
१० बैशाख, बाँपिझ्याला, काठमाण्डौं । दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् ।
सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४, सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकै खेती गर्न थाल्नुभएको छ ।

पहिले परम्परागत रूपमा घरमा खानका लागि मात्रै मकै खेती गर्ने गरे पनि विगत चार वर्षदेखि व्यावसायिक रूपमा लागेको भन्दै चौधरीले भन्नुभयो, “हरियो मकै पनि बिक्री हुने र अन्य बालीको तुलनामा आम्दानी पनि बढी हुने भएकाले व्यावसायिक मकै खेती गर्दै आएको छु ।” वर्षमा दुई बाली मकै खेती गर्न सकिने र जसले गर्दा आम्दानी राम्रो हुने बताउनुहुन्छ । उहाँले मकै खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।
उहाँका अनुसार हरियो मकैको प्रतिघोगा पाँचदेखि १० रुपियाँका दरले बिक्री हुने गर्दछ भने सुकेको मकै प्रतिक्विन्टल ३५ हजार रुपियाँका दरले बिक्री गर्ने गर्दछ । त्यससँगै बोटसमेत घाँसका रूपमा बिक्री हुने गर्दछ । एक बाली मकै खेती हुने जमिनबाट दुई बाली खेती गर्न सकिने र आम्दानीसमेत बढी लिन सकिने भएकाले मकै खेतीतर्फ लागेको लमही नगरपालिका–३ निवासी किसान टुनुराम चौधरी बताउनुहुन्छ । लालीगुराँस जैविक विविधता कृषक समूहका अध्यक्षसमेत रहेका चौधरीले ३६ कट्ठा जमिनमा व्यावसायिक मकै खेती गर्दै आउनुभएको छ । मकै खेतीबाट वर्षमा पाँच लाख बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार लमही, भालुबाङ, घोराहीलगायतका बजारमा मकै पोलेर बिक्री गर्नेहरूसँगै घरमै आएर लग्ने भएकाले बिक्रीमा समेत समस्या छैन । परियोजनाले सहयोग गरेपछि लमही नगरपालिकासँगै गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा मकै खेती गर्ने किसान थपिएका छन् ।
बेमौसमी मकै खेतीबाट आकर्षक आम्दानीसँगै खेती गर्नका लागि किसानलाई प्रविधिसँगै बिउबिजन सहयोग गरेपछि धेरै किसान मकै खेतीमा जोडिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ दाङका कृषि अधिकृत हेमन्त पौडेल बताउनुहुन्छ ।
कृषि अधिकृत पौडेलका अनुसार परियोजना सुरु भएपछि करिब १५/१६ प्रतिशतमा रहेको हिउँदे मकै खेती बढेर दुई सयदेखि तीन सय र १२/१३ प्रतिशतमा रहेको वसन्त मकै खेती बढेर अहिले १७/१८ सयदेखि दुई हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको बताउनुहुन्छ ।

परियोजनाले किसानलाई खेती गर्नेदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि सुक्खा समयमा खाली हुने जमिन अहिले मकै खेतीले हरियाली भएको कृषि अधिकृत पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जिल्लामा मकै खेतीको राम्रो सम्भावना भए पनि गर्ने तरिका बारेमा थाहा नहुँदा परम्परागत रूपमा किसानले खेती गर्दै आएका थिए तर परियोजना लागु भए पनि किसानलाई मकै खेती गर्ने तरिकासँगै यान्त्रिकीकरणमा सहयोग गरेपछि अहिले धेरै किसान जोडिएका छन् ।”
जिल्लामा आर्थिक वर्ष २०७२/७३ सालदेखि मकै खेती प्रवर्धनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ सञ्चालनमा आएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij