Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

जिमी नीशम फेरि जनकपुर बोल्ट्समा, एनपीएलको तेस्रो संस्करण खेल्ने

जिमी नीशम फेरि जनकपुर बोल्ट्समा, एनपीएलको तेस्रो संस्करण खेल्ने

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १३, द्वादसी (९ भाद्र २०८३, २५ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्।

जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई आगामी संस्करणका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो। नीशमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०२४ मा भएको पहिलो संस्करणमा नीशमले जनकपुरका लागि ९ खेलमा २४७ रन बनाएका थिए। उनले १९६ भन्दा बढीको स्ट्राइक रेट र ३५ भन्दा बढीको औसतमा ब्याटिङ गरेका थिए। प्रतियोगितामा उत्कृष्ट स्ट्राइक रेटमा रन बनाएबापत उनलाई ‘बेस्ट स्ट्राइक रेट’ अवार्डसमेत प्रदान गरिएको थियो।

ब्याटिङमा प्रभावशाली प्रदर्शन गरेका नीशमले बलिङतर्फ पनि ७ विकेट लिएका थिए। जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी छोटो समयमै नेपाली क्रिकेट समर्थकमाझ लोकप्रिय बनेका थिए।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाले नीशमको पुनरागमनलाई विशेष रूपमा लिएको बताएका छन्। उनका अनुसार नीशमले मैदानमा प्रदर्शन गर्नुका साथै जनकपुरका समर्थकको मनमा समेत विशेष स्थान बनाएका छन्।

‘जिमीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरूको मनमा पनि विशेष स्थान बनाएका छन्। उनको निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बन्ध आफैंमा एउटा सुन्दर कथा हो। च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नै घर फर्किएका छन्,’ खतिवडाले भने।

एनपीएलको दोस्रो संस्करणमा भने जनकपुरसँग क्याप खेलाडीको कोटा नरहेपछि नीशम पोखरा एभेन्जर्समा आबद्ध भएका थिए। पोखराबाट उनले ४ खेल खेलेका थिए। उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेटसमेत लिएका थिए।

तेस्रो संस्करणमा भने नीशम ‘टेस्ट कोटा’ अन्तर्गत जनकपुरबाट खेल्नेछन्।

न्युजिल्यान्डका अनुभवी खेलाडी नीशमले अन्तर्राष्ट्रिय क्रिकेटमा १२ टेस्ट, ७६ एकदिवसीय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। पछिल्लो समय पनि उनी न्युजिल्यान्डको टी–२० टोलीमा सक्रिय रहँदै आएका छन्। उनले भारतविरुद्धको टी–२० विश्वकप फाइनलसमेत खेलेका थिए।

नीशम विश्वका विभिन्न चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट प्रतिनिधित्व गरेका छन्।

त्यस्तै उनले लंका प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आईएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग र क्यारेबियन प्रिमियर लिगलगायतका प्रतियोगितामा पनि खेलिसकेका छन्।

जनकपुरलाई पहिलो एनपीएल संस्करणको उपाधि दिलाउनु नीशमको फ्रेन्चाइज क्रिकेट करियरकै पहिलो उपाधि थियो। त्यसैले जनकपुरसँग उनको सम्बन्ध प्रदर्शनसँगै भावनात्मक रूपमा समेत जोडिएको मानिन्छ। तेस्रो संस्करणमा उनको पुनरागमनले जनकपुरको ब्याटिङ र बलिङ दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार