
नेपाल सम्वत् ११४५ चिल्लाथ्वः १३ (२८ फाल्गुन, २०८१) मार्च १२, २०२५ ,बुधबार, बाँपीझ्याला ।रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई विदेशबाट फर्किएर स्वदेशमा स्वरोजगारी बनेका एक उदाहरण हुन्। एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका उनले ३० हजार रुपैयाँ लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरी १२ कट्ठा जमिनमा गोलभेँडा र अन्य सागसब्जी खेती गर्दै आएका छन्। उनको बारीमा गोलभेँडा, बोडी, सिमी जस्ता सागसब्जी लहलहाएका छन्।
सुरकुमार राईले गोलभेँडाको सिजनमा दैनिक १४ क्विन्टलसम्म उत्पादन बिक्री गरेको बताए। एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गरेका छन्। उनले बताए, “बजारको समस्या छैन, व्यापारी आफैँ फार्ममा आउँछन्।” धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी उनको फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन्। गोलभेँडाको मूल्य मङ्सिरदेखि पुसम्म राम्रो हुन्छ, तर अहिले बजारमा मूल्य घटेको कारण १० देखि १५ रुपैयाँमा बिक्री गर्नुपरेको छ।

स्थानीय सरकारले उनलाई उत्कृष्ट किसानको रूपमा पुरस्कृत गरेको छ भने कृषि ज्ञान केन्द्रले २०७७ सालमा सात लाख रुपैयाँ अनुदान दिएको छ। यसले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको उनले बताए। उनले प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेर उत्पादन बढाएका छन्। उनले भने, “सही प्रविधि, सरकारी सहयोग र राम्रो बजार व्यवस्थापन भएमा गोलभेँडाखेती अझ व्यावसायिक रूपमा सफल हुन सक्छ।”
जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताए। रामधुनी र बराह क्षेत्रका किसानहरूले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन्। सुरकुमार राई जस्ता युवाहरूले विदेशबाट फर्किएर स्वदेशमा व्यवसाय सुरु गरेर अरूका लागि प्रेरणा बनेका छन्।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij