Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम विदाइ, शोभा भगवतीमा राजकीय सम्मानसहित अन्त्येष्टि

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम विदाइ, शोभा भगवतीमा राजकीय सम्मानसहित अन्त्येष्टि

नेपाली तथा नेपालभाषा साहित्यका विशिष्ट स्रष्टा एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आइतबार राति निधन भएका श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीपछि शवयात्रासहित शोभा भगवतीस्थित कर्णदीपमा लगेर अन्तिम संस्कार गरिएको हो।

durgalal6.jpg

अन्तिम संस्कारअघि श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित ‘नेवाः मंका छेँ’मा राखिएको थियो। त्यहाँ साहित्यकार, कलाकार, राजनीतिकर्मी, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसपछि निकालिएको शवयात्रा शोभा भगवती पुगेको थियो। शोभा भगवती घाटमा भएको अन्तिम संस्कारमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायतले शोभा भगवती पुगेर जनकवि श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

Durgala2.jpg

छ दशकभन्दा लामो साहित्यिक यात्रा

दुर्गालाल श्रेष्ठले करिब छ दशकभन्दा लामो समय नेपाली र नेपालभाषा साहित्यको क्षेत्रमा सक्रिय भएर बिताउनुभयो। कविता, गीत, बालसाहित्य तथा साहित्यका विभिन्न विधामा उहाँले निरन्तर कलम चलाउनुभएको थियो। विशेषगरी नेपालभाषा साहित्यको विकास, संरक्षण र प्रवर्द्धनमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ। उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

नेपालभाषा र नेपाली भाषालाई समान रूपमा आफ्नो सिर्जनाको माध्यम बनाउनुभएका श्रेष्ठका रचनामा जनजीवन, प्रेम, प्रकृति, सामाजिक चेतना, सांस्कृतिक पहिचान र मानवीय संवेदना प्रमुख रूपमा अभिव्यक्त भएका छन्। उहाँका गीत तथा कविताले नेपाली समाजमा छुट्टै पहिचान बनाएका छन्।

लोकप्रिय गीत ‘फूलको आँखामा फूलै संसार’ का रचनाकारका रूपमा पनि उहाँ नयाँ पुस्तामाझ परिचित हुनुहुन्थ्यो। सरल शब्दमा गहिरो जीवनदर्शन र सकारात्मक भाव व्यक्त गर्ने उहाँका गीत तथा कविताहरू नेपाली साहित्य र संगीतका क्षेत्रमा लामो समयसम्म स्मरणीय रहनेछन्।

durgalal1.jpg

‘जनकवि’ उपाधिदेखि जगदम्बाश्रीसम्म

साहित्यमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि दुर्गालाल श्रेष्ठलाई ‘जनकवि’ उपाधिबाट सम्मान गरेको थियो। त्यसैगरी उहाँलाई वि.सं. २०६७ मा प्रतिष्ठित जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो।

नेपालभाषाको साहित्यलाई जनजीवनसँग जोड्दै भाषिक तथा सांस्कृतिक पहिचानका पक्षमा उहाँले निरन्तर आवाज उठाउनुभएको थियो। उहाँका सिर्जनाले नेपालभाषा साहित्यलाई समृद्ध बनाउनुका साथै नेपाली साहित्यको दायरालाई समेत फराकिलो बनाएको साहित्यिक क्षेत्रका व्यक्तिहरूको बुझाइ छ।

साहित्य र संगीत क्षेत्रमा अपूरणीय क्षति

दुर्गालाल श्रेष्ठको निधनले नेपालभाषा साहित्य मात्र नभई नेपाली साहित्य, गीत तथा सांस्कृतिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको छ। साहित्य सिर्जनाका माध्यमबाट समाजका विविध पक्षलाई अभिव्यक्त गर्दै आउनुभएका श्रेष्ठ आफ्ना सिर्जनामार्फत जनतासँग नजिक रहनुभएको थियो।

उहाँको निधनसँगै एउटा पुस्ताको साहित्यिक आवाज मौन भएको छ। तर उहाँले छाडेर जानुभएका कविता, गीत, बालसाहित्य र अन्य सिर्जनाहरूले उहाँलाई नेपाली तथा नेपालभाषा साहित्यमा दीर्घकालसम्म जीवित राख्नेछन्।

durgal-12.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार