नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ९ नवमी (५ भाद्र २०८३, २१ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिका–४, गुमु हिलेपानीमा कृषिजन्य उपजको बिक्री–वितरणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले ११ सदस्यीय वडास्तरीय कृषि बजार व्यवस्थापन समिति गठन गरिएको छ।
वडा अध्यक्ष दीपक खुलालको अध्यक्षतामा सम्पन्न भेलाले नेपाल सरकारको सम्बन्धित कार्यविधिअनुसार समिति गठन गरेको हो। करिब ४० जना स्थानीयको सहभागिता रहेको भेलाले भौगोलिक सन्तुलन र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राख्दै समितिको चयन गरेको जनाइएको छ।
समिति गठनका क्रममा कालिञ्चोक गाउँपालिकाको कृषि शाखाका कृषि प्राविधिक बालकृष्ण पोखरेलले कृषि बजार व्यवस्थापन समितिको कानुनी आधार, कार्यविधिमा उल्लेख भएका प्रावधान तथा समिति गठन प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी टुकी सिविन स्रोत केन्द्रका ओसेलिप परियोजना सह–व्यवस्थापक रामचन्द्र सिंह श्रेष्ठले कृषि बजार व्यवस्थापनको आवश्यकता र महत्वबारे जानकारी गराउँदै स्थानीय उत्पादनलाई बजारसँग जोड्न यस्ता समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
भेलामा स्थानीय बुद्धिजीवी तथा विभिन्न सरोकारवालाले कृषि क्षेत्रको दिगो विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, बजारको सुनिश्चितता तथा कृषकको आयआर्जन बढाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
नवगठित कृषि बजार व्यवस्थापन समितिले वडाभित्रका कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय कृषि उपजको गुणस्तर सुधार गर्ने तथा उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
समितिको सक्रियताले स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजलाई उचित बजार उपलब्ध गराउन, बिचौलियामा निर्भरता घटाउन तथा कृषिबाटै ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, स्थानीय उत्पादनको प्रवर्द्धनसँगै कृषकको आर्थिक तथा सामाजिक स्तर उकास्न पनि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij