Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

तामाङ ज्ञान–संस्कृति संरक्षण र पुस्तान्तरणमा जोड

तामाङ ज्ञान–संस्कृति संरक्षण र पुस्तान्तरणमा जोड

नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा ‘संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारासहित तामाङ आदिवासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण तथा पुस्तान्तरणसम्बन्धी दुईदिने ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ।

सोमबार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङ सभाहलमा आयोजित कार्यक्रममा तामाङ समुदायको मौलिक ज्ञान, भाषा, लिपि, संस्कृति, परम्परा तथा भौतिक–अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणका विषयमा गहन छलफल गरिएको हो।

दुईदिने कार्यक्रममा पहिलो दिन तामाङ संस्कृतिका मर्मज्ञ झ्याम्पा लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो दिन तामाङ ज्ञान र संस्कृतिसँग सम्बन्धित विभिन्न पाँच कार्यपत्र प्रस्तुत गरी विमर्श गरिएको थियो।

तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन लामाको संयोजकत्वमा भएको कार्यक्रममा मानवशास्त्री डा. मुक्तिसिंह थोक्कर तामाङले तामाङ बोम्बा परम्परा र सम्पदा संरक्षणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। तामाङ भाषा तथा लिपिविज्ञ अजितमान तामाङले तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदाबारे चर्चा गरेका थिए।

त्यस्तै भाषा तथा लिपिविज्ञ राजेन्द्र थोक्कर तामाङले तामाङ भाषा, व्याकरण र तामायिक लिपिको सैद्धान्तिक आधारबारे कार्यपत्र प्रस्तुत गरेका थिए। संस्कृति विज्ञ बुद्धी तामाङले प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचानका विषयमा आफ्नो धारणा राखेका थिए।

वरिष्ठ पत्रकार कुमार यात्रीले तामाङ आदिवासी ज्ञान तथा प्रथाजनित संस्थाहरूको अवस्था र संरक्षणका आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित तथा भारत सरकारबाट सामाजिक क्षेत्रमा योगदान पुर्‍याएबापत विभिन्न पदकबाट विभूषित डा. चन्द्रा योञ्जन तामाङले पनि आफ्नो अनुभव सुनाएकी थिइन्।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ ज्ञानको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई घेदुङले प्राथमिकताका साथ अघि बढाउने बताए। तामाङ समुदायको ज्ञान, भौतिक तथा अभौतिक सम्पदा संरक्षणमा राज्यले बेवास्ता गर्दा संकट उत्पन्न भइरहेको उल्लेख गर्दै उनले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए।

अध्यक्ष ब्लोनले घेदुङ अब सबैसँग नयाँ ढंगले सहकार्य गर्दै अघि बढ्ने सोचका साथ अगाडि बढिरहेको बताए। तामाङ समुदायको साझा संस्थाका रूपमा घेदुङले सबैको अपनत्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले साझा अनुभूति निर्माणमा आफ्नो नेतृत्व र टिम केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै महासचिव लीलाकुमार ग्लान तामाङले विश्वभर छरिएर रहेका तामाङ समुदायले आफ्नो मौलिक पहिचान र संस्कृतिप्रति गौरव गर्नुपर्ने बताए। भाषा र सांस्कृतिक पहिचानले विश्वभरका तामाङलाई एउटै सूत्रमा बाँधिरहेको उल्लेख गर्दै उनले आफ्नो पहिचान संकटमा पर्न नदिन समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रमका वक्ताहरूले तामाङ समुदायको मौलिक ज्ञान, भाषा, लिपि, संस्कृति र परम्पराको संरक्षण केवल समुदायको दायित्व नभई राज्यको समेत जिम्मेवारी भएको बताएका थिए। बदलिँदो सामाजिक परिवेशमा परम्परागत ज्ञान तथा सांस्कृतिक अभ्यास हराउँदै जान सक्ने भएकाले त्यसको व्यवस्थित अभिलेखीकरण, अध्ययन, संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रमले तामाङ समुदायको मौलिक ज्ञान र सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने अभियानलाई थप बल पुगेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार