन्। खोजी गर्ने क्रममा उनी भदौ २ गते एउटा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। घटनाको अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउँदै दोषी पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने माग प्रदर्शनकारीहरूले गरेका छन्।

गरिमा चौधरीको घटनापछि देशका विभिन्न स्थानमा न्यायको माग गर्दै प्रदर्शन तथा विरोधका कार्यक्रम भइरहेका छन्। प्रदर्शनकारीहरूले बालिका तथा महिलामाथि हुने हिंसा र यौनजन्य अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी सुरक्षा व्यवस्था तथा कडा कानुनी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार