नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १३, द्वादसी (९ भाद्र २०८३, २५ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रश्न दर्ता गराएका छन्। प्रतिनिधि सभामा एकपटकमा बढीमा १५ वटा प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता नगरेपछि निर्धारित संख्याभन्दा कम प्रश्न परेका हुन्।
रास्वपाले सातवटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा मात्रै प्रश्न दर्ता भएका छन्। अन्य दलका सांसदले भने आफूलाई तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएका छन्।
सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने समय निर्धारण गर्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको समयभित्र ११ वटा प्रश्न दर्ता भएका हुन्। दर्ता भएका प्रश्नमाथि प्रधानमन्त्री शाहले भदौ १० गतेको प्रतिनिधि सभा बैठकमा औपचारिक रूपमा जवाफ दिनुहुनेछ।
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ। नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनुभएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीबाट हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुश्बु ओलीले प्रधानमन्त्रीसँग प्रश्न सोध्न प्रश्न दर्ता गराउनुभएको छ।
सभामुखको रुलिङअनुसार प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधि सभामा रहेका सबै दलबाट कम्तीमा एक–एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सोहीअनुसार छ दलबाट एक–एक गरी छवटा प्रश्न र बाँकी नौवटा प्रश्न दलीय प्रतिनिधित्वका आधारमा बाँडफाँट गरिएको हो।
संसद् सचिवालयले दलहरूलाई उपलब्ध गराएको कोटाअनुसार रास्वपाले सातवटा, नेपाली कांग्रेस, एमाले र नेकपाले दुई–दुईवटा तथा श्रम संस्कृति पार्टी र राप्रपाले एक–एकवटा प्रश्न दर्ता गर्न पाउने व्यवस्था गरिएको थियो।
तर रास्वपाबाट तीनवटा मात्रै प्रश्न दर्ता भएपछि कुल १५ मध्ये ११ वटा प्रश्न मात्र दर्ता भएका छन्। अन्य दलबाट भने आफ्नो कोटाअनुसार प्रश्न दर्ता भएका छन्।
यसअघिका प्रश्नोत्तर कार्यक्रममा तोकिएको संख्याभन्दा बढी प्रश्न दर्ता हुने अभ्याससमेत रहँदै आएको छ। पहिलोपटक २०७५ माघ ४ गते सञ्चालन भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १८ वटा प्रश्न दर्ता भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता भएका सबै १८ प्रश्नको जवाफ दिनुभएको थियो।
भदौ १० गतेको प्रश्नोत्तरमा भने ११ वटा प्रश्न मात्रै दर्ता भएकाले प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका ती प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij