Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

पाटन संयुक्त क्याम्पसमा रक्तदान कार्यक्रम, करिब ४० जनाले गरे रक्तदान

पाटन संयुक्त क्याम्पसमा रक्तदान कार्यक्रम, करिब ४० जनाले गरे रक्तदान

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ८ अष्ठमी (४ भाद्र २०८३, २० अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । पाटन संयुक्त क्याम्पसमा प्राध्यापक तथा कर्मचारी महिला समूह र द्वाल्खा म्यासमुचा खलकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय सेवाको भावनासहित आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा दोलखावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मानवीय जीवनमा आपत्–विपत्का बेला रगत अत्यन्तै आवश्यक पर्ने भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको पाटन संयुक्त क्याम्पस कर्मचारी महिला समूहकी अध्यक्ष सुविता वैद्यले बताउनुभयो।

उहाँका अनुसार दुर्घटना, आकस्मिक शल्यक्रिया, प्रसूति, विभिन्न जटिल रोग तथा अन्य स्वास्थ्य आपत्कालीन अवस्थामा रगतको आवश्यकता पर्ने गर्दछ। यस्तो अवस्थामा समयमै रगत उपलब्ध गराउन नियमित रक्तदान आवश्यक हुने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

blod.jpg

रक्तदान कार्यक्रममा पाटन संयुक्त क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीसँगै विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। त्यसैगरी कार्यक्रममा दोलखाबाट काठमाडौंमा आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध दोलखावासी दाजुभाइ तथा दिदीबहिनीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष अन्नपूर्ण श्रेष्ठले जानकारी दिनुभयो।

अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा करिब ४० जना महानुभावले रक्तदान गरेका थिए। सहभागीहरूले आफ्नो रगत दान गरेर मानवीय सेवामा योगदान पुर्‍याएका छन्। रक्तदानजस्तो पुण्य तथा सामाजिक कार्यमा क्याम्पस परिवार र दोलखावासीहरूको सहभागिताले आपसी सहकार्य र सामाजिक एकताको समेत सन्देश दिएको आयोजकको भनाइ छ।

रक्तदान कार्यक्रमले समुदायमा रक्तदानप्रति सकारात्मक भावना विकास गर्नुका साथै आवश्यक पर्दा अरूको जीवन बचाउन सकिने महत्वपूर्ण सन्देश दिएको आयोजकहरूले बताएका छन्। नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्न सके अस्पताल तथा रक्तसञ्चार केन्द्रमा हुने रगतको अभाव कम गर्न सहयोग पुग्ने उनीहरूको विश्वास छ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदान केवल व्यक्तिगत स्वास्थ्य वा सामाजिक दायित्वको विषय नभई संकटमा परेका व्यक्तिको जीवन बचाउने मानवीय कार्य भएको बताएका थिए। आफ्नो शरीरबाट केही समयका लागि दान गरिएको रगतले अर्को व्यक्तिको जीवन जोगाउन सक्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

blood1.jpg

पाटन संयुक्त क्याम्पस प्राध्यापक तथा कर्मचारी महिला समूह र द्वाल्खा म्यासमुचा खलकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग जोडिएका विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने प्राध्यापक, कर्मचारी, विद्यार्थी, रक्तदाता तथा दोलखावासी सबैप्रति आयोजक संस्थाहरूले हार्दिक आभार व्यक्त गरेका छन्। साथै रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाताप्रति विशेष कृतज्ञता व्यक्त गरिएको छ।

आयोजकका अनुसार यस्ता सेवामूलक गतिविधिले समुदायबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै सामाजिक सेवामा युवापुस्ता तथा शैक्षिक संस्थाको भूमिकालाई समेत प्रभावकारी बनाउनेछ।

blood2.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार