
नेपाल सम्वत् ११४४, गुँलागाः ९ (११ भाद्र, २०८१) मंगलबार, बाँपीझ्याला । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा देशै रित्तिने अवस्थामा पुगेको बताएका छन्।
डा. केसीले गैरआवासीय नेपाली संघ यूकेद्वारा सोमवार अल्डरशटमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपालीहरुको सम्पत्ति सुरक्षामा जोड दिए।
डा. केसीले भने, ‘आफु जन्मेको गाउँ, त्यो खरले छाएको घरमा ताल्चा लगाएर आफ्नो जन्मस्थल छोडेर विदेश बस्न आउने रहर छैन्। रहर नहुँदा नहुँदै पनि विदेशी नागरिकता लिए पछि नेपालको कानून अनुसार हाम्रो सम्पत्ति गैरकानूनी हुने अवस्था आउँदा हाम्रा पहाड, धरान, धनकुटा रित्तिए। हामी आफ्नो जन्मस्थलमा फर्किन चाहन्छौं, त्यसको लागि हाम्रो सम्पत्ति कानून अनुसार सुरक्षित हनु पर्छ।’

डा.केसीले गत वर्षदेखि कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीय नेपालीहरुको सम्पत्तिको सुरक्षा गरेको दावी गरे।
उनले बेलायतमा रहेका भूपूगोर्खाहरुको हक र हितको लागि गैरआवासीय नेपाली संघले आवाज उठाउदै आएको बताए। उनले भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारको आन्दोलनको मागलाई बेलायत र नेपालका प्रधानमन्त्रीबीच प्रत्यक्ष वार्ता मार्फत सम्बोधन गर्न माग गरे।
उनले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सके मात्र गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी विवादको अन्त्य हुने बताए। उनले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले आधिकारिक रुपमा काम गर्ने बाटो खोलिदिएको उल्लेख गरे।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्था ठूलो बन्दै गए पछि सबै पक्षलाई संगै लिएर हिँड्न असम्भव जस्तै हुने धारणा राखे।
उनले भने, ‘यो संस्थामा सबै जाति, सबै विचारधारा, सबै जाति र दोस्रो पुस्ता लगायत सबैलाई एउटै थलोमा लिएर हिड्न असम्भव जस्तै छ। सबैलाई एकै पटक लिएर संस्था अघि बढ्न खोज्दा विवाद हुनु स्वाभाविक हो, तर गैरआवासीय नेपाली संघ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ। यो एउटै छ।’
उनले गैरआवासीय नेपाली संघभित्र एकता कायम राख्न संघका सबै पूर्वअध्यक्षहरु एउटै ठाउँमा उभिन आग्रह गरे।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत रोशन खनालले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको बताइन्। उनले नेपाली दूतावास लण्डन गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबिद्धता जनाइन्।
संघका अर्का उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई ओझेलमा पार्ने प्रयासलाई सर्वोच्च अदालतको हालैको फैसलाले असफल पारिदिएको बताए। उनले हितकाजी गुरुङ्ग अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ यूकेनै एकमात्र आधिकारिक एनआरएनए भएको बताउँदै कुनै पनि दुविधामा नपर्न आग्रह गरे।
एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षमा अयोजित कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ, संघकी सचिव टिका गुरुङ, एनआरएनए यूरोप उपसंयोजक रोर्वट लिम्बु, प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। महासचिव गोविन्द खरेलले संचालन गरेको सार्वजनिक सुनुवाईमा सयपत्री परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij