
नेपाल सम्वत् ११४४ यंलाथ्वः १५ (२ आश्विन , २०८१) बुधबार, बाँपीझ्याला । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ ।
उत्पादित भुराको बिक्रीबाट रु ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो । यसअघि सो कार्यालयले आव २०७९÷८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।

विगतमा तीन करोडदेखि तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोेखरीको मर्मतसम्भारलगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९-८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताए । थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिएको प्रमुख यादवले बताए । कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।
न्यानो पानीमा फस्टाउने सरकारी स्तरवाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरु गरिएको छभने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरिएको प्रमुख यादवले बताए ।

यसैगरी घट्टेखोलाको पानी सङ्कलन गर्ने चेम्बर मर्मत तथा नाला निर्माण, ह्याचारीमा पानी व्यवस्थापनका लागि पाइप लाइन मर्मत तथा सुदृढीकरण, ह्याचरी रङरोगन तथा सुदृढीकरणलगायत कार्य गरिएको छ । मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाका नमूना तथा ‘लाइभफिस म्युजियम’को स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ । उक्त कार्यालयले जलीय विविधता एवं प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij