Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दोलखामा कांग्रेसप्रति समर्पित नेताको अन्तिम इच्छा पूरा, झण्डा ओढाएर अन्त्येष्टि

दोलखामा कांग्रेसप्रति समर्पित नेताको अन्तिम इच्छा पूरा, झण्डा ओढाएर अन्त्येष्टि

नेपाल सम्वत् ११४६, बछलाथ्वः २ द्वितिया (६ बैशाख, २०८३, १९ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–६ लेप्टुङ निवासी कर्णबहादुर अधिकारीको निधनपछि उनको अन्तिम इच्छा अनुसार नेपाली कांग्रेसको झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ। जीवनभर पार्टीप्रति समर्पित रहेका अधिकारीले आफू मरेपछि कांग्रेसको चारतारे झण्डा ओढाउने इच्छा व्यक्त गरेका थिए।

स्थानीय वडा अध्यक्ष भरत पाण्डेका अनुसार अधिकारीले जीवित रहँदै पार्टीप्रति आफ्नो गहिरो आस्था र समर्पण व्यक्त गर्दै अन्तिम समयमा समेत यही चाहना राखेका थिए। उनी लापिलाङ क्षेत्रजस्तो चुनौतीपूर्ण स्थानमा पनि कांग्रेसप्रति अडिग रहँदै सक्रिय राजनीतिमा लागेका पुराना कार्यकर्ता, समाजसेवी तथा पूर्व वडा अध्यक्ष थिए।

परिवारका सदस्यहरूका अनुसार अधिकारीको प्रेरणाबाटै उनका सन्तान र नाति समेत राजनीतिमा सक्रिय भएका छन्। उनका नाति हाल सोही वडाका निर्वाचित जनप्रतिनिधि रहेका छन् र हजुरबुवाबाट सिकेको मार्गदर्शनले आफू यहाँसम्म आइपुगेको बताएका छन्।

स्थानीय नेता तथा कांग्रेसका जिल्ला तहका पदाधिकारीहरूले अधिकारीको निधनलाई पार्टीका लागि ठूलो क्षति बताएका छन्। उनीहरूले अधिकारीलाई इमान्दार, त्यागी र संगठनप्रति निष्ठावान व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

वि.सं. १९९९ सालमा जन्मिएका अधिकारीले जीवनभर राजनीतिक उतारचढावका बाबजुद पार्टीप्रति आफ्नो निष्ठा कायम राखेका थिए। उनको पार्थिव शरीर नजिकैको घाटमा दाहसंस्कार गरिएको थियो भने अन्तिम श्रद्धाञ्जलीका क्रममा झण्डा ओढाउने क्रममा उपस्थितहरू भावुक बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार