
नेपाल सम्वत् ११४५, थिलाथ्वः ४, प्रतिपक्ष, (२० मंसिर, २०८१, ५ डिसेम्वर, २०२४) विहीवार, बाँपिझ्याला । सामाजिक सेवाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनु भएकी समकालिन एकता समाज नेपालकी अध्यक्ष समाजसेवी सकुना श्रेष्ठले दोलखाका तीनवटा विद्यालयहरुमा शैक्षिक सहयोग गर्नु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं २ मा रहेको फुलपा आधारभूत विद्यालय, श्री बालमन्दिर प्राथमिक विद्यालय र कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको श्री ताम्राकौशिका प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुका लागि किताव बोक्ने झोला, कपी र स्टेशनरी सामानहरु वितरण गर्नु भएको छ । सार्वजनिक विद्यालयका रुपमा रहेका तीनवटै विद्यालयमा गरिएको सहयोगबाट विद्यार्थीहरुलाई सहयोग मिलेको छ ।

विद्यालयले गरेको मागको आधारमा तीनवटा विद्यालयमा पढ्ने सबै विद्यार्थीहरुलाई कपी, कलम र झोला वितरण गरिएको थियो । कार्यक्रममा आफूले प्राथमिक विद्यालय पढ्दा हातमा किताव च्यापेर हिंड्नु परेको कुरा आफूलाई अझ सम्झनामा रहेकोले पढ्ने विद्यार्थीहरुको खाँचोमा थोरै भएपनि सहयोगको हात बढाउन पाउँदा आफूलाई खुशी लागेको समाजसेवी सकुना श्रेष्ठले बताउनु भएको थियो ।

यसै गरी शिक्षाको क्षेत्रमा सहयोग गर्नु भनेको अर्को पुस्ताको उन्नति र प्रगतिको लागि सहयोग गर्नु जस्तै हो भन्ने कुरा लेखक तथा पत्रकार रमेश खड्काले बताउनु भयो । गाउँमा रहेका सार्वजनिक विद्यालयहरुलाई हेला गर्न नहुने र ती शिक्षण संस्थाको स्तरीय पढाइले नै उनीहरुको जीवन समृद्धितिर जाने बताउनु भएको छ ।
कालिञ्चोक ८ मा रहेको ताम्राकौशिका आधारभूत विद्यालयमा पढ्ने अधिकांश बालबालिकाहरु विपन्न समुदायका रहेकोले उनीहरुलाई गरिएको सहयोगबाट सहभागी विद्यार्थीहरुलाई खुशी मिलेको छ । यसले कमजोर अवस्थाका अभिभावकहरुमा समेत खुशी मिल्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम खड्काले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शम्भुबहादुर खड्काले जिल्लाको सदरमुकामबाट टाढा नरहेपनि ओझेलमा रहेकोले हम्मेसी यस्ता सहयोग विद्यालयमा आउन नसकेको यथार्थ बताउनुभयो । यो सहयोगले विद्यार्थीहरुलाई प्रेरणा दिएको पनि वहाँले बताउनुभयो । विद्यालयमा अध्ययन गरिरहेका सबै छात्रछात्राहरुका लागि ब्याग र कपी तथा कलम वितरण गरिएको थियो ।
दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेको फुलपा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री दाहालले विद्यालयमा भएको यस्तो सहयोगबाट कमजोर अवस्थाका विद्यार्थी र अभिभावकका लागि सहयोग मिलेको बताउनु भयो । शैक्षिक सहयोगका लागि वहाँले समाजसेवी सकुना श्रेष्ठ र रमेश खड्काप्रति आभार प्रकट गर्नुभयो । विद्यालयका प्रधानाध्यापक हरि श्रेष्ठले भविष्यका दिनमा पनि विद्यालयप्रतिको सहयोग र सदभाव रहिरहने विश्वास प्रकट गर्नुभयो ।

दोलखाको बालमन्दिरमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले तीनवटा विद्यालयमा भएको यो सहयोगको लागि समाजसेवी सकुना श्रेष्ठप्रति आभार प्रकट गर्नुभयो । शिक्षाको लागि गरिएको यो सहयोग अरुका लागि समेत प्रेरणा भएको वहाँले बताउनुभयो । माईतीगाउँका लागि सकुना श्रेष्ठबाट भईरहेको निरन्तर साथ र सहयोग अनुकरणीय रहेको समेत वहाँले बताउनुभयो ।
बालमन्दिरमा आयोजित कार्यक्रममा स्थानीय जेष्ठ नागरिक समाजसेवी हर्कबहादुर श्रेष्ठ, लेखक तथा पत्रकार रमेश खड्का, बालमन्दिर व्यवस्थापन समितीका अध्यक्ष राकेश श्रेष्ठ, राजकुलेश्वर आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान लगायतले बोल्नु भएको थियो ।

खाँचो र आवश्यकता परेका बालबालिकाहरुको शैक्षिक सहयोगमा सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको समाजसेवी सकुना श्रेष्ठले बताउनुभएको छ । भविष्यका दिनहरुमा पनि शिक्षा र सामाजिक कामको क्षेत्रमा आफूले गर्न सक्ने काममा आफ्नो ध्यान जाने वहाँले बताउनु भएको छ ।




केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij