
महेन्द्र श्रेष्ठ, दोलखा ।
२८ बैशाख, बाँपिझ्याला, दोलखा । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि दोलखा किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् ।
खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन ।

वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन् ।
गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको भिमेश्वर नगरपालिका कृषि शाखाका प्राबिधीक बिस्णु चौलागाइले बताए । दोलखा सिँचाइ सुविधा पुगेको झन्डै चार हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने बाध्यता छ ।

यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेको एक कृषकले बताए । ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलुलगाउन भने सहज भएको किसानको भनाइ छ ।
हरेक वर्षको पचासौं चोटी हिउँ पर्ने पर्वतको बनौँ, लेखफाँट, कालिन्चोक शैलुङ क्षेत्रमा यसपटक भने हिउँ नपरेको भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ बताउनु भयो ।

यसै गरी कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी आलु र गहुँ बाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए । त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारीबाली समेत प्रभावित बनेको छ ।
वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय दोलखाका प्रमुखले बताए ।





केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij