
२९ पुष, बाँपिझ्याला, काठमाण्डौं । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार हुने भएको छ । अब पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

पनिकाले आगामी माघको पहिलो सातादेखि यस्तो प्रणालीको सुरुवात गर्दै छ । यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, “अनलाइन प्रणाली लागु भएपछि विद्यार्थी पनिकामा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् ।”
अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । पनिकाले अनलाइनबाट सेवा प्रदान गर्न दुई वर्षअघि नै तयारी गरेको भए पनि सूचना प्रविधिका दक्ष जनशक्ति अभाव भएकाले यो काम रोकिएको थियो ।

अनलाइनबाट प्रवाह गर्न सकिने अधिकांश सेवालाई अहिलेकै अवस्थाबाट विस्तार गर्न सकिने भए पनि सक्कली प्रमाणपत्र वितरणमा भने त्रिविले थप निर्णय गर्नुपर्ने हुन्छ । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “सक्कली प्रमाणपत्रमा अहिले विद्यार्थी आफैँ उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा सूचना प्रविधिसम्बन्धी कर्मचारीले प्रमाणपत्रमा टाँस्ने छन् तर यसका लागि कार्यकारी परिषद्ले निर्णय गर्नु पर्छ ।”
उहाँका अनुसार विद्यार्थीले माग गरेको कागजपत्र पनिकाले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने छ । पनिका अन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । “हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पु-याइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै र्छौं,” उहाँले भन्नुभयो ।

पनिकासँग अहिले सूचना प्रविधिसँग सम्बन्धित छ जना कर्मचारी कार्यरत छन् । थप सात जना यस्तै कर्मचारी माग गरिएको छ । त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले पनिकाले प्रवाह गर्ने सेवालाई अनलाइन प्रणालीमा लैजान जनशक्ति अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबारको डेमो हेरौँ । त्यसपछि निर्णय गरौँला । राम्रो कामका लागि मान्छे अभाव हुन दिन्नौँ ।”
निरन्तर धर्नामा विद्यार्थी
विश्वविद्यालय सुधारको माग गर्दै विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा विद्यार्थी १८ दिनदेखि धर्नामा छन् । विश्वविद्यालयबाट प्रदान गरिने सेवालाई डिजिटलाइजेसन गर्नुपर्ने, सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने तथा संरचनागत सुधारको माग गर्दै आन्दोलन सुरु गरिएको केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिनुभयो ।

उहाँले विश्वविद्यालयले दिने सेवामा ढिलासुस्तीको अन्त्य हुनुपर्ने, विश्वविद्यालयको सम्पत्तिको जगेर्ना गर्नुपर्ने तथा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटीको अन्त्य पनि आफूहरूको अभियानको मुख्य एजेन्डा भएको बताउनुभयो ।
विश्वविद्यालयको सम्पत्तिको दुरुपयोग रोक्न स्ववियुको पहलमा केही दिनअघि मात्रै विश्वविद्यालयमातहत रहेका ३६ वटा सवारीसाधनमा विश्वविद्यालयको लागो टाँसिएको पनि ओझाले बताउनुभयो । आन्दोलनलाई विद्यार्थीले ‘विश्वविद्यालय सुधारको महाअभियान’ नाम दिएका छन् । आफूहरूले उठाएका मागमध्ये थुप्रै माग तत्काल पूरा गर्न सकिने प्रकृतिको रहेको बताउँदै उहाँले भन्नुभयो, “केही न केही माग पूरा नगराई अभियान छोड्दैनौँ ।”


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij