
२५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् ।
अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला हुनुहुन्छ, घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन । विगत १८ वर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न पुनले विगत सात वर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक रूपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आउनुभएको छ । २०५७ मा रुकुमबाट दाङ झरेकी पुनले २०६२/६३ सालदेखि अल्लो धागोसम्बन्धी काम गर्दै आउनुभएको छ ।
धागो तथा कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ल्याउन समस्यासँगै व्यावहारिक रूपमा अघि बढ्ने गरी २०७३ मा अल्लो विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी पुनले अहिले वार्षिक करिब २५/३० लाखसम्मको कारोबार गर्दै आएको बताउनुहुन्छ । कच्चा पदार्थ प्रशोधनसँगै धागो तथा कपडा उत्पादनको काम गर्दै आउनुभएकी उहाँले उद्योगमा आफू जस्ता ३० देखि ३५ जना महिलालाई रोजगारी दिनुभएको छ ।
सुदुरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा पदार्थ ल्याउने र घोराहीमा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जिल्लाबाहिरबाट कच्चा पदार्थ ल्याउने र यहाँ प्रशोधन गरेर धागोसँगै कपडाहरू उत्पादन गरेर बिक्री गर्दै आएका छौँ । जसबाट राम्रो आम्दानी भइरहेको छ ।” उद्योगका लागि आवश्यक कच्चा पदार्थ कर्णाली तथा सुदूरपश्चिमका अछाम, कालीकोट, दार्चुलालगायतका जिल्लाबाट ल्याउने गरेको बताउनु हुन्छ ।

उहाँका अनुसार उद्योगबाट महिला तथा पुरुषका लागि आवश्यक पर्ने तयारी पोसाक अन्तर्गत कोट, झोला, टोपी, पछ्यौरी, जुत्ता, पर्स, लुङ्गीलगायत विभिन्न सामग्री बनाउने गर्दै आउनुभएको छ । यसरी उत्पादन गरिएका कपडा तथा प्रशोधित धागो जिल्लासँगै काठमाडौँ, पोखरा, हेटौँडालगायतका विभिन्न बजारमा बिक्री गर्दै आएको अर्की उद्योग सञ्चालिका मनमाया पुन बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छन् । विशेष गरेर विदेशीले मन पराउने भएका कारण काठमाडौँ नै पठाउने गरेका छौँ ।” यसरी काम गर्दा राम्रो बिक्री सिजनमा पाँच/छ लाख कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।
जिल्लामा उद्योगबाट पनि बिक्ने गरेको भन्दै सिजनको समयमा मेला महोत्सवमा पनि बिक्रीका लागि जाने गरेको बताउनुहुन्छ । अल्लो धागो प्रशोधनसँगै उत्पादनमा धेरै मेहनत लाग्ने गरे पनि आम्दानी पनि हुने गरेका कारण आफूहरू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “परम्परागत रूपमा अल्लो प्रशोधन गरेर धागो उत्पादन गर्ने र त्यसबाट काँचो कपडा बनाउनका लागि धेरै मेहनत लाग्छ । जसले गर्दा कमै महिलाले निरन्तर काम गर्ने गर्छन् ।”
उहाँका अनुसार अल्लोको धागो तथा कपडा उत्पादनका लागि बाहिरबाट आएको कच्चा पदार्थलाई पकाउनेदेखि पानीमा धुने, कमेरो माटो लगाउने, घाममा सुकाउनेलगायतका काम महिला आफैँले गर्ने गरेका छन् । यो सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गरेको उहाँले बताउनुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij