Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

नेपाल सम्वत् ११४५ प्वहेलागाः ३ ( ३ माघ , २०८१) जनवरी १६, २०२५ , बिहिबार, बाँपीझ्याला ।माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानले वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेर प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। छ वर्ष साइप्रस बसेर फर्किएका उनीहरूले करीब रु ३० लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन्। सात महिनाअघि दर्ता गरिएको ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ले अब तीन महिनामा आम्दानी दिन सुरु गर्ने अपेक्षा गरिएको छ।

हाल फार्ममा ४२ वटा बङ्गुर छन्, जसले तीन महिनामा बिक्रीयोग्य आकार लिनेछन्। इलामका बजारमा बङ्गुरको मासुको मूल्य प्रतिकेजी रु ५०० देखि ६०० सम्म रहेकोले व्यवसाय लाभदायक हुने लक्ष्मीले बताइन्। बङ्गुरको राम्रो स्याहार गर्दा एक क्विन्टल तौलसम्म पुग्ने भएकाले उत्पादन लागतसँग तुलना गर्दा राम्रो मुनाफा हुने अपेक्षा गरिएको छ। पुजन प्रधानले बङ्गुरपालनसँगै यातायात व्यवसाय पनि सञ्चालन गरिरहेका छन्। उनका दुईवटा यात्रु गाडी झापा र फिक्कलसम्म चल्ने गरेका छन्। एक गाडी उनले आफैँ चलाउँछन् भने अर्को गाडीमा चालक छन्। "बङ्गुरपालन असफल भए पनि गाडीबाट आम्दानी गर्न सकिन्छ," पुजनले भने।

लक्ष्मी र पुजनले गाउँमै व्यवसाय गरेर स्थानीयस्तरमै अवसर सिर्जना गर्ने सोच बनाएका छन्। वैदेशिक रोजगारीका अनुभव र कमाइको सदुपयोग गर्दै व्यावसायिक बङ्गुरपालन सुरु गर्नुका साथै उनीहरूले गाउँका अन्यलाई पनि प्रेरणा दिएका छन्। गाउँपालिकाले व्यावसायिक बन्न चाहनेलाई आर्थिक र प्राविधिक सहयोगको प्रतिबद्धता जनाएको छ। पशु प्राविधिक प्रदीप गुरुङका अनुसार बङ्गुरपालन व्यवसाय अन्य पशुपालनभन्दा बढी प्रतिफल दिने भएकाले यसले कृषकलाई आर्थिकरूपमा सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ।

बङ्गुरको मासु प्रोटिन, भिटामिन, खनिज पदार्थ र ऊर्जा स्रोतको राम्रो माध्यम भएकाले सन्तुलित आहाराको लागि उपयुक्त मानिन्छ। होटल व्यवसायमा समेत यसको माग उच्च रहेको व्यवसायीहरूले बताएका छन्। लक्ष्मी र पुजनले प्रस्तुत गरेको आत्मनिर्भरता र व्यवसायिक सोच ग्रामीण क्षेत्रका अन्यलाई पनि अनुकरणीय उदाहरण बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार