
नेपाल सम्वत् ११४४, दिल्लागा ३ (९ साउन २०८१), बुधबार, बाँपिझ्याला । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा) पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको हो ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिँदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी हैजा नियन्त्रण गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार त्यहाँ रहेका चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।
डा. पौडेलले बाँकी चार जनाको कल्चरको रिपोर्ट ७२ घण्टामा आउने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त संस्थामा भएका सात जनालाई लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले संस्थामा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ ।
डा. पौडेलले खानेपानी या खानेकुराबाट हैजा फैलिएको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू कारण हुन नसक्ने बताउनुभयो । संस्थामा आश्रितले पानी नतताई पिएको, सागसब्जी नपखाली खाएको हुन सक्ने अनुमान गरिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पानीमार्फत दिसाको माध्यामबाट हैजा फैलने बताउनुभयो । उहाँले झाडापखाला लागेर दैनिक १० देखि १५ जना बिरामी आउन थालेको बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण हैजा लाग्ने जानकारी दिनुभयो । उहाँले हैजा भएका मानिसको दिसामा हैजाका कीटाणु हुने बताउनुभयो ।
अस्पतालका निर्देशक डा. बसौलाले दुई जनालाई अस्पताल भर्ना गरेर राखिएको जानकारी दिनुहुँदै हैजा शङ्कास्पद एक जनाको आइसियुमा र हैजा पुष्टि भएका बालकको क्याबिनमा राखेर उपचार भइरहेको बताउनुभयो ।
उहाँका अनुसार उपचार गराइरहेका दुई जना भने सोमबार राति भागेका छन् । आकस्मिक कक्षबाट पिसाब फेर्न जाने भन्दै राति १ बजे निस्किएका उनीहरू आकस्मिक कक्षमा रहेको शौचालयको झ्यालबाट भागेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij